काठमाडौँ । भोटेकोशी बाढी लगत्तै अर्को प्रक्षेपण आयो– असोज ८ गतेदेखि १२ गतेसम्म देशैभर भारी वर्षा हुन्छ, त्यो वर्षाले बाढी र पहिरोको निकै ठूलो विपत्ति आउनसक्छ ।
मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे । तिनै तहका सरकारले त्यसको पूर्वतयारी पनि गरे ।
नभन्दै बंगालको खाडीमा विकसित भएको पानी पार्ने प्रणालीको असर असोज ८ गतेदेखि देशैभर देखियो । दश गते रातिदेखि भारी वर्षा हुन थाल्यो । ११ गते बिहान हुन पाउँदा नपाउँदै कालीगण्डकी नदी यसरी उर्लियो कि, अहिलेको पुस्ताले कालीगण्डकी त्यति ठूलो भएको देखेकै थिएन ।
कालीगण्डकीको उद्गमस्थल मानिन्छ– मुस्ताङको मुक्तिनाथ क्षेत्र । प्रायः मुस्ताङमा वर्षा कम हुन्छ । तर, मुस्ताङको तल्लो क्षेत्रमै ठूलो वर्षा भयो । त्यो वर्षाले मुस्ताङदेखि नै कालीगण्डकी नदीमा बाढी ल्यायो ।
कालीगण्डकी नदी मुस्ताङबाट म्याग्दी र बागलुङसम्म आइपुग्दा विपत्तिकै रुप लियो । बितेका दुई दिनमा अबिरल वर्षापछि आएको विपदमा परी बागलुङमा मात्रै १० जनाको मृत्यु भयो । एक जना अझै बेपत्ता छन् ।
बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भयो । यही विपदले निसीखोला गाउँपालिकामा पाँच जनाको ज्यान लियो । तमानखोलामा मात्रै पहिरोले आठ घर बगायो । अन्य साना तिना घटना त बागलुङमा कति भए कति ।
यसपालि कालीगण्डकीमा आएको बाढीले बागलुङलाई राष्ट्रिय राजमार्गबाट सम्पर्कविच्छेद गरिदिएको छ । बागलुङ सदरमुकाम प्रवेश गर्ने मालढुंगा पुलमै बाढीले क्षति पुर्याएको छ । बागलुङ र पर्वतका स्थानीयहरुले भनेअनुसार, मालढुंगा पुललाई यसअघिका कुनै पनि बाढीले क्षति पुर्याएको थिएन ।
समग्रमा हेर्दा यसपालिको वर्षाको असर देशैभर पर्यो । पूर्वमा कोशी उर्लियो, पश्चिममा भेरी र महाकाली नदीमा बाढी आयो । सरकारी तथ्यांकअनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लामा गरी २१ नागरिकले ज्यान गुमाए, ५ जना घाइते भए । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको क्षतिको पूर्ण आकलनसमेत हुन नपाउँदै हामीले पुनः अर्को विपद्को सामना गर्नुपर्यो । यहीबीचमा हिम्लुङमा गएको हिमपहिरोले समेत बिपत्ति थपिदियो । जम्मा ४ दिनमा ४३९ वटा मनसुनका घटना भए । कतै डुबान, कतै पहिरो । सडक पुरिए, पुल भत्किए, जलविद्युत् आयोजना बगे । मानवीयसँगै भौतिक पूर्वाधारमा देशले ठूलो क्षति भोग्यो ।
भोटेकोशी बाढीपछि रसुवा नाका बन्द छ । तातोपानीपछि नेपाल–चीन व्यापारको मुख्य हिस्सा बनेको थियो– रसुवाको टिमुरे नाका । टिमुरे नाकापछि मुस्ताङको कोरला नाकामा चाप बढेको थियो । तर, कालीगण्डकीमा आएको बाढीको असर यो नाकामा पनि परेको छ । भन्सार नाकामा त केही भएको छैन । तर, कोरला नाकासम्म पुग्ने कालीगण्डकी करिडोरलाई नदीको बाढीले ठाउँ ठाउँमा क्षतविक्षत बनाइदिएको छ । बाढीले बगाएको र पहिरोले भत्काएको, पुरेको सडक कहिले खुल्छ, यो पनि टुंगो छैन ।
मुस्ताङबाट सुरु हुने कालीगण्डकी नदी तनहुँको देवघाट आइपुगेपछि त्रिशूलीमा मिसिन्छ र नारायणी नदीमा रुपान्तरित हुन्छ । यसपालि कालीमा आएको बाढीको असरले नारायणीमा पानीको बहाव यति बढ्यो कि, चितवन र नवलपरासीका तटीय क्षेत्र समेत डुबानमा पार्यो । सुस्तासम्मै डुबान । चितवनको नारायणगढमा त नारायण्ीको किनारमा राखिएको क्रुजसिपसमेत बाढीले बगायो । बाढीले बगाएको क्रुजसिप जब पूर्वपश्चिम राजमार्गको नारायणीपुलमा गएर अड्कियो, त्यसले अर्को त्रास थप्यो । राजमार्ग नै बन्द गरियो । सोमबार बिहानदेखि कालीगण्डकीमा बाढी घटेपछि बल्ल त्रास कम भयो ।
कालीगण्डकीको बाढीले कति क्षति पुर्यायो ? यसको हिसाब किताब भएको छैन । सरकारले त्यसको आकलन गर्ने नै छ । तर, यसले देशलाई वर्षौंसम्म पीडा दिइरहने छ । अहिले पानी पार्ने प्रणाली कमजोर भएको छ । आइतबारदेखि नै काठमाडौं र पूर्वी नेपालमा घाम लाग्न थाल्यो । सोमबारदेखि पश्चिमी क्षेत्रमा पनि मौसम सफा हुन थालेको छ । तर जोखिम हटिसकेको छैन । लामो झरीले गलेका पहाडमा जुनसुकै बेला पहिरो जानसक्ने र नदी थुनिनसक्ने सम्भावना उत्तिकै छ । मनाङको सदरमुकाम चामेमा गएको पहिरोले मस्र्याङ्दी नदी थुनिनु त्यसैको संकेत हो ।
भदौ १० को भोटेकोशी बाढी होस् वा असोज ११ मा कालीगण्डकीमा आएको बाढी– दुवैले पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याए । सबैभन्दा बढी असर सडक, पुल र जलविद्युतमा पर्यो । एकतिहाइ जलविद्युत उत्पादन बन्द
भदौ १० र असोज ९–११ को बाढीले देशको विद्युत प्रणालीमा ठूलो क्षति पुगेको छ । बाढी पहिरोले १४ सय ३१ मेगावाट विद्युत अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणकाअनुसार भोटेकोशी बाढीबाट १३ जलविद्युत आयोजनामा क्षति पुगेको थियो भने पछिल्लो वर्षा र बाढीबाट २७ उत्पादन केन्द्रबाट विद्युत उत्पादन बन्द भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठकाअनुसार भोटेकोशी बाढीले त्रिशूली र भोटेकोशी करिडोरका सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पु¥यायो । करिब ४३० मेगावाट बराबरको विद्युत् उत्पादन क्षमता राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिन पुगेको छ ।
यसैगरी पछिल्लो वर्षा र बाढीले गण्डकी बेसिनका विभिन्न प्रसारण लाइनमा क्षति पुगेको छ । प्रसारण लाइनमै क्षति पुगेपछि त्यस क्षेत्रका विद्युत उत्पादन केन्द्रमा विद्युत उत्पादन बन्द गरिएको छ ।
बाढीको कारण कालिगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत प्रवाह हुने १३ वटा उत्पादन केन्द्रको करिव ३७० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । सो बाहेक म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लामा रहेका थप १४ वटा उत्पादन केन्द्रको करिव ६३० मेगावाट विद्युत उत्पादन केन्द्र समेत नदीमा अत्यधिक बहावका कारण वन्द अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । पछिल्लो बाढीका कारण विद्युत प्रणालीमा करिव एक हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध हुन गएको छ ।
अब प्रश्न उठ्छ– १४ सय ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध हुँदा पनि कसरी देशभर विद्युत आपूर्ति भएको छ त ? विद्युत प्राधिकरणले विद्युत आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरुमा विद्युत खपत घटाई व्यवस्थापन गरिरहेको छ । वर्षायाम भएकाले अन्य आयोजनाहरू पूर्ण क्षमतामा चलिरहँदा पनि प्राधिकरणलाई राहत मिलेको छ ।
राष्ट्रिय प्रसारण प्रणालीमा कुल जडित क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको छ । जबकि राष्ट्रिय माग २५०० देखि ३ हजार मेगावाटको बिचमा छ । यही बीचबाट प्राधिकरणले व्यवस्थापन गरिरहेको हो ।
आलै छ भोटेकोशीको घाउ
रसुवाको भोटेकोशी नदीमा बाढी आएको एक महिना नाघिसकेको छ । भदौ १० को एकाबिहानै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा जनधनको ठूलो क्षति पुर्यायो । एक महिना बितिसक्दा पनि बाढीग्रसत क्षेत्रमा खोजी, उद्धार र राहतको काम जारी छ । बाढीले पुरेका जलविद्युत आयोजनाका टनेलमा अझै पनि जीवनको खोजी भइरहेको छ । बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ५३ पुग्दा ५ हजार २ सय ८५ जना अझै हराइरहेका छन् ।
यसरी सम्पर्कविहीन मानिसहरु बाढीमा बगेको हुनसक्ने आशंकामा टिमुरेदेखि सुस्तासम्मै खोजी कार्य जारी छ । यसअघि केही शव भारतमा फेला परेकाले त्यता पनि खोजी भइरहेको छ । बेपत्ता व्यक्तिका परिवारजन अझै आफन्तलाई सकुशल भेट्ने आशामा छन् । जीवितै भेट्न नपाए शव भए पनि भेटिने आशा उनीहरुलाई छ ।
एकातिर हराइरहेकाहरुको खोजी भइरहेको छ, अर्कातिर बाढीबाट बाँच्न सफल भएका र उद्धार गरिएकाहरुको पुनस्थापनाको तयारी भइरहेको छ । भोटेकोशी बाढीबाट हजारौं मानिस विस्थापित भएका छन् । उनीहरुका थातथलो नै भोटेकोशी र त्रिशूलीले बगाएको छ । विस्थापितहरुलाई पुनस्थापनाका लागि सरकारले नुवाकोट र रसुवाका केही जग्गा तय गरिरहँदा कालीगण्डकीमा आएको बाढीका कारण सरकार र सम्बन्धित संयन्त्रको ध्यान मोडिएको छ ।
प्रधानमन्त्री बालेन शाहले बाढीबाट प्रभावितलाई राहत, उद्धार र पुनस्थापनामा कुनै कमजोरी हुन नदिने बताइरहेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था र नागरिकस्तरबाट सरकारले सहयोग पाइरहेको छ । अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायले पनि सहयोग गरिरहेका छन् । तर, के यी र यस्ता सहयोगले मात्रै नेपालले यस्ता विपत्तिबाट उन्मुक्ति पाउँछ ? पक्कै पाउँदैन । किनभने पछिल्ला वर्षहरुमा नेपालले भोगिरहनु परेको प्राकृतिक विपत्तिको मुख्य कारण जलवायु परिवर्तनको असर हो । यसबारेमा केही दिनअघि मात्रै प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामार्फत संसारको ध्यानाकर्षण गराइसकेका छन् । जलवायु परिवर्तनको असर अहिले नेपालले भोगिरहेको छ । विकसित देशहरु गम्भीर नहुने हो भने यस्तो असरबाट ती देश पनि बच्ने छैनन् ।