नेभिगेशन
मुख्य कुरा

घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए, मेनपावर अघिल्लो राति नै भाग्यो

काठमाडाैँ । मरिण गाउँपालिका–१, सिन्धुलीका सुजन बम्जनलाई गत महिना साथीहरूले दुबईमा वैदेशिक रोजगारीको लोभ देखाए । राम्रो काम, धेरै आम्दानी र छिट्टै विदेश जान पाइनेगरी काम आएको भन्दै साथीहरूको सल्लाहमा बम्जनले सिन्धुली नै घर भएकी माया घलानलाई सम्पर्क गरे । मायाले पनि साथीहरूले भने जस्तै गरी सुजनलाई छिट्टै विदेश उड्न पाइने आश्वासन दिइन् र प्रक्रिया सुरु गर्न भनिन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मायाको कुरा पछि सुजन काठमाडौँ आए र सामाखुसीमा भएको बायोमेइ इन्टरनेशनल नामक कम्पनीमा मायासँगै गए ।  कम्पनीमा भेटिएकाहरुले  सुजनलाई आफूहरूले वर्षौँदेखि नेपाली युवालाई विभिन्न देशमा रोजगारीका लागि पठाउने गरेको भन्दै आकर्षक सेवा सुविधा भएको दुबईको कम्पनीमा पठाउने बाचा गरे । 

Ncell
Extreme Energy

म्यानपावर कम्पनीले सुरुमा सुजनलाई ५० हजार रुपैयाँ लाग्ने बतायो । सोहीअनुरूप सुजनले आफूलाई कम्पनीसम्म पुर्याउने एजेन्ट मायाको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा गरे र राहदानीसमेत उनैलाई दिए । पैसा र राहदानी बुझाएपछि उनी घर फर्किए । केही समयपछि मेनपावरबाट सुजनलाई स्वास्थ्य परिक्षण गर्न काठमाडौँ बोलाइयो । कम्पनीले भनेअनुरूप नै सामाखुसीको आशिर्वाद स्वास्थ्य सेवा क्लिनिकबाट ५ हजार ५ सय रुपैयाँ तिरेर सुजनले आफ्नो स्वास्थ्य जाँच गराए । त्यसको केहीदिन मै उनलाई अफर लेटर आएको बताइयो ।


दुबईको कम्पनीबाट भिसा आएका कारण घरबाट बिदाई भएर आउन भन्दै मेनपावर कम्पनीले सुजनलाई बोलायो । पुस १९ गते सुजन घरबाट बिदाइ भएर दुबई उड्न काठमाडौँ आए । कम खर्चमै वैदेशिक रोजगारीका लागि अवसर आएको भन्दै घरबाट बिदा भएर काठमाडौँ आएकै दिन सुजन मेनपावर रहेकाे  सामाखुसीकाे टाउन प्लानिङ पुगे । तर, पहिले कागजात बुझाउन मायासँगै गएको मेनपावरको कोठा खाली थियो । बोर्ड समेत पनि थिएन । वरिपरिका मानिसलाई मेनपावर कम्पनीबारे सोधखोज गरे । तर, स्थानीयहरुले अघिल्लो रात नै कम्पनी यहाँबाट उठाएर अन्तै लगिएको बताए । 

घरबाट माला लगाएर विदेश जान निस्किएका सुजन सामाखुसी टाउन प्लानिङको मेनपावर भागेको कोठा अघि थुचुक्कै बसे । ‘भोलीको उँड्ने टिकट छ भन्थे, तै पनि आजै भए पनि मेनपावर पुग्छु भनेर आएको दिन नै अफिस गएँ तर राति सबै उठाएर भागेछ,’ सिधाकुरासँग सुजनले आफ्नो व्यथा बिसाए, ‘अब कहाँ जाने परिवारलाई के भन्ने ?’ सुजनका अनुसार भागेको मेनपावर कम्पनीसँग सुजनको सक्कलै पासपोर्ट समेत छ ।  

घरबाट विदेश जान काठमाडौँ आएको एक हप्ता बित्दासमेत मेनपावर कम्पनी सम्पर्कमा नआएपछि उनी चिन्तित छन् । ‘ठगी गर्ने गिरोह पनि सम्पर्कमा आएन, परिवारले पैसा र राहदानी नलिई घर नफर्कनु भन्ने दबाब दिएका छन्,’ उनले भने । 

000

इन्द्रावती गाउँपालिका–८ सिन्धुपाल्चोकका सुवास बयलकोटीलाई दुबईमा ट्रली बोईको कामका लागि राम्रो अफर आएको बताए पछि उनी पनि बायोमेइ कम्पनीमा पुगे । एक हजार ९ सय २० दिराम (झण्डै ७० हजार) तलब हुने भन्दै उनीमार्फत ५० हजार र राहदानी लिइयो । सबै प्रक्रिया पूरा गरेका उनलाई कम्पनीले पुस २२ गते उडान भएको भन्दै काठमाडौँ बोलायो । तर, उनी काठमाडौँ आउनुअघि नै उक्त गिरोह फरार भइसकेको थियो ।

‘एक जना अंकल हुनुहुन्थ्यो, उहाँले १९ गते तपाईँको भिसा आयो, भिसा हेर्न आउनुस् भन्दै बोलाएका थिए । तर, काठमाडौं आउँदा अघिल्लो राति नै संचालकसहित सबै कर्मचारी फरार भइसकेका रहेछन्,’ सुवासले  सिधाकुरासँग भने ।


सुवासकै गाउँबाट अन्य साथीहरू पनि सोही कम्पनीमार्फत दुबई जानका लागि तयारी गरेका थिए  । उनीहरु सबैलाई फरक फरक मितिमा भिसा आएको बताउँदै काठमाडौँ बोलाएका कम्पनीका सञ्चालकहरू १८ गते नै फरार भएपछि उनीहरूको बिचल्ली भएको छ । ‘परिवारबाट बिदाइ भएर आएका छौँ,’ सुवासले भने, ‘फिल्मी शैलीमा लुटियौँ । पहिलो पटक विदेश जाने तयारी गरिएको थियो । तर, पहिलो प्रयासमै ठगिएँ ।’

सिधाकुराको कार्यालयमा आफू ठगिएको भन्दै आएका एक दर्जन युवाहरुकाअनुसार करिब २ सय जनाबाट सो गिरोहले एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेर फरार भएको छ । १८ गते साँझ कार्यालय नै सारेर भागेको गिरोहले पैसा उठाएका र पासपोर्ट लिएका सबैलाई दुबई उड्न भन्दै १९ गते देखि २५ गतेसम्मको समय दिएको पीडितहरूले बताएका छन् । 

एजेन्टले उठाएका थिए २ सय जनासँग पैसा र पासपोर्ट
पीडित युवाहरुकाअनुसार दुबई जान राम्रो कम्पनीबाट अफर आएको कुरा सबै भन्दा पहिले एजेन्टहरूले बताएका थिए । छिट्टै काम हुने भन्दै आफूहरूसँग चिनेकै गाउँका मानिसहरूले पासपोर्ट र पैसा उठाएका थिए । काम हुनेमा शंका नगर्न भन्दै उनीहरुले जनही ५० हजारका दरले पैसा र पासपोर्ट पनि लिएको पीडितहरू बताउँछन् । 

सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाका पीडितहरूले सिन्धुलीकी माया घलानलाई  मेनपावरमा बुझाउन पैसा र पासपोर्ट दिएका थिए । मायाको बैंक खाता र नगद नै पैसा दिएको पीडितहरूको दाबी छ । ‘हामीले पैसा एजेन्टको नाममा हालिदिएको हो । राहदानीसमेत एजेन्टलाई नै दिएका हौँ ।  संचालकहरुसँग हामीले भेटघाट नै गर्न पर्दैनथ्यो । अब संचालकहरु पनि को हुन्, केही थाहा छैन ।’ पीडित अर्का एक युवा बुद्धिसागर चौलागाईंले भने ।


पीडितसँगै सिधाकुरामा आएकी एजेन्ट (माया) ले पनि पीडितहरूको पैसा र पासपोर्ट कम्पनीलाई बुझाएको स्वीकार गर्छिन् । आफूले काम हुन्छ भनेर सहयोग गरेको तर आफूलाई समेत ठगेर कम्पनी फरार भएको भन्दै घलानले आफू पनि पीडित भएको दाबी गरिन् ।

आफूसँग कारोबार गरेको करिब २ दर्जन बढी युवाहरू यसैगरी ठगिएको भन्दै उनले बुझाएको पैसा र पासपोर्ट फिर्ता एवम् दोषीलाई कारबाहीका लागि सहयोग गर्ने बताइन् ।

‘म एजेण्ट होइन, मैले त चिनेका भाइहरूलाई सहयोग गरेको हुँ,’ मायाले भनिन् ,‘तर हामी सबै ठगियौँ ।’ उनकाअनुसार फरार भएका कम्पनीका सञ्चालकहरूले यही भिसाको प्रलोभन देखाएर थप २०० भन्दा बढीसँग पैसा उठाएका छन् । उनले ठगहरुलाई पक्राउ गर्न आफूले सघाउने पनि बताइन । भोगेकाहरूलाई पक्राउका लागि सहजीकरण गरिदिन भन्दै उनले पीडकहरू भागेको सिसिटिभी फुटेज पनि ल्याएको बताइन् । 

नगद बुझेर एउटा चिर्कटोमा छाप 
पीडित युवाहरुकाअनुसार उनीहरूले ५० हजार दरले मेनपावरले मागेको रकम आ–आफ्नो एजेन्टको खातामा पठाएका हुन् । खातामा पैसा आएको र उक्त पैसा मेनपावर कम्पनीमा बुझाएको एजेन्ट मध्येकी एक माया बताउँछिन् । मायाकाअनुसार उनले कम्पनीमा पैसा नगदै बुझाएकी हुन र त्यो बापत एउटा कागजको चिर्कटो  उनले प्रमाणको रुपमा पाएकी छिन् । उनले सिधाकुरालाई उपलब्ध गराएको कागजको एक टुक्रामा केही रकम उल्लेख छ भने बीचमा बायोमेइ इन्टरनेश्नल नामक कम्पनीको छाप छ।


मायाकाअनुसार सो कम्पनीको एक जना सरलाई मात्रै उनले चिनेको तर सम्पर्क नभएको दाबी गरिन् । उक्त बायोमेइ इन्टरनेश्नल नामक कम्पनी देखाएर ठगी गर्ने प्रमुख गिरोहको रुपमा राजन प्रसाद अधिकारी र चम्पा तामाङ थापा रहेको मायाको दाबी छ । उनीहरु १८ गते राती नै कम्पनी उठाएर भागेको उनी बताउँछिन् । उनले संकलन गरेको सिसिटिभी फुटेज भिडियोमा एउटा गाडीमा कम्पनीको बोर्डसहितको सामान लोड गर्दै गरेको देखिन्छ ।   

तस्विर : नक्कली मेनपावर कम्पनी (बायोमेई इन्टरनेशनल)का संचालक सदस्य

फर्जी कम्पनी
पीडितहरूले बायोमेइ इन्टरनेश्नल नामक मेनपावरमा आफ्नो पासपोर्ट र पैसा बुझाएको बताएका छन् । तर, हामीले सो कम्पनीबारे बुझ्दा नेपालमा उक्त कम्पनी विदेशमा श्रमिक  पठाउने गरी दर्ता नै नभएको पाइएकाे छ । उक्त कम्पनी वैदेशिक रोजगार विभागमा समेत अस्तित्वमा देखिँदैन। विभागकाअनुसार दर्ता र अनुमति नै नलिई भएको सबै कारोबार अवैध हो । यो घटना सरासर गलत र ठगी भएको भन्दै विभागले उजुरी दिन पीडितहरूलाई आग्रह गरेको  छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेती भन्छन्, ‘वैदेशिक रोजगारीका सिलसिलामा जस्तासुकै ठगी भएपनि विभागले हेर्छ । उहाँहरूले पैसा बुझाएको प्रमाण नभएको भएपनि संख्यात्मक उपस्थित भएर उजुरी गरे हामी छानबिन अघि बढाउँछौँ ।’

२ सय बढी युवाहरुको पैसा र राहदानी लिएर फरार भएको गिरोहले कम्पनीमा कार्यरत कर्मचारीलाई पनि तलब र सेवा सुविधा दिएका छैनन् । सोही कम्पनीमा कार्यरत एक कर्मचारीका अनुसार उनी उक्त कम्पनीमा विगत २ महिनादेखि कार्यरत थिइन् । उक्त कम्पनीमा आफूहरुलाई एनजिओ भनेर काम लगाइएको उनकाे दाबी छ  । ‘हामीलाई म्यानपावर कम्पनी भनेर कहिल्यै थाहा दिइएन । मान्छे आउने र जाने क्रम चलिरहन्थ्यो । हामी काम गरिरहन्थ्यौँ ।’, उनले भनिन् ‘२ महिनादेखि तलब आएको थिएन, तैपनि हामीले काम गरिरहेका थियौँ ।  १८ गते एक्कासी हामीलाई भोलिदेखी अफिस नआउनु, तिमीहरुको तलब खातामा हालिदिन्छौँ भने हामी गएनौँ । उनीहरुले त्यही राति फरार भएछन् ।’ २ महिनासम्म आफूले त्यहाँ काम गरेपनि वैदेशिक रोजगारीका लागि कोही पनि नेपालीलाई उक्त कम्पनीले पठाएको जानकारी नभएकाे पनि उनी बताउँछिन् ।  



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...