नेभिगेशन
नेताका कुरा

एमाले अध्यक्ष ओली र सल्लाहकार सदस्य सुरेन्द्र मानन्धरबीच भनाभन

काठमाडौँ । पार्टी पुनगर्ठनबारे केन्द्रीय सल्लाहकार परिषद्सँगको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली र सदस्य सुरेन्द्र मानन्धरबीच नोकझोक भएको छ । 

छलफलमा सहभागी एक नेताकाअनुसार मंगलबार एमाले पुनर्गठन कार्यदलले केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरुसँग पार्टी पुनर्गठनबारे छलफल गरिरहेको थियो । बैठक सञ्चालन प्रचार विभाग प्रमुख निरज आचार्यले गरेका थिए । बैठक चलिरहँदा अध्यक्ष ओली आइपुगेका थिए । ओली आइपुग्दा सुरेन्द्र मानन्धर बोलिरहेका थिए । जसै अध्यक्ष आइपुगे निरज आचार्यले उनलाई आसनग्रहण गराए । आसनमा बस्न नपाउँदै ओली बोल्न थालिहाले ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नो कुरा नसकिँदै ओली बोल्न थालेपछि मानन्धर क्रुद्ध भए । 'हामी कुनै हालतमा सुध्रँदैनौ, हामीलाई सुध्रनु छैन भन्ने कुराको प्रमाण हो यो,' उनले भनाइ उद्धृत गर्दै ती सदस्यले भने, 'हामी पार्टी बनाउने कुरा गरिराखेका छौं । तर नेतृत्वलाई आफ्नै कुरा सुनाउन हतार छ । यसले पार्टी बन्दैन भन्ने कुराको संकेत गर्छ ।' 

Ncell
Extreme Energy

मानन्धरले ओली बोलेकाप्रति असन्तुष्टि राखेपछि अध्यक्षले पार्टी अनुशासनको पाठ पढाउन थालेको बैठकमा सहभागी अर्का नेताले बताए । उनकाअनुसार ओलीले पार्टीको स्थापित विधि मूल्य मान्यता हुने भन्दै यसको परिपालना नै पार्टी अनुशासन भएको बताएका थिए । 

त्यसपछि सल्लाहकार सदस्य उषाकिरण तिम्सेनाले मानन्धरले भनेको कुरा सही भएको बताउँदै नेतृत्वले तलका सुझावहरु सुन्नुपर्ने बताएकी थिइन् । त्यसपछि ओली उनीतर्फ पनि खनिएका थिए । उनलाई 'चुप लाग नानी' भनेको बैठकमा सहभागी ती नेताको दाबी छ । 

बैठकको वातावरण असहज बनेपछि केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख निरज आचार्यले सहजीकरण गर्न खोजेका थिए । उनले 'सुरेन्द्र कमरेड त बोलिसक्नुभयो त' भनेर अर्का सदस्यलाई बोल्न दिन खोजेपछि मानन्धरले प्रतिवाद गरेका थिए । 'हामी १३ वर्षदेखि केन्द्रीय कमिटीमा छौं । पार्टी पद्धति, विधि हामीलाई थाहा छ । मैले आफ्ना कुरा टुंग्याएको छैन । पार्टी आन्दोलनका बारेमा गम्भीर समीक्षा गर्नुपर्नेछ । नेतृत्वमा सुन्ने धैर्य हुनुपर्छ,' मानन्धरले भनेका थिए । 

मानन्धरले यति भने पनि ओली बोल्न रोकिएनन् । उनले करिब २५ मिनेट बोलेका थिए । बोल्ने क्रममा उनले पार्टी पुनर्गठन भन्दा पुनर्जागरण र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए । 

पार्टी पुनर्गठन सुझाव कार्यदलले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सल्लाहकार परिषद्सँग छलफल गरेको थियो । एमालेमा १०औ केन्द्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भएका तर ११औ महाधिवेशनमा चुनाव जित्न नसकेकाहरु स्वत: सल्लाहकार सदस्य हुने व्यवस्था छ । 

छलफल ओली आउनुअघि नै बोलेका सल्लाहकार सदस्य सोम मिश्रले समानुपातिक प्रणालीबाट एउटै व्यक्तिलाई बारम्बार अवसर दिने गरिएको भन्दै आपत्ति जनाएका थिए । 

उनले 'रामबहादुर थापा बादल र गुरु बरालजस्तालाई हो समानुपातिक प्रणाली, हाम्रा यस्तै शैलीले जनता हामीसँग रुष्ट छन्' भन्ने धारणा राखेका थिए । उनले पार्टी पुनर्गठन पुनर्जागरणको  पहिलो शर्त भएको पनि बताएका थिए ।

केन्द्रीय सल्लाहकार सदस्य उषाकिरण तिम्सेनाले पार्टी नेतृत्वप्रति (ओली) सम्पूर्ण बालिग रुष्ट रहेको र उनीहरुले प्रश्न गरिराखेको बताउँदै पार्टीले त्यसको सम्बोधन गर्नुपर्ने बताएकी थिइन् । 
'आजको समाजको सम्पूर्ण तह र तप्काका नागरिकहरु सम्पूर्ण बालिग मानिसहरुले अध्यक्ष ओलीलाई प्रश्न गरिराखेका छन् । यो कुरा हामीले सुन्ने कि नसुन्ने ? सुन्ने हो भने पुनर्गठन गर्ने कि नगर्ने ?' उनको भनाइ उद्धृत गर्दै एक नेताले बताए । 

तिम्सेनाले पार्टी यो अवस्थामा आइपुग्नुको भागिदार सबै हुनुपर्ने र सबैभन्दा बढी जिम्मेवारी नेतृत्वको हिसाबले ओलीले लिनुपर्ने बताएकी थिइन् । पार्टीमा अवसरको केन्द्रीकरण गरिएको, कुनै जिम्मेवारी प्राप्त गर्ने योग्यता क्षमता हुँदा हुँदै पनि 'बा'लाई भेट्नै पर्ने, खुसी बनाउनैपर्ने जस्ता संस्कृति निर्माण गरेर पार्टी अद्योगतितर्फ लगिएको बताएकी थिइन् ।   

त्यस्तै धारणा राख्ने अरु सदस्यहरुले नेतृत्वले षडयन्त्र भयो, हामीमाथि घेराबन्दी भयो, सामाजिक सत्ता अल्गोरिदमले कब्जा गर्यो भन्दै दोष अरुतिर देखाउने गरेको भन्दै आफूमाथि निर्मम समीक्षा गर्न भनेका थिए । 'आज हामीले अरुतिर दोष देखाइरहेका छौं । समाज अल्गोरिदमले कब्जा गरेको हो भने हामी किन चुक्यौ ? आखिर सत्ता त हामीसँगै थियो । त्यसकारण यो अरुलाई दोष देखाउने कुरा होइन । आफ्नो कमीकमजोरी स्वीकार्ने र आन्दोलनलाई पुनर्गठन गर्ने कुरा हो,' धारणा राख्ने क्रममा सदस्यहरुले भनेका थिए । 

पुनर्गठन कार्यदलले तहगत कमिटीहरुसँगको छलफल सकेको छ । अब बिहीबार बस्ने कार्यदलको बैठकले यी सुझावहरुलाई एकीकृत गरेर प्रतिवेदन तयार पार्नेछ । र सचिवालयमा पेस गर्नेछ । अब बस्ने केन्द्रीय कमिटी बैठकले प्रतिवेदनमा छलफल गरेर पुनर्गठनको योजना तयार पार्ने कार्यदलका सदस्यहरु बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना...
देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् ।
संसद् मन्त्रीले सांसद  थर्काउने थलो होइनः युवराज दुलाल

संसद् मन्त्रीले सांसद थर्काउने थलो होइनः युवराज दुलाल

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन् ।
रास्वपा सचेतक परियारको प्रश्न– सडकमा दुई–चारवटा गाडी तेर्स्याएर नेपाली मिडिया तर्सिन्छ र ?

रास्वपा सचेतक परियारको प्रश्न– सडकमा दुई–चारवटा गाडी तेर्स्याएर नेपाली मिडिया तर्सिन्छ र ?

हिजो केही सञ्चारगृहका गेटमा सवारी साधन तेर्स्याइएको प्रसंगमा उनले भने– ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने— सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले...