नेभिगेशन
सबै कुरा

‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जन्थ्यो । अहिले युवाशक्तिको अभावमा करिब चार सय ५० परिवारका अधिकांश जग्गा बाँझो रहेका स्थानीय बुद्धिजीवी हरिबहादुर बुढामगरले बताए । खदी गाउँको कालजुरा, लहाँ, चिन्चौर, बाँस्तला बजिनीलगायत गाउँका अधिकांशले आजभोलिल खेती गर्न छोडेका छन् । 

Ncell
Extreme Energy

बुढामगरले भने, “जनशक्ति अभावकले खदीका स्थानीय खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य छन् । अध्ययन र रोजगारीका सिलसिलामा युवा पलायन हुँदा खुदी गाउँको रौनक हराएको छ ।”

तलि, सल्लेरी र पाटा गाउँ मिलेर खदी गाउँ बनेको छ । कुनै बेला युवा बाहुल्य रहेको खदी गाउँमा आजभोलि विस्तारै बस्ती पातलिँदै गएको छ । युवा जनशक्ति शिक्षा र रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिँदा कालजुरा, लहाँ, बाँस्तला, चिन्चौरलगायतको बस्ती खाली हुने अवस्थामा पुगेका बुढामगरले बताए ।

गाउँघरमा चल्ने अर्मपर्ममा युवा भेट्नै मुस्किल हुन थालेको छ । टोल छिमेकमा मर्दापर्दा तथा सामुदायिक कार्यक्रममा युवाको सहभागिता कमै देखिन्छ । सरसफाइ, खानेपानी र बाटोघाटो निर्माणलगायत का वृद्धवृद्धाको भरमा सञ्चालन हुने गरेको उनले बताए ।

कालजुरा, लहाँ, चिन्चौरलगायत स्थानमा पहिले बाक्लो बस्ती थियो । यहाँका किसान खेतीपाती र पशुपालनबाट आत्मानिर्भर थिए । कुनै समय गुल्जार भएका ती गाउँ आजभोलि सुनसान छन् । मकै र गहुँ उत्पादन हुने यी गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । खेतीयोग्य जमिन बाँझो रहनुको कारण युवा पलयन हुनु र बाँदरबाट उत्पादित खेती बचाउन नसक्नु रहेको बुढामगरको भनाइ हो ।

परम्परागत कृषिबाट गुजारा नचलेपछि खदीका केही घरधुरी आठबिसकोट नगरपालिकाको राडी बजार, सदरमुकाम मुसिकोट, दाङ, सुर्खेतलगायत सहरमा बसाइँ सरेका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय युवाले पनि सहरबजारतिर जमिन जोडेका छन् । 

बाध्यताले गाउँ छाडेर सहर पुगेका युवा त्यहीँ रमाएर गाउँ नर्फकिँदा गाउँ रित्तिँदै गएको स्थानीय शिक्षक कमल रोकाको अनुमान छ । उच्च शिक्षाका लागि केही समय काठमाडौँमा रहेका उनले भने, “स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत आवश्यकताको उचित प्रबन्ध हुन नसक्दा अवसरको खाजीमा गाउँ छाडेका युवा पुनः गाउँ फर्कदैनन् ।” 

आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विकले युवा पुस्ताले धमाधम गाउँ छाड्दा जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझिदै गएकामा चिन्ता व्यक्त गरे । नगरपालिकाले आधुनिक कृषि प्रणाली अपनाएर उत्पादन वृद्धि गरी स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको भन्दै उनले युवाको अभावमा नगरको आत्मनिर्भर अभियान कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे । 

अहिले खदी गाउँमा खसी, राँगा तथा स्थानीय प्रजातिका कुखुरापालन हुन छोडेको स्थानीय नरबहादुर बुढाले बताए । “गाउँमा बाटो पुगेसँगै पहिलेको भन्दा सेवासुविधा पनि बढेको छ । यसवा अवसरको खोजीमा गाउँ बाहिर जाँदा खेती गर्ने, पशुचौपालन गर्नेको कमी हुँदै गएको छ”, उनले भने । उनका अनुसार कुनै समय झारमारे, जलजला, बसेरा चरनक्षेत्र र बुकीपाटन पशुचौपायाले भरिनेमा अहिले पशुपालन नभएपछि बुकीपाटन रित्ता देखिन्छन् ।

“बर्खायाममा गोठाला र पशुचौपायाले रमझम हुने खर्कहरु अहिले सुनसान छन् । कतिपय घरपरिवारले भने भेँडापालनलाई निरन्तरता दिँदै आएका छन्”, स्थानीय सुरेश विकले भने ।  

जनशक्ति अभाव हुँदा जीर्ण बनेका घर पुनःनिर्माण भएका छैनन्, भत्केका घर झाँडीमा परिणत भएका छन् भने जमिन बाँझा छन् । कतिपय बस्तीसम्म सडक सञ्जाल विस्ता नहुँदा किसान काम गर्न घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ । 

अत्यावश्यक पूर्वाधारको कमी, आधारभूत सेवाको पहुँच नहुुनु तथा युवा जनशक्तिको अभावलगायत कारणले खदी गाउँका स्थानीय कृषि पेसाबाट पलायन हुन थालेका स्थानीय बुद्धिजीवी रणबहादुर परियारले बताए । “पहिले गाउँलेहरु वर्षभरि खाना पुग्ने अन्न उत्पादन गर्न गाउँगाउँ गएर परम्परागत कृषिमा आबद्ध हुन्थे । अहिले पारिवारिक सदस्य कम हुँदा विस्तारै परम्परागत कृषि पेसा छोड्दै गएका छन् ।”

रणबहादुरले घरमा काम गर्ने सक्ने सदस्यको कमी रहेको बताउँदै भएको बारी बेच्ने योजना बनाएको बताए । “छोराछोरी साना छन् । घरबारी बिक्री गर्न चाहे पनि खरिद गर्ने कोही छैनन् । सबैले गाउँ छाडेपछि किन्ने मान्छे पनि पाइँदैन”, उनले भने ।

खदी गाउँका अधिकांश परिवारमा रणबहादुरको कथा छ । वडा नं ३ का करविर परियारले काल्जुराको घर छाडेको आठ वर्ष भएको बताए । “बसोबास नभएपछि पुर्खाको घर भत्केको छ”, उनले भने, “काम गर्ने जनशक्ति नभएपछि अहिले थोरै क्षेत्रफलमा खेतीपातीसँगै बाख्रापालन गरेको छु ।”

सबैले घर छाडेपछि भत्किएका घरमा बाँदरको रजाइँ छ । बाबु, बाजेले रगतपसिना बगाएर जोहो गरेको पुख्र्यौली ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अवसर सृजना गरी युवा पलायनदर रोक्नुपर्ने स्थानीय बताउँछन् । खदी गाउँ पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यहाँबाट झारमारे लेक, जलजला, सिस्ने हिमाल र चित्रिपाटनको दृश्यावलोकन गर्न सकिन्छ । गाउँलाई व्यवस्थित गरी अवसर सृजना गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रयाएर आर्थिकस्तर सुधार गर्न सकिने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...