वासिङ्टन । मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच बिहीबार फेरि हवाई आक्रमण र मिसाइल प्रहार भएको छ । कुवेत र बहराइनसहितका संवेदनशील क्षेत्रमा तनाव फैलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रोकिएका वार्ता भङ्ग गरेको भन्दै ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् ।
अमेरिकी सेनाले दोस्रो चरणको हवाई आक्रमण सुरु गरेको केही समयपछि इरानले पनि प्रतिक्रिया स्वरूप मिसाइल आक्रमण गरेको बताइएको छ । बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालयलाई लक्षित गरेर तनाव थप चुलिएको छ ।
इरानका विभिन्न सहरहरूमा भएका नयाँ हवाई आक्रमण र त्यसको बदलामा भएका प्रतिआक्रमणले शान्ति वार्ताको प्रयास ठप्प भएको सङ्केत देखिएको छ । इरानले हर्मुज जलघाँटीमा आफ्नो रणनीतिक पकड कायम राख्ने अडान लिएको छ भने लेबनानमा हिजबुल्लाहमाथि इजरायलको निरन्तर आक्रमणले पनि कूटनीतिक प्रयास कमजोर बनाएको बताइएको छ । सोमबारदेखि इरान र इजरायलबीच समेत प्रत्यक्ष आक्रमण भएको उल्लेख छ ।
यसअघि बुधबार इरानबाट मिसाइल प्रहार र अमेरिकी हवाई आक्रमणबीच पहिलो चरणको ठूलो झडप भएको थियो । त्यस क्रममा बहराइन, कुवेत र जोर्डनमा मिसाइल प्रहार गरिएको र अमेरिकी हेलिकप्टर खसालिएको घटनापछि स्थिति झनै तनावपूर्ण बनेको हो ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार बिहीबार बिहान सूर्य उदाउनुअघि इरानमा लक्षित हवाई आक्रमणको दोस्रो चरण सम्पन्न गरिएको हो । उक्त आक्रमणमा सैन्य निगरानी, सञ्चार र हवाई रक्षा प्रणालीलाई निशाना बनाइएको बताइएको छ । अमेरिकी वायुसेना, मरीन र नौसेनाले संयुक्त रूपमा सञ्चालन गरेको आक्रमणको क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
आक्रमणपछि तेहरान वरपरका क्षेत्र, साथै बन्दर अब्बास र दक्षिणी भूभागमा शक्तिशाली विस्फोटहरू सुनिएको स्थानीय स्रोतहरूले जनाएका छन् ।
यसैबीच कुवेतले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । देशका अधिकारीहरूका अनुसार लगातार इरानी आक्रमणको जोखिम बढेपछि उडानहरू अन्य विमानस्थलतर्फ मोडिएको छ । कुवेतको हवाई रक्षा प्रणालीले आकाशमा प्रवेश गरेका केही मिसाइललाई रोक्ने प्रयास गरेको पनि बताइएको छ ।
हालैका दिनमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष प्रहार भएको र त्यस घटनामा एक जनाको मृत्यु तथा दर्जनौँ घाइते भएको विवरण पनि सार्वजनिक भएको छ ।
बहराइनमा पनि मिसाइल चेतावनी साइरन बजाइएको छ । अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको यस टापु राज्यमा सम्भावित आक्रमणको जोखिमबारे सुरक्षा सतर्कता उच्च पारिएको छ । कुवेत र बहराइन दुवै देशले आफ्नो हवाई रक्षा प्रणालीलाई पूर्ण तयारी अवस्थामा राखेका छन् ।
क्षेत्रीय रूपमा फैलिँदै गएको यो सैन्य तनावले मध्यपूर्वलाई थप गम्भीर सङ्कटतर्फ धकेलिरहेको र कूटनीतिक वार्ताका प्रयासहरू निरन्तर असफल भइरहेका देखिएको छ ।
इरानलाई २२ देशको चेतावनी
संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन् । ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सहभागी देशहरूले आफ्नो भूमिमा मानिसहरूलाई मार्ने, अपहरण गर्ने, उत्पीडन गर्ने, धम्क्याउने वा अन्य प्रकारका आक्रमण गर्ने प्रयासले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रत्यक्ष चुनौती खडा गरेको बताएका छन् । उनीहरूले यस्ता गतिविधि तत्काल अन्त्य गर्न इरानलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) अन्तर्गतका गुप्तचर सेवाहरू तथा यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट, पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै घातक षड्यन्त्र तथा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।
संयुक्त वक्तव्यमा हस्ताक्षरकर्ताहरूले आफ्ना नागरिक र देशलाई यस्ता खतराबाट सुरक्षित राख्ने विषयमा आफूहरू एकजुट रहेको उल्लेख गर्दै इरानले अब यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन ।
ती देशहरूले इरानसँग सम्बन्धित मानिएको समूह ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ मार्फत युरोपका विभिन्न स्थानमा यहुदी समुदाय, इरानी पत्रकार तथा अमेरिकी पत्रकारहरूलाई लक्षित गरी आक्रमणको अभियान सञ्चालन गरिएको दाबी पनि गरेका छन् । उक्त अभियानको पछाडि इरानको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको उनीहरूको आरोप छ ।
यसैबीच, कम परिचित उक्त समूहले लन्डनको गोल्डर्स ग्रीन क्षेत्रमा रहेका सभास्थल र यहुदी समुदायसँग सम्बन्धित विभिन्न केन्द्रहरूमा हालै भएका श्रृङ्खलाबद्ध आगजनी घटनाको जिम्मेवारी लिएको बताइएको छ । गोल्डर्स ग्रीन लन्डनको ठूलो यहुदी समुदाय बसोबास गर्ने क्षेत्रका रूपमा परिचित छ ।
इरानले भने यस्ता आरोपबारे तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर पश्चिमी मुलुकहरू र इरानबीच सुरक्षा, क्षेत्रीय प्रभाव तथा गुप्त गतिविधिसम्बन्धी विवाद पछिल्ला वर्षहरूमा लगातार चर्किँदै आएको छ । पछिल्लो संयुक्त चेतावनीलाई पनि इरानमाथि बढ्दो कूटनीतिक दबाबका रूपमा हेरिएको छ ।
कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्य पूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो सङ्कटमा तानिएको उल्लेख गर्दै यसको प्रभाव उक्त क्षेत्र भन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाएका छन् । पछिल्लो समयमा बढेको आक्रमणले अवस्था थप बिग्रन लागेको उनले बताएका छन्, जहाँ युद्धविरामको समयमा पनि गोलावारी जारी छ । उनले कुनै पनि पक्ष आक्रामक नबनी थप जोखिमलाई कम गर्नु पर्नेमा जोड दिएका छन् । सबै पक्षले कूटनीतिक समाधानका लागि भुमिका खेल्नु पर्ने बताउदै उनले अब कुनै पनि बहानामा आक्रमण गर्न नहुने बताए ।
मध्यपूर्व र खाडी क्षेत्रमा द्रुत गतिमा विकसित भइरहेको द्धन्दरथ अवस्थाको बीचमा, कुवेत, जोर्डन र बहराइनका हवाई रक्षा प्रणालीले हवाई लक्ष्यहरू रोक्ने चेतावनी जारी गरेका छन् । अमेरिकी आक्रमणको प्रतिक्रियामा इरानी अधिकारीहरूले स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरे पछि द्धन्दका प्रमुख घटनाक्रमहरू अगाडी बढेको जनाइएको छ ।
इरानको आइआरजिसीलाई उद्धृत गर्दै अल जजिराले अमेरिकी आक्रमणको प्रतिक्रियाका लागि कुवेतको अली अल–सलेम र अहमद अल–जाबेर र बहराइनको शेख इसा एयर बेससहित १८ वटा अमेरिकी सैन्य क्षेत्रहरुलाई लक्षित गरिएको बताएको छ ।
तनाव बढ्दै जाँदा, आईआरजिसीका कमान्डर जनरल सैयद माजिद मौसवीले अमेरिकालाई चेतावनी दिदै यदि अमेरिकाले स्ट्रेट अफ होर्मुजको सुरक्षामा धम्की जारी राख्यो भने यस क्षेत्रलाई रणभुमिमा परिणत गर्ने बताएको प्रेस टिभीले रिपोर्ट गरेको छ ।
एजेन्सीको सहयोगमा