नेभिगेशन
समाज

हुरीसहित असिना पानीको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक  सावधानी अपनाउन आग्रह गरिएको छ । 

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन  सुझाव दिए । हावाहुरी र असिना पानी परेको समयमा  सवारीसाधन नचालाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन उनले आग्रह गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार आज अपराह्नपछि नै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । विभागका प्रवक्ता विभूति पोखरेलले अपराह्नपछि भने विषेशगरी तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गरे । 

Ncell
Extreme Energy

“अहिले पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन÷चट्याङसहित हल्का पानी परिरहेको छ । यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु जरुरी छ”, प्रवक्ता पोखरेलले भने, “मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरी (करिब ५०–६० किमी÷घण्टा) चल्ने सम्भावना रहेको छ । यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहनसक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आवश्यक छ ।”

प्रवक्ता पोखरेलका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । 

उपत्यकामा कम प्रभाव

प्रवक्ता पोखरेलले काठमाडौँ उपत्यकामा हुरीको प्रभाव भने कम रहने बताउनुभयो । विशेष गरी तराईमा यसको प्रभाव बढी परे पनि आत्तिनुपर्ने अवस्था नभएको तर सर्तकता अपनाउन आवश्यक भएको उनको भनाइ छ । 

प्रवक्ता पोखरेलले हुरी चलिरहेको समयमा घरबाहिर ननिस्कन सुझाव दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर/संरचना भएभित्र गइहाल्नुपर्छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारीसाधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र बिजुलीका तारमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउनसमेत उनको अनुरोध छ ।
 
सुरक्षित ओत नभेटे टाउको दुवै घुँडाको बीचमा राखेर दुवै हातले खुट्टा समाउने र खुट्टाको पञ्जाले भुइँमा टेकेर दुवै कुर्कुच्चा जोडेर टुक्रुक्क बसी निहुरेर शरीरलाई जतिसक्दो सानो बनाई कान थुनेर बस्न प्राधिकरणले सुझाव दिएको छ ।  समूहमा भए सबै जना छुट्टिएर टाढाटाढा बस्ने, यसो गर्दा धेरैजना हताहत हुनबाट जोगिन सकिन्छ । खुला क्षेत्र वा जङ्गलमा भए सम्भव भएसम्म होचो स्थान वा खोँचमा गएर बस्नुपर्छ । 

उपसचिव केसीले रुख वा बिजुली र फोनका खम्बामुनि वा टावर नजिक नबस्ने, छाता नओढ्ने, खेतबारीमा काम गरिरहेको भए बन्द गर्ने, खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्किन सुझाव दिए । माछा मार्ने कार्य तथा ¥याफ्टिङ नगर्ने, बिजुली र फोनको अग्लो खम्बा, अग्लो भवन, ठूलो रुख नजिक नबस्न, साइकल वा मोटरसाइकलमा भए तुरुन्त छेउ लगाई उत्रने तथा धातुको कुनै पनि वस्तु, सवारीसाधन वा उपकरण नछुन उनले सुझाव दिए । 

आइतबारदेखि मौसम खुल्ने 

जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले तीन दिन देशभर बदली, वर्षा र हिमपातको प्रभावस केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशभर आगामी तीन दिनसम्म बदलीसँगै वर्षा, हिमपात तथा चट्याङ्गको प्रभाव रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षा हुने सम्भावना छ ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कोशी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यीमध्ये कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुनसक्ने चेतावनी दिइएको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार शुक्रबार राति मौसम अझ सक्रिय हुने देखिएको छ । कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा वाग्मती प्रदेश र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

शनिबार दिउँसो पनि देशभर बदली कायम रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार राति भने मौसम केही सुधार हुँदै हल्का वर्षामात्र सीमित स्थानमा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने सङ्केत देखिएको छ । पहाडी र हिमाली भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ । केही स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको बुलेटिमा उल्लेख छ । । राति पनि अधिकांश स्थानमा आंशिक बदली रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने माहाशाखाको पूर्वानुमान छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...
कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

सुर्खेत बसपार्कबाट गाडी छुटेपछि बांगेसिमलस्थित प्रहरी चेकपोष्ट छ, त्यसलगत्तै बड्डीचौर आइपुग्छ । त्यहाँपनि सुरक्षा जाँच हुन्छ । त्यसपछि डुंगेश्वरमा अर्को चेकपोष्ट छ, त्यहाँ पनि सुरक्षा जाँछ हुन्छ । ...
बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?

बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन प्रतिवेदनमा धेरै काम सम्पन्न भइसकेको, केही प्रक्रियामा रहेको देखिन्छ ।