नेभिगेशन
सबै कुरा

प्रहरी इन्स्पेक्टर बिनु शाही नै ‘हनी ट्रयाप’ को योजनाकार !

काठमाडौँ । प्रहरी इन्स्पेक्टर बिनुकुमारी शाही, जसले हनी ट्रयापको पासो फालेर एक व्यक्तिसँग ३० लाख असुलेको प्रहरीकै छानबिनले देखाएको छ । भैँसेपाटी प्रहरी प्रभागकी प्रमुख भएकै समयमा शाहीले ‘हनी ट्रयाप’ को गिरोहसँग मिलेर एक व्यवसायीलाई विना कारण पक्राउ गर्दै ३० लाख रुपैयाँ नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिने भन्दै पैसा उठाएकी थिइन् । घटना सार्वजनिक भएपछि डीएसपी नरहरि अधिकारीको नेतृत्वमा गठित छानबिन समितिले इन्स्पेक्टर शाहीलाई कारबाही सिफारिस गरेपछि अब अरुलाई हतकडी लगाएर पैसा बार्गेनिङ गर्ने शाहीको हातमै हतकडी लाग्ने भएको छ । समितिको सिफारिस अनुसार प्रहरीले ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएपछि अहिले शाही फरार छिन् । अझ भनौँ प्रहरीको वान्टेड सुचीमा प्रहरीकै इन्स्पेक्टर शाही छिन् । 


Dish Home
Global Ime Bank

इन्स्पेक्टर शाहीले गरेको ‘हनी ट्रयाप’ घटना के हो ?

करिब ३ साता अघि जिल्ला प्रहरी परिसर ललितपुरमा भैँसेपाटी प्रहरी प्रभागकी इन्सपेक्टरकै सहभागितामा ‘हनी ट्रयाप’ घटनामा मिलापत्र भएको सूचना आयो । तत्कालै परिसरले बुझ्दा प्रहरीकै भूमिका शङ्कास्पद देखियो । त्यसलगत्तै ललितपुर प्रहरीले सुनसरीका ताज इस्लाम, सुष्मा बिक र भिमादेवी थापालाई पक्राउ गरि अनुसन्धान सुरु गर्यो । अनुसन्धानका क्रममा ‘हनी ट्रयाप’ बाट पैसा कमाउने गिरोहसँग प्रहरी इन्स्पेक्टर बिमाकुमारीको सेटिङ खुल्न आयो । 

पक्राउ परेकाहरूले दिएको बयान अनुसार उनीहरूले मोरङका एक व्यवसायीलाई भैँसेपाटीमा भेट्न बोलाएर प्रहरीकै सेटिङमा पैसा असुलेका थिए । ति व्यवसायी केही महिनाअघि पक्राउ परेकी मध्येकी सुष्मा विकसँग भेडेटार घुम्न गएका थिए । भेडेटारको घुमघामका विषयमा सुष्माले दर्शन पोखरेल र ताज इस्लामलाई सुनाएपछि उनीहरूले ‘हनी ट्रयाप’ को योजना बनाउन थाल्छन् ।

उनीहरूले सुरुमा इटहरी प्रहरीलाई नै प्रयोग गरेर पैसा असुल्ने योजना बनाए तर इटहरी प्रहरीले नमानेपछि पक्राउ परेको मध्ये ताज इस्लामले चिनेका प्रहरीका एक जना एसपीको सहयोगमा उनीहरु भैँसेपाटी प्रहरी प्रभावमा इन्स्पेक्टर शाहीलाई भेट्न पुग्छन् । कञ्चनपुरबाट विवादित बनेर पनि भैँसेपाटी जस्तो संवेदनशिल क्षेत्रको जिम्मेवारी पाएकी इन्स्पेक्टर शाहीले पैसाको गन्ध थाहा पाएपछि तुरुन्त इस्लामको कुरामा सहमत भइन् । 

त्यसपछि इस्लामले पीडित भनिएकी सुष्मा विकलाई प्रहरीमा लगेर जान्छन् । त्यसपछि युवतीकै मोवाइलबाट उनलाई भेडेटार घुम्न लैजाने व्यवसायीलाई फोन गर्दै भैसेपाटीमा भेट्न बोलाउँछन् । ती व्यवसायी भैँसेपाटी आउने बेलासम्म प्रहरीमा कुटपिटको जाहेरी दर्ता गरियो । जब ती व्यवसायी सुष्मालाई भेट्न भैँसेपाटी आए, इन्स्पेक्टर शाहीकै योजना अनुसार तमतयर प्रहरीले च्याप्पै समाए । 

त्यसपछि सूरु भयो बार्गेनिङ । पीडित व्यवसायीले दिएको जाहेरीका अनुसार इन्स्पेक्टर शाहीकै अघि सुष्माको समुहले ६० लाख रुपैयाँ मागे । ६० लाख रुपैयाँ नदिए बलात्कारको जाहेरी हाल्ने भन्दै धम्काउन थाले । अन्तिममा कुरा ३० लाखमा मिल्यो । ती व्यवसायीले २० लाख रुपैयाँ ताज इस्लामकी साथी भिमादेवी थापाको खातामा पठाइदिए भने १० लाख रुपैयाँ चेक दिएका थिए । घटना बाहिरिएपछि भने १० लाख रुपैयाँ चेक र पक्राउ परेका ताज इस्लामको मोबाइल भैँसेपाटी प्रहरीबाटै गायब पारिएका स्रोतले जनाएको छ ।

प्रहरी भित्रकै छानबिन समितिकाे निष्कर्ष

भैँसेपाटी प्रहरी प्रभागकी इन्सपेक्टरकै मिलेमतोमा ‘हनी ट्रयाप’ को घटना भएका सार्वजनिक भएपछि ललितपुर प्रहरीले ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा ७ सदस्यीय समिति बनाएर छानबिन गरेको थियो । समितिले ललितपुर प्रहरी तथा उपल्लो निकायमा बुझाएको प्रतिवेदनमा पैसा लेनदेनमा इन्स्पेक्टर बिनु शाहीको संलग्नता पुष्टि गरेको प्रहरी स्रोतले जनाएको छ । 

प्रतिवेदनले उनलाई तत्काल पक्राउ गरि कारबाही अघि बढाउन सुझाव दिएको थियो । साथै समितिले सोधखोजका लागि बोलाउँदा समेत शाही सम्पर्कमा नआएको प्रहरीको दाबी छ । अहिले ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भैसकेकोले शाहीको खोजी सूरु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए ।

उनका सवारी चालक सहायक प्रहरी हवल्दार महेन्द्र हमाल भने पक्राउ परेका छन् । आरोपीत मध्येका इन्स्पेक्टर शाही र दर्शन पोखरेल भने फरार रहेका छन् । फरार इन्स्पेक्टर शाही सहित पक्राउ परेकाहरुलाई आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

ताज इस्लाम ‘हनी ट्रयाप’ का पेशेबर

भैँसेपाटी घटनाका योजनाकार मध्ये एक ताज इस्लाम सहितको समूहले हनी ट्रयापलाई पेशा नै बनाएको पाइएको प्रहरीको दाबी छ । यस अघि यहि समूहले केही महिनाअघि रामेछाप घर भएका ‘क’ वर्गका एक निर्माण व्यवसायीलाई एक युवतीको प्रयोग गरी ‘हनी ट्रयापिङ’ मा पारेर १६ लाख रुपैयाँ असुलेको समेत अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । हाल ललितपुर परिसरमा रहेका ताज इस्लामले नै अर्की एक युवती प्रयोग गरी त्यसरी फसाएका थिए । 

कञ्चनपुरमा पनि विवादमा तानिएकी थिइन् शाही 

इन्स्पेक्टर शाही गत जेठमा मात्रै भैँसेपाटी प्रभागमा आएकी हुन् । पछिल्लो समय आर्थिक लेनदेनमा संलग्न पुष्टि भएकी इन्स्पेक्टर  शाही यसअघि पनि विवादित प्रहरी अधिकृत हुन् । यसअघि उनी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहेको समयमा एक प्रहरी जवानले आफूले इन्स्पेक्टर शाहीको यातना सहन नसकेको भन्दै राजीनामा दिएका थिए ।

सोही कार्यालयमा कार्यरत प्रहरी जवान नरेन्द्र नाथले ईन्सपेक्टर बिनु शाहीले आफुमाथि बर्बर दमन गरेको र सोही यातना सहन नसकेर बाध्य भएर राजनीनामा दिएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । 

उनले २०८० पुष २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा विदा थप्नका लागि गएका बेला ईन्सपेक्टर शाहीले आफूलाई हिरासतमा थुनेको र यातना दिएको आरोप लगाएका थिए । आफू आमा बिरामी भएपछि विदा थपका लागि कार्यालय जाँदा शाहीले हिरासतमा थुनेको उनको आरोप थियो । प्रहरी जवानको सोही आरोप राख्दै फेसबुकमा इन्स्पेक्टर बिनु शाही र एसपी कमल थापालाई प्रश्न गर्ने  कञ्चनपुरका दुई पत्रकारलाई पक्राउ गरिएको थियो । साइबर अपराध मुद्दामा जाहेरी परेको भन्दै प्रहरीले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको थियो । सो घटनाको चौतर्फी आलोचना भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन कसुरमा अनुसन्धान भइरहेको छ, सो कसुर...
काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पास नरोकेको भए महानगरलाई १ अर्ब बढी क्षती हुने दाबी गरेका छन् । 
कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ । 
सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह,...