नेभिगेशन
सबै कुरा

रविबारे माओवादीका नेता कार्यकर्ताको एउटै स्वर, ‘यो राजनीतिक प्रतिशोध नै हो’

काठमाडौँ । शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा विशाल खबरदारी सभा आयोजना गर्यो । 

बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमविरुद्ध गरिएको सो सभामा उपस्थित नेता कार्यकर्ताहरूले सरकारको काम कारबाही जनहितमा नरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको समेत विरोध गरे । 

CG


रवि पक्राउको विरोधमा सरकारविरुद्ध आक्रोश बढिरहेको बेला माओवादीले भृकुटीमण्डपबाट सरकार सञ्चालन गरिरहेका दुई दल कांग्रेस र एमालेलाई भ्रष्ट र बेइमान मात्रै भनेन नसुध्रिए सदनबाट र त्यहाँबाट पनि नसुध्रिए सडकमा घिसार्ने चेतावनी दिए । 

कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेपछि रास्वपा चरणबद्ध आन्दोलनमा छ । उनको पक्राउलाई माओवादी नेता कार्यकर्ताले पनि सरकारको राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिले नामै किटान गरेका आफ्नो दलका सहकारी ठगलाई जोगाएर रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताए । 

संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको प्रचण्डको ठहर थियो । 


‘कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज हो’, नेता कार्यकर्तालाई सम्बोधन गर्दै स्टेजबाटै प्रचण्डले भने । 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले पनि कांग्रेस एमालेको सरकारले भ्रष्टहरूलाई संरक्षण गरेर रवि लामिछानेलाई पक्राउ गरेको बताए । ‘केहि दिन अघि रवि लामिछानेलाई पक्राउ गरेको देख्यौँ तर आफ्ना दलका भ्रष्टाचारीलाई बचाउन उनलाई पक्राउ गरियो, के यस्तो गरेर यो देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ ?’ खबरदारी सभालाई सम्बोधन गर्दै नेता तामाङले भने । 


माओवादीका केन्द्रीय स्तरका नेता मात्रै होइन पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता पनि रविलाई पक्राउ गरेर सरकारले प्रतिसोध साँधेको बताउँछन् । 

कार्यक्रममा भेटिएका धादिङको थाक्रे गाउँपालिका ३ का वडा अध्यक्षसमेत रहेका विजय तामाङ रविलाई हिजो निर्दोष भन्नु आज तिनै पात्रले पक्राउ गर्नु राजनीतिक प्रतिसोध बाहेक केही नभएको बताउँछन् । 


‘रवि लामिछाने दोषी हो भने उनीमाथि छानबिन गरेर कारबाही हुनुपर्छ तर तिनै केपी शर्मा ओलीले हिजो रवि निर्दोष भनेको हैन ? प्रहरी प्रमुखले निर्दोष भनेको हैन  ?’ उनले प्रश्न गरे, ‘आज तिनै व्यक्तिले तिनै निर्दोष भनिएका रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध नभएर अरु हुन सक्दैन । सरकारको यो कदमको विरोध गछौँ ।’

त्यस्तै ओखलढुंगा काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष विष्णु गिरी माओवादी पार्टी रवि दोषी छैन भन्नेमा क्लियर भएको बताउँछन् । रवि दोषी भए कारबाहीको भागेदार हुनुपर्ने तर प्रतिशोध साँधेर रविलाई फसाइनु नहुने उनी तर्क गर्छन् । 


‘माओवादी नेतृत्वको सरकार रहँदा पनि माओवादी केन्द्र रवि लामिछानेलाई सबुत र प्रमाणका आधारमा पक्राउ गर्न सकिँदैन र समाउनुपर्ने अवस्था छैन भन्नेमा क्लियर थियो । त्यतिबेला नै सरकार एउटा निर्क्यौलमा पुगिसकेको अवस्थामा अहिले आएर सरकारले राजनीतिक प्रतिसोध साँधेर रविलाई फसाउने कार्य भइरहेको छ,’ गिरी भन्छन्, ‘यो अनुसन्धानको विषय भएकाले धेरै कुरा नबोलौँ, दोषी भए जेल जान रवि तयार हुनुपर्छ । अत्यथा एउटा राजनीतिक प्रतिशोध साँध्ने हिसाबले रवि लामिछानेलाई फसाइनु हुँदैन भन्ने हाम्रो माग हो ।’ 

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता सन्दीप लुइँटेल पनि प्रधानमन्त्री ओलीले शुसासनका नारा लगाउने तर त्यो कहिल्यै पूरा नगर्ने गरेको आरोप लगाए । 

उनले आफूनिकट नेतालाई प्रधानमन्त्रीले जोगाउनका लागि निर्दोष भनिएका रविलाई थुन्ने काम गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओलीले जे बोल्छन्, त्यो गरेको देखिँदैन । उनले शुसासनको कुरा पनि गरिरहेका छन्, हामीले भाटभटेनीका साहु र केपी ओलीको उठबस हेरौँ त । आज रवि लामिछानेलाई पनि जेलभित्र कोचिरहेका छन् । तर, त्यहीँ नजिक  रहेका  धनबहादुरलाई खोई ?  त्यहिँनेर ऋषिकेशलाई किन काखि च्यापेको ? शुसासनको नाराको रटान लगाउनेले उनीहरूलाई पनि त कानुनको कठघरामा ल्याउनुपर्यो नि । रविलाई मात्रै डाम्न खोजेर हुन्छ ?’

सिन्धुपाल्चोकबाट सरकारको कदमको विरोध गर्दै काठमाडौँ आएका भोटे बहादुर कामी पनि रवि पक्राउलाई गलत भन्छन् । रवि लामिछानले राजनीतिक प्रतिशोधको शिकार भएको भन्दै उनले यो राजनीतिक संस्कार गलत भएको टिप्पणी गरे । 

‘जुन पार्टीको सत्ता आयो, त्यस्ले विपक्षीलाई  खेद्ने संस्कार राजनीतिमा मौलाएको छ । यसैको सिकार रवि लामिछाने भएका छन् । यो गलत गरेको छ सरकारले  । गल्ती नभए पनि गल्ती देखाउँदै समाउँदै गर्छन् तर रविलाई समाएर आफ्नालाई जोगाउने सरकारले प्रपञ्च अपनाएको छ,’ उनले भने । 


गोरखाबाट खबरदारी सभाका लागि काठमाडौँ आएका भोज सुनार पनि ओलीका पछिल्ला कदमको विरोध गर्छन् । रविमाथि राजनीतिक प्रतिशोध साँध्नु गतल भएको उनको भनाई छ । ‘सहकारी ठग्नेलाई कारबाही गर्नु सही हो । तर, पटक पटक निर्दोष भनेको मान्छेलाई समाएर राजनीतिक प्रतिशोध साँध्नु सरकारको गल्ती हो,’ उनले थपे, ‘अध्यादेश ल्याएर साना पार्टी टुक्राउन खोज्नु, साना पार्टीलाई कमजोर बनाउन सरकारले अनेक तिक्डम अपनाउनु कानुनविपरित कार्य हो । सरकारको प्राथमिकता यसमा भन्दा पनि भ्रष्टाचार नियन्त्रणमा रहनुपर्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...