काठमाडौँ । आयोजक मेक्सिको र दक्षिण अफ्रिका आज मध्यरातमा प्रतिस्पर्धामा उत्रिएसँगै विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ सुरु हुनेछ । अमेरिका, मेक्सिको र क्यानाडामा हुने २३औं संस्करण १६ शहरका १६ मैदानमा कूल १०४ हुनेछन् ।
विश्व खेलकुदको सबभन्दा लोकप्रिय खेल झण्डै ६ हप्ता विश्वकपका फुटबल समर्थकको ध्यान केन्द्रित गर्नेछ । कस्ले उपाधि जित्ला ? फाइनल को पुग्ला ? कसले बढि गोल गर्ला ? जस्ता प्रश्नहरु समर्थकको चासोको विषय बन्नेछन् । उपाधि जस्तै यसपटक कस्ले बढि गोल गर्ला र गोल्डेन बुट जित्ला ? भन्ने अर्काे बहस सुरु भएका छन् ।
यसपटक फिफाले प्रतियोगिताअघि नै १० खेलाडीलाई गोल्डेन बुटको सम्भावित विजेताको रुपमा राखेको छ । यस्ता छन् ती १० खेलाडीः
केलियन एमबाप्पे (फ्रान्स)
एम्बाप्पे यसपटक प्रतियोगिताकै केन्द्रमा छन् । उनले आठ वर्षअघि १९ वर्षको उमेरमै फ्रान्सलाई विश्वकपको उपाधि जिताइसकेका छन् । पछिल्लो पटक पनि उनले टिमलाई फाइनलमै पु¥याएका थिए । तर, फाइनलमा उनले ह्याट्रिक गर्दा समेत उपाधि रक्षा भने गर्न सकेनन् । हालसम्म एमबाप्पेले आफ्नो देशका लागि ९८ खेलमा कूल ५६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । विश्वकपमा कुल १४ खेल खेल्ने क्रममा उनले १२ गोल गरिसकेका छन् । उनले यसपटक मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान समेत तोड्न सक्ने अनुमान गरिएको छ ।
ह्यारी केन (इङ्ल्यान्ड)
बढ्दो उमेरबीच पनि उच्च प्रदर्शन कायम राखेकाले इङ्ल्यान्डका कप्तान यो विश्वकपको केन्द्रमा छन् । केनले इङ्ल्यान्डका लागि ११३ अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरिसकेका छन् । विश्वकपमा पनि ११ खेल खेल्दै ८ गोल गरिसकेका छन् । विश्वकपमा ग्रुप अफ डेथ मानिएको समूह ‘एल’ मा क्रोएसिया, घाना र पानामासँग खेल्नेछ ।
लियोनेल मेसी (अर्जेन्टिना)
पछिल्लो पटक अर्जेन्टिनालाई उपाधि जिताएकाले पनि अमेरिकामा हुने विश्वकपमा सबैको नजर कप्तान लियोनल मेसीमाथि हुनेछ । मेसीले पछिल्लो विश्वकपमा जादू नै गरे । त्यसैले यसपटक मेसीलाई गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको छ । मेसीले अर्जेन्टिनाका लागि पछिल्ला ३७ खेलमा ३५ गोल गरेका छन् ।
अर्जेन्टिनाका लागि मेसीले कुल १९८ अन्तर्राष्ट्रिय खेलमा ११६ गोल गरिसकेका छन् । त्यसमा विश्वकपमा भएका १३ गोल पनि समावेश छन् । विश्वकपमा १३ गोल गर्नका लागि उनले २६ खेल खेल्नुपरेको थियो । मेसीले पनि यसपटक जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक १६ गोलको कीर्तिमान तोड्ने सम्भाविक उम्मेदवारको रुपमा हेरिएको छ ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
लियोनल मेसीसँगै क्रिस्टियानो रोनाल्डो विश्व फुटबलले पाएको इतिहासकै सर्वकालिन महान खेलाडीमध्ये एक हुन् । रोनाल्डोले पोर्चुगलका लागि २२६ खेलमा १४३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । रोनाल्डोले विश्वकपमा २२ खेलमा ८ गोल गरेका छन् ।
विश्व फुटबल इतिहासमै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाएका रोनाल्डो ४० वर्षमा पनि उत्तिकै राम्रो प्रदर्शन गरिरहेका छन् । रोनाल्डोले पोर्चुगलका लागि पछिल्ला ३० खेलमा २५ गोल गरेका छन् । पछिल्लो विश्वकपमा प्रशिक्षक फर्नान्डो सान्तोषसँग सम्बन्ध चिसिँदा अवसर समेत कम पाएका थिए । यसपटक रोबर्टो मार्टिनेजको नेतृत्वमा भने रोनाल्डोले उपाधिसँगै गोल्डेन बुटको दाबेदार हेरिएको छ ।
लामिन यमल (स्पेन)
पछिल्लो युवा पुस्तामाझ निकै लोकप्रिय नाम हो लामिन यमल । १९ वर्षीय अट्याकिङ मिडफिल्डरले छोटो समयमै धेरै कीर्तिमान लेखाइसकेका छन् । स्पेनका लागि २५ अन्तर्राष्ट्रिय खेलमा ५ गोल गरेका छन् । सामान्यतया यमल गोल गर्नभन्दा पनि अवसर जुटाइदिनका लागि अझ माहिर छन् । मध्यक्रममा रहेर डिफेन्सलाई दबाबमुक्त गराउने र गोल गर्न स्ट्राइकरलाई सहज परिस्थिति बनाइदिन यमल माहिर छन् ।
विश्वकप सकिनुभन्दा ७ दिनअघि १९ औं जन्मदिन मनाउने तयारीमा रहेका यमालले यसपाली सबभन्दा धेरै गोल गर्न सके भने उनी विश्वकप इतिहासको सबभन्दा कान्छो गोल्डेन बुट विजेता बन्नेछन् । हाल कोलम्बियाका हामेस रोड्रिग्वेजसँग यस्तो कीर्तिमान छ । यमल पहिलो पटक विश्वकप खेल्दैछन् ।
औसमान डेम्बेले (फ्रान्स)
स्ट्राइकर औसमाने डेम्बेले यसपालीको गोल्डेन बुट प्रमुख दाबेदार हुन् । उनले लगातार दुई पटक पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताइसकेका छन् । डेम्बेलेले क्लब स्तरमा आफूलाई एउटा तिब्र गतिको विंगरबाट खतरनाक स्ट्राइकरमा रुपान्तरित गर्न भ्याइसकेका छन् । उनले फ्रान्सबाट ५९ अन्तर्राष्ट्रिय खेल खेल्दा ७ गोल गरेका छन् । तर, विश्वकपमा ११ खेल खेलिसक्दा उनको नाममा एउटै गोल छैन । पछिल्लो दुई सिजन पिएसजीमा गरेको प्रदर्शनको आधारमा उनलाई गोल्डेन बुट जित्ने खेलाडीको सूचीमा उभ्याउन सकिन्छ । पछिल्ला दुई सिजनमा उनले पिएसजीको लागि ५५ गोल गरिसकेका छन् ।
भिनिसियस जुनियर (ब्राजिल)
रियाल मड्रिडका प्रभावशाली स्ट्राइकर भिनिसियस जुनियर पनि यो पटक गोल्डेन बुटका दाबेदार हुन् । उनले पाँच पटकको विश्व च्याम्पियन ब्राजिलका लागि ४९ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् । विश्वकपमा उनले ४ खेल खेलेका छन् र एक गोलमात्रै गरेका छन् । यसपाली विश्वकपमा तुलनात्मक रुपमा सहज समूह परेकाले ब्राजिली फरवार्डहरुले धेरै गोलको मौका पाउने अनुमान गरिएको छ । जसको फाइदा २५ वर्षे जुनियरलाई पनि हुनेछ ।
राफिन्हा (ब्राजिल)
बार्सिलोनाका स्टार खेलाडी राफिन्हाको लागि यो विश्वकप विशेष बनाउने अवसर छ । क्लब स्तरमा उनको प्रदर्शनले सबैलाई लोभ्याएको छ । आक्रामक मिड्फिल्डरले ब्राजिलका लागि ३८ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । राफिन्हाले विश्वकपमा भने अहिलेसम्म एउटै गोल गर्न सकेका छैनन् । विश्वकपमा उनले ५ खेल खेलेका छन् । बार्सिलोनाको लागि २०२४–२५ को सिजन सुरु भएयता ९० खेलमा ५५ गोल गरिसकेका छन् ।
एर्लिङ हालान्ड (नर्वे)
इङ्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड पनि गोल्डेन बुटको दाबेदार हुन् । अन्तर्राष्ट्रिय फुटबलमा उनले नर्वेका लागि ५० खेलमा ५५ गोल गरिसकेका छन् । गत अक्टोबरमा उनी विश्व फुटबल इतिहासकै छैटौं तथा पछिल्लो ५३ वर्षमा ५० भन्दा कम खेलमा ५० अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कोसेढुंगा पार गरेका थिए । म्यानचेस्टर सिटीका लागि पनि हालान्डले नियमित गोल गरिरहेका छन् । उनी विपक्षी रक्षापंक्तिका लागि ठूलो चुनौती बन्दै आएका छन् ।
मिकेल ओयार्जाबाल (स्पेन)
रियाल सोसिडाडका कप्तान मिकेल ओयार्जाबालले स्पेनका लागि ५३ अन्तर्राष्ट्रिय खेलमा २५ गोल गरेका छन् । घुँडाको गम्भीर चोटका कारण कतार विश्वकपको टिममा अनुपस्थित रहेका २९ वर्षे ओयार्जाबाल यसपाली स्पेनले धेरै आशा गरेको फरवार्डमध्ये एक हुन् । दुई वर्षअघि शीर्ष २५ खेलाडीको सूचिमा पर्न पनि संघर्षरत अवस्थामा रहेका उनी अहिले भने स्पेनिस टोलीका प्रभावशाली स्ट्राइकर हुन् । पेड्री, लामिन यमल र निको विलियम्सजस्ता खेलाडीबाट अग्रपंक्तिमा साथ पाउने कारण ओयार्जाबाल यसपालीको विश्वकपमा गोल्डेन बुट जित्ने सम्भावित खेलाडी हुन् ।