नेभिगेशन
सबै कुरा

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, यस्तो छ तयारी

काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।

Ncell
Extreme Energy

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् । सोहीअनुरुप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ ।

फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

महाप्रबन्धक तिवारिका अनुसार फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ । यसैबीच फलाइ दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरी सेवा सुविधाबारे जानकारी लिएकाले तयारीको कार्य अगाडि बढाउने महाप्रबन्धक तिवारीले बताए ।

यस्तै जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । 

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।

फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ  हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो । अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ ।

त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले केहीदिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । प्राविधिक टोलीलाई विमानस्थलकोतर्फबाट विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरु जस्तै बजार विश्लेषण, अन्य अपरेशनसँग सम्बन्धित अन्य फाइदाहरुको विस्तृत जानकारी गराइएको महाप्रबन्धक तिवारीले जानकारी दिए । यद्यपि, यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन ।

यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ । नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसावले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् ।

थाई एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्याण्डबीच हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । “सरकारको कार्ययोजना अनुरुप आफू विमानस्थलको जिम्मेवारीमा आएपछि विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उनले भने । 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।

अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुङ्गानाले  जजिरा एयरलाइन्स र फ्लाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोही बमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिए। उनले भने, “हामी  तयारी अवस्थामा छौँ, प्राविधिक जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा ताकेता गरिएको छ । एयरलाइन्सको उडान सुरु भएपछि यात्रुलाई सहज ढङ्गले दिनुपर्ने हुन्छ, त्यसका लागि अध्यागमन कार्यालयले सबैखाले तयारी गरेको छ ।”

प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । केही प्राविधिक पक्ष व्यवस्थापन गर्न बाँकी छ । विमानस्थलमा २१ वटा यात्रुसेवा काउन्टर छन् । उपकरण जडान छन् केही अटोमेसनको काम बाँकी छ । 

“काठमाडौँ विमानस्थल मर्मतको क्रममा गौतमबुद्ध विमानस्थलमा भविष्यमा उडान सङ्ख्या बढ्नसक्छन् एयरलाइन्स पनि थपिने सम्भावना रहेकाले सोही अनुरुप व्यवस्थापकीय तयारी त गर्नुपर्छ । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको जनाइएको छ”, उनले भने । 

विमानस्थलमा अध्यागमनको सेवालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले हालै अध्यागमन विभागका महानिर्देशकसहितको टोलीले गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।

गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । 

दुई विमानस्थल प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित विभिन्न चरणमा बैठक भएका छन् । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरुबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ । 

पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विस २०८३ भदौसम्म नलिने जनाइएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा  आएको थियो । सोही विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकहरूले पनि विशेष लाभ पाउन सक्नेछन् । युवा तथा अन्य ग्राहकहरूले स्पा सेवामा एकमुस्ट २०...
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।