साइप्रस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने बताएका छन् । लोकतन्त्रमा शान्तिपूर्ण विरोध, असहमति प्रकट गर्ने अधिकार र संवैधानिक जवाफदेहिता सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा शनिबार निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक परिवर्तनको नाममा हिंसालाई प्रोत्साहन गर्न नहुने बताए । उनले युवा पुस्ताका आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि उत्तरदायी लोकतान्त्रिक संस्थाहरू आवश्यक रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली जनताका तर्फबाट एकेललाई शतवार्षिकीको शुभकामना दिँदै ज्ञवालीले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सामाजिक न्याय र मानव मुक्तिका लागि पार्टीले गरेको संघर्षको प्रशंसा गरे ।
उनले समकालीन विश्वमा ‘शक्ति नै सत्य हो’ भन्ने खतरनाक प्रवृत्ति पुनः देखा परेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमसत्ता र संवादलाई शक्तिको प्रयोगभन्दा माथि राख्नुपर्ने बताए । शान्ति शक्तिशाली राष्ट्रहरूको विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ थियो ।
पुँजीवादले असमानता बढाएको टिप्पणी
ज्ञवालीले समकालीन पुँजीवादको संरचनात्मक संकटका कारण विश्वमा सम्पत्ति र अवसरको असमानता चुलिएको बताए । विश्वमा पर्याप्त सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता हुँदाहुँदै पनि अर्बपतिहरूको सानो समूहले आर्थिक संरचनामाथि नियन्त्रण कायम गरेको र ठूलो जनसंख्या चरम गरिबीमा रहेको उनको टिप्पणी थियो ।
उनले श्रमिकहरूको रोजगारी असुरक्षा, वास्तविक ज्यालामा स्थिरता, सामाजिक सुरक्षामा कटौती तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकताको व्यापारीकरणलाई पुँजीवादी व्यवस्थाका गम्भीर समस्या बताए ।
प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र अल्पकालीन नाफामा आधारित आर्थिक मोडेलले वातावरणीय संकट निम्त्याएको उल्लेख गर्दै उनले जलवायु न्यायलाई विश्वव्यापी राजनीतिक एजेन्डा बनाउनुपर्ने बताए ।
नेपालमा गत अगस्ट २६ मा भएको विनाशकारी विपद्लाई जलवायु संकटको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्दै उनले त्यसबाट भएको मानवीय तथा पूर्वाधार क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
कृत्रिम बौद्धिकता, रोबोटिक्स र डिजिटल प्रविधिको विकास मानव कल्याणका लागि उपयोगी हुन सक्ने भए पनि कर्पोरेट नियन्त्रणमा रहँदा रोजगारी विस्थापन, निगरानी विस्तार र सम्पत्ति केन्द्रीकरणको जोखिम बढ्ने उनले बताए । प्रविधि मानवताको सेवामा र लोकतान्त्रिक नियन्त्रणभित्र रहनुपर्ने उनको धारणा थियो ।
समाजवादको विकल्प अझै सान्दर्भिक
ज्ञवालीले समाजवादलाई विगतको संघर्षको स्मृतिमा सीमित गर्न नहुने बताउँदै असमानता र शोषणको अन्त्यका लागि यो अझै आवश्यक ऐतिहासिक विकल्प रहेको उल्लेख गरे ।
मार्क्सवादलाई जड सिद्धान्तका रूपमा नभई बदलिँदो राष्ट्रिय परिस्थिति र सामाजिक आवश्यकताअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । प्रत्येक देशले आफ्नो इतिहास, संस्कृति र लोकतान्त्रिक आकांक्षाअनुसार समाजवादतर्फको बाटो तय गर्नुपर्ने उनले बताए ।
अति दक्षिणपन्थी लोकरिझ्याइँ, अधिनायकवाद र नवफासीवादी प्रवृत्तिको पुनरुत्थानले लोकतन्त्र, मानव अधिकार र अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा पैदा गरेको भन्दै उनले यसको प्रतिरोध गर्न वामपन्थी शक्तिहरूले श्रमिक, युवा, किसान, महिला, बुद्धिजीवी र सीमान्तकृत समुदायसँग सम्बन्ध बलियो बनाउनुपर्ने बताए ।
एमालेको अनुभव र नेपालको राजनीतिक यात्रा प्रस्तुत
ज्ञवालीले एमालेको राजनीतिक दर्शन र नेपालको लोकतान्त्रिक आन्दोलनबारे पनि अन्तर्राष्ट्रिय मञ्चमा धारणा राखे । एमाले मार्क्सवाद र जनताको बहुदलीय जनवादबाट निर्देशित रहेको उल्लेख गर्दै उनले राजनीतिक बहुलवाद, संवैधानिक शासन, बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक अधिकारलाई सामाजिक-आर्थिक रूपान्तरणसँग जोड्ने अवधारणा नै जनताको बहुदलीय जनवाद भएको बताए ।
नेपालमा निरंकुश शासनविरुद्धको संघर्षमा एमालेले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले २००६ को जनआन्दोलन, राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनालाई नेपालको राजनीतिक यात्राका महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई उल्लेख गर्दै उनले आर्थिक वृद्धिसँगै सामाजिक न्याय, कमजोर वर्गको संरक्षण र सार्वजनिक लगानीमार्फत मानवीय क्षमताको विकास हुनुपर्ने बताए । सरकारमा रहँदा एमालेले सामाजिक न्याय, सामाजिक सुरक्षा, समावेशीकरण, राष्ट्रिय हित र पूर्वाधार विकासका क्षेत्रमा योगदान गरेको उनको दाबी थियो ।
नेपालको आन्तरिक असन्तुष्टिलाई भू-राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुनेमा जोड दिँदै ज्ञवालीले एमाले संवैधानिक राजनीति, शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा र जनादेशको सम्मानप्रति प्रतिबद्ध रहेको बताए ।
नेपालको परराष्ट्र नीति सार्वभौम समानता, भौगोलिक अखण्डता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले राष्ट्रहरू आकार, सम्पत्ति र सैन्य शक्तिमा फरक भए पनि मर्यादाका दृष्टिले समान हुने बताए ।
अन्तर्राष्ट्रिय वामपन्थी एकतामा जोड
ज्ञवालीले विश्वव्यापी वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न र बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताए ।
श्रमिक अधिकार, लोकतान्त्रिक स्वतन्त्रता, सामाजिक सुरक्षा, शान्ति र जलवायु न्यायका लागि वामपन्थी शक्तिहरूले संयुक्त पहल गर्नुपर्ने उनको भनाइ थियो ।
उनले द्वन्द्वको सट्टा सहयोग, प्रभुत्वको सट्टा सार्वभौम समानता र साझा समृद्धिमा आधारित बहुध्रुवीय विश्व व्यवस्थाका लागि मिलेर काम गर्न आह्वान गरे ।