काठमाडौँ । प्रधानमन्त्री बालेन शाह चर्चित छन्, देशभित्र मात्रै होइन, बाहिर पनि । विश्व प्रसिद्ध टाइम म्यागेजिनले त गत महिना विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा बालेनलाई पनि समावेश गर्यो ।
तर, उनै प्रधानमन्त्री बालेन अहिले भने विवादमा तानिएका छन् । विपक्षीले मात्रै होइन, कतिपय उनकै समर्थक र उनकै दल रास्वपाका नेता तथा कार्यकर्ताले पनि बालेनको आलोचना गर्न थालेका छन् । र, बालेनको आलोचना हुनु र उनी विवादमा तानिनुको मुख्य विषय हो– वैशाख २८ गते संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बाहिरिनु ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अचानक प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएपछि त्यतिबेला नै धेरैको ध्यान बालेनतिर सोझिएको थियो । छिट्टै फर्केलान् भन्ने पनि थियो । तर, राष्ट्रपतिले सम्बोधन गरिसक्दा पनि बालेन फर्केनन् ।
राष्ट्रपति बाहिरिएको केहीबेरमा प्रतिनिधिसभाको अर्को बैठक सुरु भयो । बैठक सुरु भइसकेपछि मात्रै बालेन बैठक कक्षमा प्रवेश गरे । जब सभामुखले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजे, एमाले सांसद गुरु बरालले नियमापत्ति जनाए । राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बाहिरिनु मर्यादाविपरीत र अशोभनीय रहेको भन्दै रुलिङको माग गरे ।
प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव टेबल गरे, सभाले पारित पनि गर्यो । तर, प्रधानमन्त्रीको आलोचना भने हटेन । बैशाख २९ गते दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिनिधि कांग्रेसले त्यही विषय उठायो र प्रधानमन्त्रीसँगै जवाफ माग्यो ।
विपक्षी दलहरुले प्रधानमन्त्रीको आलोचना गरिरहँदा, सन्चार माध्यमहरुमा प्रधानमन्त्रीको आलोचना भइरहँदा, प्रधानमन्त्रीले केही जवाफ दिइसकेका छैनन्, तर, उनका राजनीतिक सल्लाहकार असिम शाहले २८ गते साँझ नै फेसबुकमा प्रधानमन्त्री किन बैठकबाट बाहिरिए भनेर जवाफ दिए । उनले फेसबुकमा लेखेका थिए– प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या थियो । सुधार भएपछि फेरि उहाँ बैठकमा जानु भयो । तर, उनले आफ्नो स्टेटस केहीबेरमै हटाए ।
धेरैले भनेका छन्– संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु शोभनीय होइन । राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री बसिरहनु पर्छ भनेर संविधानमा त लेखिएको छैन, तर, संस्कार, मर्यादा र नैतिकतासँग भने जोडेर हेर्ने गरिन्छ । संसदीय अभ्यास र परम्परा अनुसार पनि यस्तो व्यवहारलाई अशोभनीय र संसदीय मर्यादाको उल्लंघन मानिन्छ ।
संसदमा राष्ट्र प्रमुखको सम्बोधन हुँदा, राष्ट्र प्रमुख प्रवेश गर्नुअघि नै प्रधानमन्त्री, मन्त्री र सांसदहरु आ आफ्नो सिटमा बसिसक्नुपर्छ । राष्ट्र प्रमुख बोलिरहँदा उठ्न, आपसमा कुराकानी गर्न, हिँडडुल गर्न पाइँदैन । राष्ट्र प्रमुख बैठक कक्षबाट निस्केपछि मात्रै निस्किनुपर्छ । यो व्यवस्थापिकाले राष्ट्र प्रमुखलाई गर्ने सम्मान हो र यसबारेमा सभामुखले बैठक सुरु हुनुअगावै भनिसकेका हुन्छन् ।
संसदमा बालेनमाथि उठेका अन्य दुई विषय पनि छन्, पोशाक र उनको सम्बोधन । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनले अहिलेसम्म संसदलाई सम्बोधन गरेका छैनन् । प्रायः नयाँ सरकार गठन भएपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने परम्परा छ । तर, यतिका दिन बितिसक्दा पनि प्रधानमन्त्रीले किन बोलेनन् भनेर धेरैले प्रश्न गरिरहेका छन् । चैत १२ यता संसदका १३ वटा बैठक बसिसकेको छ । एउटा बैठकमा सांसदहरुले सपथ लिए, दुई वटा बैठकमा राष्ट्रपतिले सम्बोधन गरे । तर, अहिलेसम्म प्रधानमन्त्रीले सम्बोधन गरेका छैनन् ।
धेरैलाई थाहा छ– बालेन सार्वजनिक कार्यक्रममा सकेसम्म सहभागी हुँदैनन्, भइहाले पनि धेरै बेर बस्दैनन् । लामो भाषण गर्दैनन् । आफ्ना कुरा छोटकरीमा सामाजिक सञ्जाल मार्फत नै भन्छन् । उनलाई नजिकबाट चिन्नेहरुले भन्छन्– उनी भाषणमा होइन, काममा विश्वास गर्छन्, बोलीभन्दा व्यवहारमा बढी विश्वास गर्छन् । प्रधानमन्त्री बनेपछि उनी निरन्तर सरकारको कार्यशैली सुधारमा लागिरहेका छन् । रिजल्ट ओरियन्टेड कामलाई प्राथमिकता दिइरहेका छन् ।
वैशाख २९, प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे । भेटमा सभामुख अर्यालले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकोमा राष्ट्रपतिलाई धन्यवाद पनि दिए । शीतलनिवास स्रोतका अुनसार, त्योसँगै उनीहरुका बीचमा अघिल्लो दिनको बैठकमा प्रधानमन्त्रीको व्यवहारका बारेमा पनि छलफल भयो । स्पष्टै बुझ्न सकिन्छ कि, प्रधानमन्त्रीको उक्त व्यवहार न राष्ट्रपतिलाई चित्त बुझेको थियो, न सभामुखलाई नै । राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बाहिरिनु शोभनीय थिएन । उनी किन अकस्मात बैठक स्थलबाट बाहिरिए ? पक्कै पनि उनी वा उनको सचिवालयले यसबारेमा प्रष्ट पार्ने नै छ । सभामुखले पनि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्लान्, यसबारेमा रास्वपाले पनि केही भन्ला ।
प्रधानमन्त्री बालेनको किन आलोचना भयो भनेर चर्चा गरेँ । एउटा घटनाले उनी आलोचनामा परे पनि प्रधानमन्त्रीका रुपमा उनले जे जस्ता काम गरिरहेका छन्, त्यसलाई भने आम नागरिकले रुचाएका छन्, प्रशंसा गरिरहेका छन् ।
फागुन २१ को चुनावमा निर्वाचित सांसदहरुले शपथ लिएको भर्खर डेढ महिना पुगेको छ । यसबीचमा केही मन्त्रीहरु विवादमा तानिए, केही सांसदहरु पनि विवादमा तानिए ।
विवादमा तानिएपछि रास्वपाले तत्कालीन श्रम मन्त्री दीपक साहलाई बर्खास्त गर्यो, गृहमन्त्री सुधन गुरुङलाई राजीनामा गर्न लगायो । रास्वपाले भनेको छ– कोही कसैले पनि मर्यादा र जिम्मेवारीविपरीत काम गरे कारबाही हुन्छ, पार्टी निर्मम बन्छ ।
चुनाव लगत्तै धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङ विवादमा तानिइन् । स्थानीय तहले उठाउने करका बारेमा उनले दिएको निर्देशन कानुन र संविधानसम्मत नभएको भन्दै आलोचना भयो ।
अभिव्यक्तिकै कारण आलोचनामा तानिएका अरु सांसदहरु पनि छन् । यसबीचमा निकै आलोचना खेपेका अर्का सांसद हुन्– विश्वराज पोखरेल । ओखलढुंगाका एक विद्यालयका प्रधानाध्यापक आफ्नो स्वागतमा आएनन् भनेर उनले जसरी ती प्रधानाध्यापकलाई हप्की दप्की गरे, त्यसले उनको आफ्नै व्यक्तित्वमा पनि प्रश्न उठायो । सर्वत्र आलोचना भएपछि उनले सार्वजनिक रुपमा नै माफी मागे ।
रास्वपाकै अर्का सांसद खगेन्द्र सुनार सिन्धुलीमा दिएको अभिव्यक्तिका कारण आलोचित भए । प्रहरी हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको अनुसन्धानका लागि दबाब दिन, उनले जे अभिव्यक्ति दिए, त्यो पनि विवादित पर्यो ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी सम्बन्धी विषयलाई लिएर सांसद जगदीश खरेल अहिले चर्चा र विवादमा छन् । अन्तरिम सरकारमा सञ्चारमन्त्री हुँदा खरेलकै साँठगाँठमा स्मार्टको सम्पत्ति लिलामी गरियो भनेर एक पत्रिकाले सामाचार प्रकासित गरेपछि उनी विवादमा तानिएका हुन् । समाचारमा जे दाबी गरिएको छ, खरेलले सार्वजनिक रुपमा त्यसको खण्डन गरिसकेका छन्, प्रमाणित गर्न चुनौती दिएका छन् अनि आफूमाथि अनर्गल आरोप लगाइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि प्रेस काउन्सिल र प्रहरीको साइबर ब्यूरोमा उजुरी पनि दिएका छन् । खरेलको संलग्नता थियो वा थिएन, पक्कै पनि अनुसन्धानले देखाउने छ । तर, त्यसैलाई आधार बनाएर खरेललाई विवादमा तानिएको छ ।
सांसदहरुको भूमिका के हो ? जिम्मेवारी के हो ? उनीहरुले के के गर्न पाउँछन्, के पाउँदैनन् ? कानुनले नै स्पष्ट पारेको छ । यत्ति मात्रै होइन, रास्वपाले त दुई दुई पटक आफ्ना सांसदहरुलाई प्रशिक्षण दिइसकेको छ । रास्वपा सभापति रवि लामिछाने त जितको उन्माद नराख्न र आफूहरुलाई जनताको असली सेवकका रुपमा स्थापित गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
हो, विगतमा राजनीति विकृत भयो । वर्षौंदेखि सत्तामा बसेका पुराना दल र नेताहरुले राजनीतिलाई विकृत बनाए । नेताहरुले भ्रष्टाचार गरे, दलाली गरे, जनतालाई सास्ती दिए । त्यसैले त नवयुवाहरुले विद्रोह गरे । अहिले रास्वपाप्रति आम जनताले आशा, विश्वास र भरोसा राख्नुको कारण हो– अब रास्वपाले ती सबै विकृति हटाउने छ । विकृति हटाउनुपर्छ । सुधार गर्नुपर्छ । तर, सत्य के हो भने, देश सुधार्नु छ भने सुरुवात आफैंबाट गर्नुपर्छ ।