नेभिगेशन
विदेशका कुरा

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ ।

केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत् सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताए। उनका अनुसार अन्तिम शान्ति सम्झौता तत्काल सम्भव देखिँदैन र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्षहरू बाँकी रहेको उनको भनाइ थियो । दुई साताका लागि गरिएको युद्धविराम बुधबार समाप्त हुने तयारीमा छ, जसले आगामी अवस्था थप अन्योलपूर्ण बनाएको छ ।

Ncell
Extreme Energy

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘राम्रो वार्ता’ भइरहेको दाबी गर्दै तेहरानलाई दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिए । उनले इरानले होर्मुजमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप समेत लगाएका थिए। शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि होर्मुज जल डमरूमध्य खुला गरिएको घोषणा गरेको थियो ।

विश्वको करिब पाँचौँ भाग तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यस निर्णयले विश्व बजारमा राहत दिएको थियो र तेलको मूल्य घटेको थियो । तर अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने अडान लिएपछि तेहरानले पुनः जलमार्ग सीमित गर्ने सङ्केत दिएको हो ।

“यदि अमेरिकाले नाकाबन्दी हटाएन भने होर्मुजमा आवागमन निश्चित रूपमा सीमित हुनेछ”, गालिबफले चेतावनी दिए। यसैबीच इरानका सर्वोच्च नेता मोजताबा खमेनीले लिखित सन्देशमार्फत् इरानी नौसेना अमेरिकाविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन् । तनावबीच इरानको रिभोलुसनरी गार्ड्सले अनुमति बिना जल डमरूमध्य पार गर्ने जहाजहरूलाई शत्रुसँगको सहकार्य मानिने र आवश्यक परे ‘लक्षित’ गरिने चेतावनी दिएको छ ।

छोटो समयका लागि खुल्दा केही तेल र ग्यास ट्याङ्करहरू पार भए पनि धेरै जहाजहरू पछि हटेका छन् र शनिबार दिउँसोसम्म जलमार्ग प्रायः सुनसान देखिएको ट्र्याकिङ तथ्याङ्कले देखाएको छ । समुद्री सुरक्षासम्बन्धी बेलायती एजेन्सीले एक ट्याङ्करमाथि गोली प्रहार भएको जानकारी दिएको छ भने भ्यानगार्ड टेक नामक सुरक्षा फर्मका अनुसार इरानी सेनाले खाडी क्षेत्रबाट बाहिरिँदै गरेको एक खाली क्रूज जहाजलाई नष्ट गर्ने धम्की दिएको छ ।

अर्को घटनामा अज्ञात प्रक्षेप्यले एक जहाजमा प्रहार गर्दा कन्टेनरहरू क्षतिग्रस्त भएका छन्, यद्यपि आगलागी भएको छैन ।
यसै क्रममा भारतले जल डमरूमध्यमा आफ्ना झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीकाण्डप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित इरानी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ ।

कूटनीतिक पहलहरू पनि जारी छन् । पाकिस्तानसँगको मध्यस्थतामा संलग्न इजिप्टले चाँडै नै अन्तिम सम्झौता सम्भव हुने आशा व्यक्त गरेको छ । वार्ताका प्रमुख अवरोधका रूपमा इरानको उच्च स्तरसम्म समृद्ध गरिएको युरेनियमको भण्डार र होर्मुज जल डमरूमध्यको नियन्त्रणलाई लिइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले ४४० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गर्नुभएको छ, तर इरानले त्यसलाई अस्वीकार गर्दै यस्तो प्रस्ताव कहिल्यै वार्तामा नआएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार उक्त भण्डार सुरक्षित स्थानमा रहेको छ र कुनै पनि हालतमा अमेरिकालाई सुम्पिने योजना छैन ।

फेब्रुअरी २८ मा सुरु भएको मध्यपूर्वीय द्वन्द्वले व्यापक रूप लिँदै इरान, खाडी देशहरू, इजरायल र लेबनानलाई समेटेको छ । लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्तिरक्षकमाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाका लागि हिजबुल्लाहलाई दोष दिनुभएको छ, तर उक्त समूहले आरोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्दै प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमण हिजबुल्लाहबाट भएको देखिएको बताए।
यस घटनाले क्षेत्रीय तनावलाई थप जटिल बनाएको छ र शान्ति प्रयासहरूमा चुनौती थपिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।