नेभिगेशन
समाज

भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको उत्तरी क्षेत्रमा रहेको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक तथा पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीले लाया क्षेत्र जोड्ने सडकको एक खण्ड बगाएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भुटानको गासा जिल्लास्थित लाया गेओगको लुंगो क्षेत्रमा वाकिला पर्वतको फेदीमा रहेको शिंताफू तालमा बिहीबार (अक्टोबर २९) साँझ हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–GLOF) आएको हो।

Extreme Energy

बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो। त्यसपछि लाया जोखाङ जोड्ने सडकको एक खण्डमा क्षति पुगेको र सडक आवागमनका लागि पूर्ण रूपमा बन्द गरिएको भुटानका सञ्चारमाध्यमले जनाएका छन्। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्र (एनसीएचएम) ले मोछु नदीको तासिथाङ क्षेत्रमा पानीको सतह निगरानी गरिरहेको छ। घटनाबारे भारतलाई पनि जानकारी गराइएको भुटानी समाचार पोर्टल 'द भुटानिज'ले जनाएको छ।

बाढीको जोखिम भएका क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई सुरक्षित स्थानमा जान अधिकारीहरूले आग्रह गरेका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनामा हालसम्म मानवीय क्षति भएको खबर सार्वजनिक भएको छैन।

रातिको समयमा घटना भएकाले तालबाट बाहिरिएको पानीको वास्तविक परिमाण र क्षतिको पूर्ण विवरण तत्काल संकलन गर्न कठिन भएको थियो। एनडीटीभी प्रफिटले शुक्रबार बिहान प्रकाशित गरेको समाचारमा तालबाट करिब ७४ लाख घनमिटर पानी बाहिरिएको अनुमान उल्लेख गरेको छ। यद्यपि उक्त परिमाण भुटानका अधिकारीबाट औपचारिक रूपमा पुष्टि भएको छैन।

केही सञ्चारमाध्यमले बाढीका कारण कम्तीमा दुईवटा बेलीब्रिजसमेत भत्किएको उल्लेख गरेका छन्। यसको स्वतन्त्र आधिकारिक पुष्टि भने हुन बाँकी छ।

भुटानका १७ जोखिमयुक्त हिमतालमध्ये एक

शिंताफू भुटानका सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एक हो। यो गासा जिल्लाको लाया क्षेत्रमा मोछु नदीको माथिल्लो जलाधारमा अवस्थित छ।

हिमनदी पग्लिएर बनेका तालमा पानीको मात्रा बढ्दै जाँदा वा ताललाई थामेर राखेको प्राकृतिक बाँध कमजोर भएर फुट्दा एकैपटक ठूलो परिमाणमा पानी बाहिरिन्छ। यसलाई हिमताल विस्फोटजन्य बाढी (GLOF) भनिन्छ।

यस्तो बाढीले तीव्र गतिमा नदीको तल्लो तटीय क्षेत्रमा प्रवेश गर्दा पानीसँगै ढुंगा, माटो र बालुवा पनि बगाएर ल्याउँछ। यसले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याउन सक्छ।

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले हिमतालबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर मोछु र फोछु नदी प्रणालीमा जलस्तर मापन केन्द्र तथा पूर्वसूचना प्रणाली सञ्चालन गर्दै आएको छ।

भुटानको राष्ट्रिय प्रसारण संस्था बीबीएसका अनुसार मोछु नदीमा तीनवटा स्वचालित जलस्तर मापन केन्द्र र पुनात्साङछु नदी क्षेत्रमा १८ वटा साइरन जडान गरिएका छन्।

पश्चिम बंगाल र असममा पनि बाढीको सतर्कता

भुटानमा हिमताल विस्फोट भएपछि भारतको पश्चिम बंगाल र असममा समेत बाढीको जोखिम बढेको छ। भुटानबाट बग्ने मोछु नदी पुनात्साङछु नदी प्रणालीमा मिसिन्छ। भारत प्रवेश गरेपछि पुनात्साङछु नदीलाई संकोश नदीका रूपमा चिनिन्छ।

पानीको बहाव तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतका सम्बन्धित निकायले पश्चिम बंगालको अलिपुरद्वार, जलपाइगुडी, कुचबिहार तथा असमको धुबरी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

पश्चिम बंगालका वनमन्त्री मनोजकुमार ओरांवले संकोश नदी किनारका कुमारग्राम, चाङमारीलगायत क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। उनले जोखिमयुक्त क्षेत्रका बासिन्दासँग तत्काल सम्पर्क गरी आवश्यक परे सुरक्षित स्थानमा सार्न प्रशासनलाई निर्देशन दिएका छन्।

दार्जिलिङका सांसद राजु बिस्टले पनि संकोश नदी र त्यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेका छन्।

भारतको राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का टोलीसमेत कुचबिहारको तुफानगन्ज र बक्सिरहाट क्षेत्रमा परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको प्रारम्भिक चेतावनीअनुसार बाढीको पानी ६ देखि ८ घण्टाभित्र भारत–भुटान सीमासम्म पुग्न सक्ने अनुमान गरिएको थियो। नदीको जलस्तर र बाढीको बहावबारे सम्बन्धित निकायले निगरानी गरिरहेका छन्।

तालबाट बाहिरिएको पानीको वास्तविक परिमाण, भुटानमा भएको भौतिक क्षति र भारतको तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

न्यायाधीशहरु विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ ?

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्यायालयको आचारसंहिता विपरित विचौलिया इनम सापकोटालाई भेटेको खबर बाहिरिएसँगै हिमालय होटलको सिसिटिभी फुटेजको खोजी भएको छ ।
दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

दिग्गज 'स्टार ट्रेक' अभिनेता प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन

चर्चित हलिउड चलचित्र शृङ्खला ‘स्टार ट्रेक’ र ‘एक्स-मेन’का महान् तथा दिग्गज अभिनेता सर प्याट्रिक स्टुअर्टको ८६ वर्षको उमेरमा निधन भएको छ ।
विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

विचौलियासँग उच्च पदस्थको कनेक्सन : संसद अधिवेशन बोलाउन रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको 'फुल कोर्ट' (पूर्ण बैठक) बोलाएका छन् ।