काठमाडौँ । भर्खरै दाँतको अप्रेसन गरेर डाक्टरले लेखिदिएको प्रेसक्रिप्सन बोकेर धादिङका एक बिरामी औषधि लिन बिर अस्पताल भित्रको फार्मेसी काउण्टरमा लाइन बसे । लामो लाइन पछि बल्लतल्ल उनको पालो आयो । तर, औषधि भने पाएनन् । फार्मेसीले उनलाई बाहिरबाट औषधि लिनुस् भनेर भनिदिए ।
यत्तिका समय लाइन बसेर औषधि लिनेबेला अस्पतालको फार्मेसीले यस्तो जवाफ दिए पछि उनी निरास बने । ‘गरीबीले थलापरेको म त्यसैमाथि अबको केही दिनमा घाँटीको अप्रेसन छ,’ उनले भने, ‘मैले स्वास्थ्य बीमा गरेको अर्थ नै भएन । के गरौं, दाँतको अप्रेसनको घाउको दुखाईले चक्कर लागेर ढलौंला जस्तै भएको छु ?’
तीन दिन लगातार औषधिकै लागि वीर अस्पताल पुगेका काठमाडौँ स्वयभुका प्रेमकुमार श्रेष्डले शुक्रबार पनि औषधि पाएनन् । दिर्घरोगी भएका कारण आफुले औषधि नियमित खाइरहनु पर्ने उनी बताउछन् । तर, पटक पटक धाउँदा पनि औषधि नपाए पछि उनी पनि आक्रोशित सुनिन्छन् । ‘देशकै ठुलो भनिएको वीर अस्पतालको हालत यस्तो छ भने स्वास्थ्य बीमा लागु भएका देशका अन्य अस्पतालको हालत र त्यहाँका बिरामी कुन अवस्थामा होलान ? पीडा त, भोग्नेलाई नै थाहा हुदो रहेछ,’ श्रेष्ठले सिधाकुरासँग भने ।

सस्तो र सर्वसुलभ औषधि उपचारका लागि जो कोहीले झट्ट सम्झने नाम हो वीर अस्पताल । जहाँ देश भरका जिल्लाबाट विरामीहरु विश्वासका साथ उपचारका लागि आउने गर्छन् । तर, अस्पताल व्यवस्थापन र प्रशानसको लापरबाहिका कारण पछिल्ला केही दिनदेखि अस्पतालमा आउने बिरामीले सास्ती बाहेक केहि पाएका छैनन् । बीर अस्पताको फार्मेसीको अगाडी लाईनमा घण्टौं बसेर पनि उपचारपछि डाक्टरले लेखिदिएको औषधि नपाएर रित्तोहात घर फर्किनेको संख्या अहिले दिनानुदिन बढ्दै गइरहेको छ । अस्पतालको फार्मेसीमा झण्डै एक महिनादेखि औषधिको चरम अभाव छ ।

अस्पतालका फार्मेसिस्ट सितेश शाहकाअनुसार औषधि नहुँदा बिरामी र उनीहरुका आफन्तको आक्रोस र गाली खाइरहेको शाहले बताए । शाहले भने,‘अहिले फार्मेसीमा औषधि अवभाव छ । केहिदिन देखि त, धेरै बिरामीलाई औषधि छैन भनेर फर्काउदै आएका छौं । बन्द गर्न मिल्दैन ।’ उनकाअनुसार स्वास्थ्य बीमामार्फतको सुविधा लिनका लागि दैनिक सयौँ मान्छेहरु अस्पताल आउने गरेका छन् । तर, फार्मेसीमा औषधी नभए पछि बिरामी र उनीहरुका आफन्त अस्पताल बाहिर रहेको फार्मेसीबाट औषधि खरिद गर्न बाध्य हुने गरेका छन् ।
वीर अस्पतालका फार्मेसी इन्चार्ज मानबहादुर महरा जेन्जी आन्दोलनपछि आवश्यक औषधि खरिदमा भएको ढिलासुस्तीका कारण अहिलेको अवस्था सृजना भएको दाबी गर्छन । औषधि अभाव हटाउन मन्त्रालयसँग बारम्बार छलफल भएको र समाधान छिट्टै हुुने दाबी उनले गरे । ‘अबको केहि हप्तामा फार्मेसीमा देखिएको समस्या समाधान हुन्छ,’ महराले सिधाकुरासँग भने, ‘दैनिक तीन हजार बढीको संख्यामा ओपिडिका विरामीहरु सर्जिकल सामान लिन आउने गरेका छन् । अधिकांस सामान फार्मेसीमा सकिएको छ । यता औषधिमा पनि त्यस्तै समस्या छ,’ महराले भने, ‘दिर्घ रोगीले नियमित खाइरहनु पर्ने औषधि पनि फार्मेसीमा सकिएको छ । यतिसम्मकी सुगर, प्रेसरका विरामीले सेवन गर्ने औषधि समेत सकिएको छ । विरामी फिर्ता पठाउनु बाहेक हामीसंग अन्य उपाय छैन के गरौं ?’

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा फार्मेसीमा आवश्यक सामाग्री खरिदको प्रक्रिया अगाडी बढाउन लागेको दाबी गरेको छ । तर, कतिपयले यसलाई औषधि खरिदमा कमिशनको खेलको रुपमा चर्चा गरेका छन् । अस्पताल प्रशासनले निकटतमसंगै विश्वासीलो कम्पनीको खोजि गरिरहेको आरोप लाग्न थालेको छ । सो विषयमा अस्पताल प्रशासनले भने आर्थिक अभाव र मन्त्रालयसँग भएको सम्झौता अनुसारको गएको वर्षको बजेट उपलब्ध नहुनु समस्याको प्रमुख कारण भएको बताएको छ ।

तर वीर अस्पतालका प्रशासन प्रमुख हरि पंगेनीले भने यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । अस्पतालको फार्मेसीमा औषधि सकिएको विषयमा आफुलाई जानकारी नहुने बताएका हुन । उनले भने, ‘केहि औषधि सकिएको विषयमा टेण्डर स्वीकृत भएको विषयमा थाहा छ । तर कुन औषधिका लागि हो त्यो थाहा भएन । तपाईले सोध्नु भएको विषयमा वीर निर्देशक र फार्मेसी अधिकृतलाई नै थाहा हुन्छ ।’
त्यस्तै, वीर अस्पतालमा केहि हप्तादेखि औषधि अभाव भइरहेको विषयलाई अस्पतालका उप–कुलपति भुपेन्द्र बस्नेतले स्वीकार गरेका छन् । औषधि खरिद टेण्डर प्रक्रिया लम्बीएकाले समय लागेको उनले बताए । उनले भने, अबको हप्ता दिनमा औषधि अभावको समस्या समाधान हुने छ । टेण्डर स्वीकृत समेत भइसकेको छ । औषधि खरिदका लागि ५९ वटा सप्लायर्ससंग सम्झौता भइसकेको छ ।’