नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँको ८ करोडको जग्गालाई २ अर्ब ऋण दिने बैंकहरु, जसले जनताको ६ अर्ब निक्षेप जोखिममा पारे

काठमाडौँ । २० लाख भन्दा कम ऋण मिनाह गराउने, बैंक तथा वित्तिय संस्थाले लिलाम गरेका सम्पत्ति फिर्ता गराउने तथा गणतन्त्र फाल्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते काठमाडौँमा आन्दोलन गर्दै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाहरुबाट समेत ठुलो संख्यामा सर्वसाधारण काठमाडौँमा भेला हुने भन्दै प्रसाईँले चर्को प्रचार गरिरहेका छन् । गरिब, किसानको ऋण मिनाहाको आश्वासन फ्याँकेका प्रसाईँ आफू भने ६ सय करोड भन्दा धेरै ऋण बोकेका ऋणी हुन् । 

Ncell
Extreme Energy

दुर्गा प्रसाईँको अभिव्यक्ति र राष्ट्र बैंक स्रोतबाट प्राप्त विवरण अनुसार उनले नेपालका ‘क’ वर्गका ठुला वाणिज्य बैंकदेखि ‘ख’ वर्गका विकास बैंक तथा ‘ग’ वर्गका फाइनान्सबाट समेत करोडौँ ऋण लिएका छन् । 

दुर्गा प्रसाईँको कुन बैंकमा कति ऋण ? 

दुर्गा प्रसाईँलाई प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नविल बंैक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले ऋण खन्याएका छन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बि एन्ड सी अस्पताल, होटल एट्रियम, शुभम् हाउजिङका नाममा ऋण लिएका छन् ।


प्रभु बैंकले प्रसाईँको होटल एट्रियम, पूर्वाञ्चल क्यान्सर अस्पताल, र बि एण्ड सी अस्पतालमा १ अर्ब २० करोड लगानी गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

यस्तै ग्लोबल आइएमई बैंकसँग मर्ज भएको जनता बैंकबाट १ अर्ब बढी ऋण लिएका छन् भने हाल कुमारी बैंकमा मर्ज भएको तत्कालीन एनसीसी बैंकबाट १ अर्ब ऋण लिएका छन् । 

कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण दिएको छ ।

त्यस्तै, हाल नबिल बैंकमा गाभिएको तत्कालिन नेपाल बंगलादेश बैंकबाट  ७६ करोड, राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड र हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा गाभिएको तत्कालीन मेगा बैंकबाट ६५ करोड ऋण लिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

प्रसाईँले लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख र गुडविल फाइनान्सबाट ११ करोड रुपैयाँ लिएको पाइएको छ ।


बैंकहरुका अनुसार उनले गत पुषदेखि ऋणको सावाँ ब्याज तिरेका छैनन् । स्रोतका अनुसार उनले ‘रिसेड्युल’ गरेका छन् । ‘रिसेड्युल’ भन्नाले कर्जाका शर्तहरुलाई पुनयोजना गर्ने, कर्जा चुक्ता गर्ने समयावधी बढाउने, ब्याजदर समिक्षा गर्ने बुझिन्छ । ऋणी र बैंकको अवस्था बाहिर राम्रो देखाउनका लागि गरिने ‘रिसेड्युल’ राम्रो अभ्यास नभएको बैंकरहरु बताउँछन् ।

कर्जा सूचना केन्द्रका अनुसार उनलाई कुनै पनि बैंकले कालोसूचिमा राख्नका लागि सिफारिस गरेका छैनन् । 

दुर्गा प्रसाईँसँग बैंकहरु किन डराइरहेका छन् ?

गत पुषदेखि दुर्गा प्रसार्इँले बैंक तथा वित्तिय संस्थाविरुद्ध निरन्तर ‘विष वमन’ गर्दै आएका छन् । बैंकहरुले मनपरी ब्याज लिएको, समयनै नदिई धितो लिलाम गरेर उठिबास लगाएको, जनताको पैसा बैंक सञ्चालकहरुले विदेश पुर्याएको भन्दै वित्तिय संस्थाको किस्ता नतिर्न ऋणहरुलाई निर्देशन नै गर्दै आएका छन् । 

साथै उनले किस्ता माग्न आउने बित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दल्न ‘कालोमोसो जत्था’ नै बनाएका थिए । 

उनका कारण ‘बैंकिङ साइकल’मै समस्या सिर्जना भएपछि राष्ट्र बैंकले उनलाई बोलाएर सम्झाईबुझाई नै गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

तर उनीमाथि कुनै पनि बैंकले एक्सन लिन भने सकेको छैन । जसकोे एउटा कारण महालेखा परिक्षकको ५९ ‌आैँ प्रतिवेदनमा भेटिन्छ । महालेखाका अनुसार उनले मालपोत कार्यालयमा ८ करोडको थैली राखेर किनबेच गरेका ६ विघा जमिनलाई बैंकहरुले २२ गुणासम्म बढी धितो मूल्याङ्कन गरेर ऋण दिएका छन् । आफ्नै झापा अनारमनीको १८ बिघा जग्गा ८ करोडमा आफ्नै अस्पताललाई बेचेको दोस्रो दिन नै ४ वटा वित्तिय संस्थाबाट उच्च धितो मूल्याङ्कन गराई १ अर्ब ७४ करोड रुपैयाँ ऋण लिएका छन् । 


महालेखाको प्रतिवदेन अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते प्रसाईँले तत्कालिन बिर्तामोड–३ (हालको बिर्तामोड–६) को ६ विघा ७ कठ्ठा जग्गा आठ करोड रुपैयाँ थैली रकम कायम गरेर आफ्नै स्वामित्वमा रहेको बीएन्डसी अस्पताललाई बिक्री गरे ।

‘बी एन्ड सी’ले ८ करोडमा किनेको जग्गा २ दिनपछि चार वटा बैंक तथा वित्तिय संस्थाले धितो राखि अस्पतालका नाममा १ अर्ब ७४ करोड ऋण दिए । बैंकले १ अर्ब ७४ करोड ऋण दिएको जग्गाको मुल्य मालपोतको हिसाबमा जम्मा ८ करोडको थियो । कुनै पनि बैंकले ठाउँ हेरेर धितो राखिएको जग्गाको कुल मूल्यको कति प्रतिशत ऋण लगानी गर्ने भन्ने मुल्याङ्न गर्न सक्छन् ।

ब्यांकरहरुका अनुसार अहिले बढीमा धितोको ७० प्रतिशत मात्र कर्जा प्रवाह गर्न मिल्छ । तर दुर्गा प्रसाईँको ८ करोडको जग्गा धितो राखेर ४ वटा बैंक तथा वित्तिय संस्थाले २२ गुणा बढी अर्थात १ अर्ब ७४ करोड ऋण दिए । 

अब अहिले बैंकहरुले धितो लिलामी नै गरेभने पनि उनीहरुको रकम उठ्नेवाला छैन । किनकी महालेखाको प्रतिवेदन अनुसार जग्गा जम्मा ८ करोड रुपैयाँ बराबरको मात्रै छ । समयानुकुल जग्गाको मूल्याङ्कन बढेर दोब्बर भएपनि १६ करोड मात्रै हुन्छ । 

त्यस्तै बैंकहरुले धितो लिलामी गर्दा प्रसाईँ अदालत पुगे भने मालपोतमा कायम भएको थैलीलाई आधार मानेर कानुनी प्रक्रिया अघि बढ्न सक्छ । यो अवस्थामा बैंकहरुको लगानी सिधै डुब्छ । त्यसैले बैंकहरु अहिले उनलाई चिढ्याउनु भन्दा फकाएर साँवा मात्रै भएपनि असुल्ने अवस्थामा पुगेका छन् । यो काम प्रसाईँ एक्लैको हात थिएन । यसका लागि उनले बैंकका धितो मूल्याङनकर्ता, सिइओदेखि सञ्चालकहरुसम्म सेटिङ मिलाउनु पर्थ्याे ।

महालेखा परिक्षकको कार्यालयका अधिकारी नेत्र पौडेलले प्रतिवेदनमा प्रसाईँको नाममा किटान नभएपनि यो प्रकरण दुर्गा प्रसाईँको बी एण्ड सी मेडिकल कलेजको भएको अभिव्यक्ति सार्वजनिक गरेका थिए । 

महालेखाले यस्तो ऋण प्रवाहले सर्वसाधारण निक्षेपकर्ताको निक्षेप जोखिममा पर्ने जनाउँदै प्रतिवेदनमा भनेको छ, “वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको विश्वसनीयताका सम्बन्धमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्न निर्देशन दिएको थियो  । तर अहिलेसम्म ८ करोडको जग्गालाई करिब २ अर्ब ऋण दिने ४ वटा बंैक तथा वित्तिय संस्थामाथि छानबिन भएको छैन भने दुर्गा प्रसाईँमाथि छानबिन गर्ने आँट कसले गर्ने ?

प्रसाईँको स्वामित्वको अस्पतालले धितो राखेर बैंकहरुबाट लिएको ऋण बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ७ (ख)  अन्तर्गत छानबिन गर्नुपर्ने विषय हो । यो दफामा धितोको अस्वाभाविक रुपमा बढी मूल्याङ्कन गरी कर्जा लिनु वा दिनुलाई बैंकिक कसुर मानि कसुर गर्नेबाट बिगो भराई चार बर्षसम्म कैद सजाय सम्म हुने व्यवस्था गरेको छ । 

यो विषयमा छानबिने हुने हो भने दुर्गा प्रसाईँ मात्रै होइन उनलाई धितो भन्दा अधिकतम ऋण दिने ४ ओटै बैंक तथा वित्तिय संस्थाका उच्च अधिकारीहरु देखि सञ्चालक समितिसम्म कारवाहीमा पर्न सक्छन् । यही डरले बैंक तथा वित्तिय संस्था उनीमाथि कानुनी प्रीक्रयामा जान डराइरहेका छन् । 

ऋण उठाउन खोजेको कुमारी बैंकलाई अदालतको रोक

कुमारी बैंकको नेतृत्वमा प्रभु बैंक, ग्लोबल बैंक र गुडविल फाइनान्सले प्रसाईँलाई पूर्वाञ्चल क्यान्सर अस्पताल निमार्ण तथा सञ्चालनका लागि २ अर्ब ४८ करोड कर्जा दिने सम्झौता गरेका थिए । 

सम्झौता भएको भोलिपल्टै बैंकहरुले १ अर्ब ७४ करोड ९० लाख ३९ हजार ५० रुपैयाँ अस्पताललाई प्रदान गरे । सम्झौता अनुसार प्रसार्इँले २०७९ चैतबाट किस्ता तिर्न थाल्नुपर्ने थियो तर त्यसपछिको दुई वर्षसम्म बैंकहरुले बाँकी ७४ करोड ऋण पनि दिएनन भने लिएको ऋणको पहिलो किस्ता तिर्नु पर्ने बेलासम्म प्रसाईँले जम्मा ९ करोड ३६ लाख तिरे ।

बैंकहरुले उनलाई ऋण थप्नु भन्दा दिएको ऋण असुल गर्न तर्फ लागे । त्यसपछि प्रसाईँले आफूविरुद्ध बैंकहरुले ज्यादती गरेको भन्दै नागरिक बचाउ अभियान सुरु गरे । 

प्रसाईंका बैंकविरुद्धका गतिविधिले बैंकहरु झन् बिच्किए । र, उनलाई सम्झौताअनुसार थप कर्जा दिनभन्दा पनि दिएको कर्जा उठाउनमा केन्द्रित भए । 

प्रसाईँले कर्जाको किस्ता नतिरेपछि कुमारी बैंकले दुर्गा प्रसाईले केही शर्त तथा बन्देज उल्लघंन गरेको तथा व्यवसाय सन्तोषजनक नदेखिएको भन्दै  २०८० वैशाख १० मा कर्जाहरुको सम्पूर्ण साँवा, ब्याज तथा हर्जना भएमा यथाशीघ्र भुक्तानी गर्न पत्र पठायो । पत्रमा ‘अन्यथा नियमअनुसार रकम असुल उपर गर्नेतर्फ कारबाही अघि बढाउन बैंक बाध्य हुने’ भनिएको थियो ।

बैंकले धितो असुल उपर गर्ने चेतावनीसहितको पत्र पठाएपछि प्रसाईँले उच्च अदालत विराटनगरमा त्यसविरुद्ध मुद्दा दर्ता गरे । उच्च अदालत विराटनगरको इलाम इजलासले असार १० गते ‘कुमारी बैंकको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु’ भन्ने अल्पकालीन अन्तरिम आदेश दियो ।

ऋण तिर्ने वातावरण भएन : दुर्गा प्रसाईँ

दुर्गा प्रसाईँले आफूले ऋण तिर्दिन नभनेको तर ऋण तिर्ने वातावरण नभएको भन्दै आएका छन् । ‘सम्झौता अनुसारको पुरा ऋण नदिने, ऋण नपाउँदा मैले अस्पतालमा मेसिन किन्न पाएको छैन, विरामीको परिक्षण गराउन बाहिर पठाउनु परेको छ,’ प्रसाईँले भनेका छन्, ‘अस्पतालको आम्दानी नै नभएपछि कसरी ऋण तिर्नु ।’

साथै प्रसाईँले इमान्दार व्यवसायीलाई बैंकहरुले ज्यादती गरेको र सरकारले पनि बैंकहरुकै पक्ष लिएका कारण आन्दोलन गर्नु परेको बताउँदै आएका छन् । 

नेपालका बैंकबाट ऋण लिएर दुबईमा २ अर्बको मेडिकल कलेज खोल्ने प्रसाईँको फण्डा

नेपालमा बैंकहरुले ज्यादती गरेकाले अस्पताल पुरा बनाउन नसकेको बताउने प्रसाईँले केही समयअघि दुबईमा मेडिकल कलेज खोल्न लागेको घोषणा गरेका थिए । 

त्यसका लागि उनले युएईमा ‘दुर्गा प्रसाईँ इन्भेष्टमेन्ट कम्पनी’ दर्ता गराएका छन् । सिधाकुरालाई प्राप्त विवरण अनुसार उनले तेल तथा ग्यास, कृषी, स्वास्थ्य, पर्यटन लगाएका क्षेत्रमा लगानी गर्ने गरि कम्पनी दर्ता गरेका थिए । 


प्रसाईँले युएईको राजपरिवारका सदस्यसँगको साझेदारीमा मेडिकल कलेज खोल्ने तयारी गरेका थिए । यसका लागि उनले नेपालबाट रकम हुण्डी गरेर दुबई पुर्याएका छन् । उनका एक व्यापारिक साझेदारका अनुसार उनले काठमाडौंका केही व्यवसायी तथा दुबई र नेपालमा कार्यालय राखेका केही ट्राभल एजेन्सीले प्रसाईँको रकम हुण्डी गरेका छन् । 

यसका थप प्रमाण सिधाकुरालाई प्राप्त भएका छन् । अर्को श्रृङ्खला प्रकाशन गरिने छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चिया निर्यातको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ: उद्योग मन्त्री गौरी कुमारी

चिया निर्यातको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ: उद्योग मन्त्री गौरी कुमारी

यसका लागि भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा भारतस्थती नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको उहाले बताइन् ।
चीजको कथा: बालेनको एउटा फोटो र डीडीसीको सात दशक

चीजको कथा: बालेनको एउटा फोटो र डीडीसीको सात दशक

पछिल्लो पटक प्रधानमन्त्री बालेन शाहको एउटा फोटोले डीडीसी र यसको उत्पादनलाई चर्चामा ल्याएको छ । स्वदेशी उत्पादनलाई महत्व दिउँ भन्ने भावनाको विकास गरेको छ । तर प्रश्न आउँछ...
भारतले किन राेक्याे नेपालकाे चिया ?

भारतले किन राेक्याे नेपालकाे चिया ?

“एकातर्फ हरेक ट्रकको नमूना परीक्षणका लागि महँगो शुल्क र समय लाग्ने नियम बनाउनु निर्यातमा पूर्ण अवरोध सिर्जना गर्ने नियत हो”, पराजुलीले थपे, “अर्कातर्फ रिपोर्ट प्रतिकूल आएमा चिया नै...
एनसेल फाउन्डेसनले १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने

एनसेल फाउन्डेसनले १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने

यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्‍याउनेछ...