नेभिगेशन
सबै कुरा

साझा पेट्रोल पम्पले बिक्री गर्यो पानी मिसाएको डिजेल, ५० लिटर डिजेल भरेको गाडीमा ३२ लिटर पानी !

काठमाडौँ । काठमाडौँको बाफलमा रहेको साझा आयल स्टोर अर्थात साझा पेट्रोल पम्पले पानी मिसाएर डिजेल बिक्री गरेको फेला परेको छ । त्यो पनि अलिकति होइन ५० लिटर डिजेल गाडीमा भर्दा ३२ लिटर पानी । अर्थात उपभोक्ताले भरेको कुल डिजेलको एक भाग डिजेल, तीन भाग पानी र लेदो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार साँझ उक्त पम्पमा तेल भरेका चारवटा गाडी बिग्रिएपछि साझाको बदमासी उजागर भएको हो । 

Ncell
Extreme Energy


०००

बुधबार साँझ ५ बजे, धादिङ निलकण्ठ ५ खाल्टेका रेशम बहादुर मगर आफ्नो बोलेरो पिकअप गाडी लिएर पेट्रोल भर्न बाफलको साझा आयल स्टोर पुगे । सामान ढुवानीका क्रममा रहेका मगरले साझा पेट्रोल पम्पमा शुद्ध तेल पाइने विश्वासमा गाडी रोके र सो पेट्रोल पम्पबाट तेल भरे । 

बाटो परेको समयमा राम्रो तेल पाइने ठाउँ भनेर रेशमले गाडीमा ५० लिटर तेल हालेर आफ्नो गन्तव्यतर्फ अघि बढे । करिब २ सय मिटर अघि पुग्नासाथ उनको गाडीको स्टार्ट बन्द भयो । 

उनले नजिकैको वर्कसपबाट मेकानिक्स बोलाएर गाडीको चेकजाँच गराए तर पनि गाडी स्टार्ट भएन । भर्खरै भरेको तेलमा शङ्का नै नगरेका रेशमलाई मेकानिक्सले डिजेलको खराबीका कारण गाडी बिग्रिएको बताएपछि उनी गाडी त्यहीँ छोडेर पेट्रोल पम्प पुगे । 

पेट्रोल पम्पमा पुग्दा त्यहाँ भेटिएका कर्मचारीले हाकिम घर गइसकेको र अर्को दिन आउन बताए । रेशमले आफ्नो गाडीमा भएको सामान अर्को गाडीमा पठाएर आफू कलङ्कीमै बसे । ‘तेलमा खराबी आएपछि पेट्रोल पम्पमा आएर तपाईँहरुकोबाट तेल हालेपछि यस्तो भयो भनेर भनेँ । उहाँहरूले हाकिम गइसक्नुभयो, गाडी छोडेर जानु, भोलि आउनु भन्नुभयो । मैले त्यहीँ गाडी छोडेँ ।’, रेशमले सिधाकुरासँग भने ।


बिहीबार बिहानै पम्पमा पुगेर हाकिमलाई समस्या बताएपछि रेशमको गाडीको तेल खन्याएर हेरियो । जब मेकानिक्सले इन्धन ट्याङ्कीबाट तेल बाल्टीमा खन्याए, त्यसमा ३२ लिटर पानी र १८ लिटर डिजेल निस्कियो । 

रेशमसामु हाकिमले पनि गल्ती स्वीकार गरे । त्यस्तै पेट्रोल पम्पका हाकिमले उनलाई गाडी बनाउनु, आफूहरूले क्षतिपूर्ति व्योहोर्ने बताए । सोहीअनुरूप रेशमले पम्पमै गाडी र मेकानिक्स बोलाएर गाडी बनाए ।

‘मैले समस्या बताएपछि उहाँले गाडी बनाउनुस्, म क्षतिपूर्ति व्योर्होछु, तेल पनि अर्को हालिदिन्छु भन्नुभयो । त्यही शर्त भएपछि मैले अहिले गाडी बनाएँ । बनाउने क्रममा मेरो गाडीमा हालेको ५० लिटर तेलबाट ३२ लिटर पानी, १८ लिटर मात्रै तेल पाइयो ।’, रेशमले भने । 

साझाले राम्रो तेल बेच्छ भनेर हालेको तर आफू फसेको उनी बताउँछन् । साझाले गर्दा आफ्नो काम त बिग्रिएको कालान्तरमा गाडीमा समस्या आउँछ कि भन्ने चिन्ता रहेको रेशम बताउँछन् । 

०००

बिहीबार बिहान सिधाकुरा टिम साझा पेट्रोल पम्प पुग्दा, पम्पको नजिकै बा ५ ख ४१३४ नम्बरप्लेट भएको अन्नपूर्ण सार्वजनिक यातायातको बसका सञ्चालक मेकानिक्स बोलाएर बसको पम्प खोल्दै थिए । मेकानिक्सकाअनुसार गाडीमा पानी छिरेर पम्प बिग्रिएका कारण  खोल्न परेको बताए । 

सो गाडीका चालक एवम् मालिक नारायण श्रेष्ठकाअनुसार बुधबार बेलुका हालेको तेलमा पानी मिसिएका कारण गाडी बिग्रिएको बताए ।

‘हिलो बेलुका साझामा आएर तेल हालेको थिएँ । तेल हालेर हिँडेको १० मिटर पनि नकाटि गाडी बन्द भयो ।’, नारायणले भने, ‘गाडी बिग्रिएपछि मिस्त्रि ल्याएर चेक गराउँदा डिजेलमा पानी मिसिएको रहेछ ।’

तस्विर : नारायण श्रेष्ठ, उनकाे बिग्रिएकाे गाडी र बिग्रिएकाे  गाडि बनाउँदे 'मेकानिक्स'

१ सय ६० लिटर तेल क्षमता भएको श्रेष्ठको गाडीमा पहिले नै १ सय ३० लिटर जति तेल भएको र ३० लिटर थपेर फूल ट्यांकी बनाएर घर जान तेल भर्दा पानी परेको उनी बताउँछन् । त्यहि ३० लिटर तेलका कारण पूरै १६० लिटर तेल फाल्नुपर्ने अवस्था आएको उनको दुखेसो छ । 

‘मिस्त्री ल्याएर जाँच गराउँदा पूरै गाडीको पम्पभरि पानी नै पानी भएको पाइयो । फुल गराउने हुँदा गाडी नि गयो तेल पनि गयो ।’ श्रेष्ठले भने । आफ्नो गाडीमा समस्या आएपछि आफू पेट्रोल पम्पमा पुग्दा आफूलाई त्यहाँका सञ्चालकले आफ्नो गल्ती भएको स्विकार्दै कतै हल्ला नगर्न भनेको र गाडीको क्षतिपूर्ति व्योहोर्ने बताएको श्रेष्ठले बताए । 

०००

मगर र श्रेष्ठले जस्तै समस्या अर्का एक स्कार्पियो चालकले पनि भोगेका छन् । बुधबार साँझ नै सोही पम्पमा डिजेल हाल्न पुगेका कावासोतीका होम गुरुङको पनि स्कार्पियो केही परको दुरीमा बाटोमै बिग्रिएको छ । 

ना १६ च ८७७८ नम्बरको निलो रङ्को उनको स्कारपियो बाटोमै बन्द भएपछि उनी पनि अरु पिडित झै पम्पमा पुगेका थिए । उनलाई भने पम्पका सञ्चालकले आफूहरूले गल्ती नगरेको बताउँदै जिम्मेवार नहुने जवाफ दिएको बताए ।

‘भरि तेल हालेर हिँडेको केही दुरीमै गाडी बिग्रियो । बनाउने क्रममा तेलको खराबी आएपछि पम्प पुग्दा आफूहरु जिम्मेवार नहुने भन्दै फर्काए ।’, गुरुङले भने । आफूमाथि पम्पले लापरवाही गरेपछि गुरुङले काठमाडौँ महानगरपालिकामा उजुरी गराए । 

पेट्रोल पम्पको यो हदको लापरवाही भएपछि हामीले पम्पका सञ्चालकलाई सम्पर्क गर्ने कोशिस गर्यौँ । तर,पम्पका कर्मचारीले फोन उठाएर 'आफूलाई केही थाहा नभएको' गैरजिम्मेवार जवाफ दिए । 

तस्विर : साझा आयल स्टाेरले गाडिमा भरेकाे पानी र लेदाे मिसिएकाे डिजेल

पम्पले जवाफ दिन नखोजेपछि हामीले साझा सेवाको कार्यालयमा सम्पर्क गर्यौँ । त्यहाँका कर्मचारीले पनि आफूहरुलाई यस विषयमा कुनै जानकारी नभएको भन्दै पन्छिए । 

तर उता नेपाल आयल नियममा भने यो विषय पुगिसकेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगममा सो उजुरी आएको र आफूहरूले उक्त पम्पका सञ्चालकलाई सम्पर्क गर्दा उनीहरुले सो गल्ती स्वीकार गरेको बताए । 

‘हामीलाई उजुरी प्राप्त भएको छ । उहाँहरूले आफ्नो गल्ती स्वीकार पनि गर्नुभएको छ, पीडितलाई क्षतिपूर्ति दिने बताउनुभएको छ ।’, प्रवक्ता ठाकुरले भने । 

गल्ती स्विकारले मात्रै हुने हो कि लापरवाही गरेका कारण कारबाही गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले आफूहरु अनुगमन गरेर कारबाही गर्ने बताए । ‘उहाँहरुले आफूहरूले नियमित प्रयोग गरेको नभएर छुट्टै अन्डरग्राउन्ड ट्याङ्की प्रयोग गर्नुभएको रहेछ । अन्डरग्राउन्ड ट्याङ्कीमा पानी जम्ने भइरहन्छ, सफा नियमित गर्नुपर्छ । त्यो भएको देखिएन । हामी अनुगमन गरेर कारबाही गर्छौँ ।’, ठाकुरले भने, ‘घटनाको प्रकृति हेरेर ढुवानी रोक्नेसम्म कारबाही गर्न सक्छौँ ।’ 

पानी मिसिएको पेट्रोल पम्पका कर्मचारीले भने तेलको मिसावट साझाले नभई निगमले गरेको आरोप लगाएका छन् । परिचय नखुलाउने सर्तमा एक कर्मचारीले भने, ‘हामीले आएको तेल वितरण गरेका हौँ । उतैबाट तेल पानी मिसिएको आएको थियो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कैदी 'सपना'को प्रेम: जसले 'जेल ब्रेक' गर्‍यो

कैदी 'सपना'को प्रेम: जसले 'जेल ब्रेक' गर्‍यो

सपना भागेको सूचना पाए लगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको थियो । प्रहरीले सिसिटिभीमा उनी भागेको यकिन गरेपछि उनी जान सक्ने सम्भावित ठाउँको सूची बनाएर खोजी गर्न थाल्यो...
वीरगन्जका मेयर राजेशमानको फण्डा !

वीरगन्जका मेयर राजेशमानको फण्डा !

जब २०८२ फागुन १२ गते तत्कालीन सुशीला कार्की सरकारले सहसचिव रेशमलाल कँडेललाई वीरगन्जको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिदियो, राजेशमानले नयाँ लफडा सुरु गरे ।
सर्वोच्चमा शर्माः बदलिएको जनादेशले बदल्यो अदालतको रोलक्रम

सर्वोच्चमा शर्माः बदलिएको जनादेशले बदल्यो अदालतको रोलक्रम

३३औं प्रधानन्यायाधीशका लागि परिषदले सिफारिस गर्दै गर्दा मुख्य आधार बनाएको थियो– उनको कार्य क्षमता । सर्वोच्चको न्यायाधीश बनेको पाँच वर्षमा ७ हजारभन्दा बढी मुद्दा फैसला गरेका शर्माको काँधमा...