नेभिगेशन
समाज
एमाले पुनर्गठन बहस

शंकर पोखरेल फकाउँदै केपी ओली, हाताहाती खोज्दैछन् पोखरेल

काठमाडौँ । नेकपा एमालेभित्र पार्टी पुनर्गठनको मुद्दा पेचिलो बनिरहँदा र कार्यदलले प्रतिवेदन लेख्न थाल्दा अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेललाई फकाउन थालेका छन् ।

एमाले पुनर्गठन कार्यदलले प्रतिवेदन तयार पार्ने जिम्मा संयोजक रामबहादुर थापा 'बादल' र महासचिव पोखरेललाई दिएको छ । गत असार २५ गते बसेको बैठकले प्रतिवेदन तयार पार्ने जिम्मा उनीहरूलाई दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक सदस्यले बताएअनुसार प्रदेश, विभाग, निकायका ७० प्रतिशतभन्दा बढी पदाधिकारी एवं सदस्यहरूले पुनर्गठनको पक्षमा धारणा राखेका छन् । कार्यदलले ८ वटै प्रदेशस्तरीय कमिटी, केन्द्रीय विभाग, निकायबाट छुट्टाछुट्टै सुझाव सङ्कलन गरेको थियो ।

Ncell
Extreme Energy

तलबाट आएको सुझावलाई विश्लेषण गर्दा पार्टी पुनर्गठनको पक्षमा जबरजस्ती माहोल तयार भएपछि ओलीको कुर्सी हल्लिएको छ ।

गत मंसिरमा ११ औँ महाधिवेशन गरेर तेस्रो पटक अध्यक्ष भएका ओली विशेष महाधिवेशनबाट हट्नुपर्ने अवस्था सिर्जना हुन लागेकाले सशङ्कित बनेको उनी निकट एक नेताले बताए ।

‘कार्यदलले तलबाट आएका सुझावका आधारमा पुनर्गठनमै जानुपर्ने गरी प्रतिवेदन बनाउनुपर्ने हुन्छ, ७० प्रतिशतभन्दा बढी नेता-कार्यकर्ताले ओलीको विकल्प खोजेपछि अध्यक्ष सशङ्कित हुनु स्वभाविकै हो,’ ती नेताले भने ।

कार्यदलले प्रतिवेदन बनाउने काम थाल्नुअघि अध्यक्ष ओलीले महासचिव पोखरेललाई बोलाएर पार्टीभित्र थप ध्रुवीकरण ननिम्त्याउन आग्रह गरेको ती नेताको भनाइ छ ।

गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमाले २५ सिटमा खुम्चिएपछि ओली हटाउने सन्दर्भमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एक ठाउँमा उभिएका थिए । उनीहरूले तत्काल विशेष महाधिवेशनमा जाने गरी छलफल थालेका थिए ।

त्यसका लागि सचिवालय बैठकबाटै आफ्नो पक्षमा माहोल सिर्जना गर्ने, बहुमत केन्द्रीय सदस्य पुनर्गठनको पक्षमा खुल्ने अवस्था बनाएर विधानको धारा ७३ को व्यवस्था अनुसार विशेष महाधिवेशन आह्वान गर्ने समझदारी जुटाएका थिए ।

पौडेल र पोखरेलले नेतृत्वमा अध्यक्ष ओलीलाई राखेर कुनै हालतमा आन्दोलन उठाउन नसकिने भन्दै तलतल कार्यकर्ता ध्रुवीकृत पनि गरेका थिए ।

सम्पत्ति शुद्धीकरण कसुरमा पौडेल पक्राउ परेपछि पुनर्गठनको मुद्दा ओझेलमा परेको छ ।

पुनर्गठनका पक्षमा खुलेका नेताहरू केही रक्षात्मक बनेका छन् । यही मौका पारेर ओली थप सक्रिय बनेका छन् । उनले असन्तुष्ट केन्द्रीय सदस्य, सल्लाहकार सदस्यहरूलाई भक्तपुरस्थित गुण्डु निवासमा बोलाएर ‘कन्भिन्स’ गराउन लागेका छन् ।

‘दृढ मनोबलका साथमा काममा खटिनुहोस्, जिम्मेवारी पाउनु भएको छैन भने पनि नेतृत्वले तपाईंका लागि ठाउँ सोचेको छ । अहिले पुनर्गठनभन्दा पनि स्थानीय तहको चुनावको तयारी हो, त्यही अनुसार तल परिचालित हुनुस्,’ ओलीको भनाइ उद्धृत गर्दै केही दिनअघि गुण्डु पुगेर फर्किएका एक नेताले भने ।

उनका अनुसार अध्यक्ष ओलीले सातै प्रदेशका केन्द्रीय सदस्यहरूलाई बोलाएर एक्लाएक्लै छलफल गरिरहेका छन् । त्यो छलफलको उद्देश्य पुनर्गठनको आवाज कमजोर बनाउने हो ।

शङ्कर पोखरेल माग्दै छन् हाताहाती

पुनर्गठन पक्षका एक नेताले बताएअनुसार उपाध्यक्ष पौडेल र महासचिव पोखरेल पद बाँडफाँडको अन्तिम टुङ्गोमा पुगिसकेका छैनन् ।

विशेष महाधिवेशनबाट ओली हटाउने नै उनीहरूको मुख्य ध्येय देखिन्छ । यद्यपि विशेष महाधिवेशनबाट पौडेल अध्यक्ष बन्ने, त्यसपछिको नियमित महाधिवेशनबाट पोखरेल अध्यक्ष बन्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको नेताहरूको दाबी छ ।

घटनाक्रमले पनि त्यसको पुष्टि गरेको छ । त्यसैले पोखरेलले ओलीसँग अध्यक्षको सुनिश्चितता चाहेका छन् ।

तर, ओली त्यसका लागि तयार भइसकेका छैनन् । ‘अध्यक्ष ओलीलाई नेतृत्वमा यथावत राखेर तल जान सक्ने अवस्था छैन । त्यसो हुँदा ओलीलाई नेतृत्वबाट हटाएर नयाँ विकल्पमा जानुपर्ने हुन्छ । ओली नेतृत्व छाड्न तयार छैनन् । त्यसकारण महासचिव पोखरेल अध्यक्षबाट आश्वस्त हुने अवस्था छैन,’ पोखरेल निकट एक नेताले भने ।

पोखरेल सशङ्कित हुने अर्को पनि कारण छ । पछिल्लो समय ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच निकटता देखिएको छ । ओलीले भण्डारीलाई पो अघि सार्ने हुन् कि भन्ने भय पोखरेललाई छ ।

त्यो भयलाई सचिवालयको आठौँ बैठकले बलियो बनाएको थियो । आठौँ बैठकमा अध्यक्ष ओलीले पोखरेलसँग सल्लाह नै नगरी विद्या भण्डारीको सदस्यता फुकुवा गरिदिएका थिए ।

सचिवालय तहका एक नेताले भनेअनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीले सदस्यता पाऊँ भनी पठाएको निवेदन वाचन गरेर सदस्यता दिनुपर्ने तर्क गरेका थिए । ती नेताका अनुसार ओलीलाई भेषराज अधिकारीमार्फत भण्डारीले निवेदन पठाएकी थिइन् । ओलीले त्यही वाचन गरेका हुन् । त्यसपछि पोखरेल थप सशङ्कित बनेका हुन् ।

ओलीपछि भण्डारीले पार्टी नेतृत्वमा दाबी गर्छिन् र आफू पाखा लाग्नुपर्छ भनेर पोखरेलले त्यतिबेला भण्डारीको सदस्यता रोक्न जोडबल गरेका थिए । ओलीले साथ पनि दिए । तर ओलीले पोखरेल लगायत संस्थापन पक्षका नेताहरूलाई समेत थाहै नदिई सदस्यता फुकाइदिए ।

पछिल्लो समय ओली र भण्डारी बाक्लो संवादमा छन् । केही दिनअघि ओली र भण्डारीबीच संवाद भएको थियो ।

उनीहरूबीच पार्टीभित्र देखिएको सङ्कट, आफ्नै समूहले नेतृत्वमा खोजिरहेको विकल्पबारे पनि छलफल भएको थियो ।

त्यसकारण पनि महाधिवेशनताका ओलीलाई नेतृत्वमा निरन्तरता दिनुहुँदैन भन्ने भण्डारी पक्षका केही नेता अहिले तटस्थ छन् ।

कार्यदलले अहिले प्रतिवेदन लेख्न थालेको छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार, कार्यदलले प्रतिवेदन बुझाएपछि पहिले सचिवालयमा छलफल हुने छ । सचिवालयमा छलफल भएपछि प्रतिवेदनलाई केन्द्रीय कमिटीमा लगिने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पत्रकार र सञ्चारगृहलाई भयभित नबनाऊः एमाले

पत्रकार र सञ्चारगृहलाई भयभित नबनाऊः एमाले

एमालेले ​स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो भन्दै सञ्चारगृह र पत्रकारलाई भयभित नबनाउन र काममा अवरोध नपुर्‍याउन पनि आग्रह...
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
पत्रकार महासंघले भन्यो– अवरोध हटाऊ, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर

पत्रकार महासंघले भन्यो– अवरोध हटाऊ, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर

महासंघले तत्काल गाडीको अवरोध हटाई संचारकर्मी र संचारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेको छ ।
यी हुन् मिडिया र भाटभटेनी अगाडि बेवारिसे पार्किङ गरिएका गाडी (फोटो फिचर)

यी हुन् मिडिया र भाटभटेनी अगाडि बेवारिसे पार्किङ गरिएका गाडी (फोटो फिचर)

आज बिहानै पहिचान नखुलेका व्यक्तिहरुले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि अव्यवस्थित रुपमा सवारी पार्किङ गरी छाडेका थिए ।