नेभिगेशन
समाज

महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो । 

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउन पानी छाडिएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पानीको बहाव बढाउन आज दिउँसोदेखि नै ड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले पर्व अवधिभर नदीमा निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको जनाएको छ । 

Marvel
Extreme Energy

आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले महाशिवरात्रिलाई लक्षित गरी आजदेखि नै धापड्यामको पानी नदीमा छोड्न सुरु भएको जानकारी दिए । “धाप ड्यामको पानी छोडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसर्थ हामीले आजदेखि नै पानी छोड्न थालेका हौँ”, उनले भने, “विशेष दिनमा हामीले ड्यामको पानी बाग्मतीमा छोड्दै आएका छौँ ।”शिवरात्रिका अवसरमा देशविदेशबाट हजारौँ भक्तजन पशुपतिनाथ दर्शन तथा वाग्मतीमा स्नानका लागि आउने गर्दछन् ।

प्रतिसेकेण्ड चार सय लिटर पानी छाडियो

समितिका अनुसार बाग्मती नदीमा प्रतिसेकेण्ड ४०० लिटर पानी तीन दिनसम्म छाडिनेछ । “पानी छाड्दा बाग्मती नदीमा पानीको सतह घुँडासम्म आउँछ र व्रतालुलाई नदीमा स्नान गर्न सजिलो हुन्छ, यसबाट नदीको सौन्दर्यता पनि बढ्ने अपेक्षा छ,”, नेपालले भने, “बागमती नदीमा पानी छाड्न मेलम्ची खानेपानी विकास समितिसँग पनि आग्रह गरिसकेका छौँ ।”

केयुकेयलसँग समन्वय

महाशिवरात्रि पर्वका अवसरमा बाग्मती नदीमा पानीको बहाव बढाउने तयारीअन्तर्गत सम्बन्धित निकायबीच समन्वय गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० लाई सुन्दरीजल पानी प्रशोधन शाखामार्फत नदीमा पानी प्रवाह गरिदिन पत्राचार गरिएको छ । 

यसअघि २०८१ जेठ २३ गते विभिन्न चाडपर्वका अवसरमा बाग्मतीमा पानी प्रवाह गर्ने विषयमा सरोकारवाला निकायको बैठकले निर्णय गरेको थियो ।

बाग्मती सुधार आयोजना प्रमुख शम्भुराज पण्डितका अनुसार धापड्यामबाट हालसम्म केयुकेएल सुन्दरीजल शाखामा ३२ करोड लिटर पानी प्रवाह गरिएको छ । केयुकेएलबाट विभिन्न चाडपर्वमा एकमुष्ठ २७ करोड ९८ लाख लिटर पानी शोधभर्ना भइसकेको जानकारी पनि उनले दिए ।
 
पण्डितका अनुसार अब उप्रान्त बागमती नदीमा प्रवाह गरिने पानीको हिसाब पछि मिलान गर्नेगरी महाशिवरात्रिका अवसरमा ४०० लिटर प्रतिसेकेन्डका दरले बाग्मतीमा पानी प्रवाह गर्न आग्रह गरिएको छ । “आज बेलुकी ६ः०० बजेदेखि आइतबार बेलुकी ६ः०० बजेसम्म नदीमा पानी प्रवाह गर्न आग्रह गरेका छौँ”, उनले भने । 

पाँच करोड लिटरसम्म पानी छाड्ने तयारी

महाशिवरात्रि पर्वका अवसरमा बाग्मती नदीमा करिब पाँच करोड लिटरसम्म पानी प्रवाह गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)अन्तर्गत सुन्दरीजल पानी प्रशोधन आयोजनाका प्रमुख हेम बूढाथोकीले आज साँझ ६ बजेदेखि पानी छोड्न सुरु गरिने जानकारी दिए । 

“आधिकारिक रूपमा आयोजनाले बाग्मती नदीमा पानी छोड्नका लागि माग गर्दै पत्राचार गरेको छ”, उनले भने, “सोअनुसार मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट आइतबार साँझ ६ बजेसम्म करिब ५ करोड लिटर छाड्ने तयारी छ ।”

गत वर्षको मनसुन अवधिमा मेलम्ची आयोजना अस्थायी रूपमा बन्द हुँदा धापड्यामको पानी सापटी लिइएको थियो । तर यस वर्ष केयुकेएलले धापड्यामबाट सापटी पानी नलिएको जनाइएको छ । छठजस्ता महत्वपूर्ण पर्वमा पनि मेलम्चीको पानी बाग्मतीमा प्रवाह गरी बहाव बढाउन सहयोग गर्दै आएको छ । गत वर्षको महाशिवरात्रिमा पनि मेलम्ची आयोजनाले बाग्मतीमा पानी प्रवाह गरेको थियो । 

उपभोक्तालाई असर नपर्ने

प्रमुख बूढाथोकीले बाग्मतीमा पानी प्रवाह गर्दा उपत्यकाका उपभोक्तालाई कुनै असर नपर्ने बताउ । “हामीले दैनिक उपत्यकाका उपभोक्तालाई १७ करोड लिटर पानी वितरण गर्दै आएका छौँ । बाग्मती नदीमा पानी प्रवाह गरे पनि उपभोक्तालाई असर पर्दैन,” उनले भने, “किनकी हामी मेलम्ची आयोजनाबाट नै बढी पानी प्रशोधन केन्द्रमा ल्याउनेछौँ ।”

धापड्यामको महत्व

काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धापड्याम धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिलेसमेत महत्वपूर्ण रहेको छ । ड्यामले बाग्मती नदीमा पानीको बहाव बढाएर नदीको सौन्दर्यता कायम गर्न सहयोग पुगेको समितिले जनाएको छ । 
    
ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको समितिले जनाएको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशकअघि सुरु भएको थियो भने तीन वर्षअघि यसको उद्घाटन गरिएको हो ।

ड्याममा वर्षाका समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदका समयमा बाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेण्ड ४०० लिटरको दरले बाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य थियो ।

एशियाली विकास बैंकको रु ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त ड्यामबाट मुख्य पर्वमा बाग्मती नदीमा पानी छाडिँदै आइएको छ । ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ ।

ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रूपमा बाग्मती नदीमा पानी छाड्ने सरकारको लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको छ । नदीको पानीको बहाव बढाउन आवश्यकताअनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रूपमा पानी छाड्न नसकिएको उपनिर्देशक नेपालले बताए । 

“हिउँदमा बाग्मतीमा पानीको सतह बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौँ, तर त्यो परिणामले खासै उपलब्धि नदिने रहेछ”, उनले भने, “परिणाम देखिनका लागि प्रतिसेकेण्ड ४०० लिटर पानी आवश्यक पर्छ, तर त्यति बगाउन ड्यामको क्षमता नभएकाले सुक्खा अवधिमा दैनिक पानी बगाउन सकेनौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...