नेभिगेशन
सबै कुरा

दशैँ सकिएसँगै सहर फर्किन्छन् सन्तान, हराउँछ गाउँको रौनक

गलेश्वर । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् । दशैँ मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरुसँगै गाउँको रौनक फेरी हराएको छ । दशैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरु साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ ।

Ncell
Extreme Energy

उमेरले ८६ वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए । पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन् । श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन । एउटै कमी भनेको आफ्ना सन्तानको साथमा नहुनु हो । उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान सक्दैनन् ।

मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि । उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन् ।

अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताए । “केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशका आफन्तहरुसँगको भेटघाटले दिन बितेको पत्तै भएन”, उनले भने, “दसैं सकिएसँगै गाउँ आएकाहरु फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो ।”

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्र्याउने समय भएको छ । गाउँमा मानिसहरु खासै छैनन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, “दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन । दसैं सकिएसँगै गाउँ खाली भयो । अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ । बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन् ।”

गाउँका अधिकांश पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका–७ ताकमका हेम सुवेदीले बताए । गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाईँ जाने क्रम घट्ने मालिका–२ की मीना पुनको अनुमान छ ।

एक दशक अघिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए । अचेल हुने खानेहरु सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताए । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ ।

सदरमुकाम बेनीसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन । यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावना छन् । तर यहाँका अनेकौं सम्भावनाप्रति स्थानीय युवाहरुको रुची छैन । युवाहरु अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुक पुगेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, युएई पुगेका छन् । बचेका युवाहरु सहरतिर छन् । दसैं मनाउन जापानबाट पाँच जना आउँदा गाउँको रौनक बेग्लै भएको स्थानीय सुनिल थापाले बताए ।

नौ वर्ष जापान बसेर गाउँ फर्किनुभएका थापा अहिले गाउँमै व्यवसाय गरेर बस्नुभएको छ । उहाँसहित १२ जना युवाहरु मात्रै हाल गाउँमा छन् । ती मध्ये सात जना वैदेशिक रोजगारीका लागि जाने तयारीमा छन् । गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाहरुको सङ्ख्या दुईसय भन्दा बढी छ । महिला र बालबालिकाहरु छन् ।

“गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु देखिँदैनन् । मर्दापर्दा, दुःख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन्”, ७४ वर्षिय टेकबहादुर कार्कीले भने ।

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार छ सय ४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औसत आकार तीन दशमलव ७१ प्रतिशते छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत छ । जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा ‘माइनस’ शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्यातर्फ कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला १८ सय पाँच रहेका छन् । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...