काठमाडौँ । नेपाली समाज र मानसिकता कता जाँदै छ भनेर बहस चल्न थालेको धेरै भयो । तर, सोमबार एकाबिहानै मुलुकको संघीय राजधानी काठमाडौंमा जे जस्ता दृष्य देखियो, त्यसले भने अराजकतातर्फ जान थालेको संकेत गरेको छ ।
कुरा यत्ति मात्रै होइन, त्यस कार्यमा जो जसको संलग्नता देखिएको छ, त्यसले अर्को त्रास र अविश्वास सिर्जना गरेको छ । कुनै व्यक्ति वा समूहप्रति मात्रै होइन, सिंगो राज्य संरचनाप्रति अविश्वास बढाएको छ, सत्ता सञ्चालनमा बस्नेहरुप्रति अविश्वास बढाएको छ ।
सोमबार एकाबिहानै तीन वटा मिडिया हाउस कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइन खबरको मुलगेटमा शंकास्पद तरिकाले पार्किङ गरेको भेटिए । घण्टौंसम्म प्रतीक्षा गर्दा पनि ती गाडी लिन कोही आएनन् । त्यसपछि मिडियाहरुबाट समाचार प्रकाशन, प्रसारण भए । मिडियाको गेटमा मात्रै होइन, केहीबेरमै अर्को समाचार आयो– नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटअगाडि पनि बेवारिसे अवस्थामा सवारी साधन पार्किङ । देशैभर सनसनी मच्चियो । त्यसपछि मात्रै प्रहरीले अनुसन्धान सुरु गर्यो ।
मिडिया हाउसदेखि नेताको घरको गेटमा बेवारिसे अवस्थामा पार्किङ गर्नेहरू को हुन् ? तिनको पहिचान नखुल्ने कुरै भएन । कसका गाडी कसले लगेर त्यसरी गेटै थुनिने गरी राख्यो ? केहीबेरमा भन्छु । त्यो भन्दा पहिले किन त्यसो गरियो ? त्यसको उद्देश्य के हो ? यसबारेमा जानकारी लिइहालौं ।
खासगरी गत विहीबार दिउँसो मुगुका गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाइदिएपछि उत्पन्न परिस्थितिका बारेमा सडकदेखि सदनसम्म चर्चा चलिरहेको थियो । आइतबार साँझ मात्रै मृतक गणेश नेपालीका परिवार र सरकारबीच नौ बुँदे सहमति भयो । गणेश नेपाली प्रकरण सेलाउन लागेको थियो । तर, यो प्रकरणमा सरकारको आलोचना भने घटेको थिएन । दोष जति महानगर प्रहरीमाथि थोपरिएपछि काठमाडौंका सडकमा ट्राफिक अवव्यस्था बढ्न थालेको थियो । आइतबार त न्युरोड क्षेत्र अस्तव्यस्त नै बन्यो । यसले सरकारको आलोचना झनै बढाएको थियो । एकातिर गणेश नेपाली प्रकरण, अर्कातिर विस्थापित सुकुम्बासीको पीडा । पछिल्ला यिनै दुई विषयलाई लिएर मिडिया र राजनीतिक दलहरुले सरकारमाथि दबाब बढाएका थिए ।
सामान्य मानवीयताको विषयलाई लिएर सरकारको आलोचना चर्किँदै जाँदा सरकार र सरकार सञ्चालन गर्नेहरु दबाबमा पर्नु स्वाभाविकै थियो । सरकारमा बस्नेहरुलाई विषयान्तर गर्नु जरुरी थियो । राजनीतिमा रणनीतिक रुपमा नै विषयान्तरको प्रयास हुने गर्छ । तर, विषयान्तर गर्न जो जसले जुन उपाय निकाले, त्यो भने निकै कच्चा, फितलो र अराजक उपाय निकाले । अब आजको घटनाक्रम हेरौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेट नै छेकेर डस्टर गाडी बेवारिसे पार्किङ गरेको अवस्थामा भेटियो ।
स्थानीयका अनुसार सभापति थापाको रातोपुलस्थित निवास अगाडि गेटमा मोटरसाइलक समेत वारपार गर्न नसक्ने गरी बी ए सी ९५७५ नम्बरको गाडी बिहान ७ः३० देखि पार्किङ गरिएको थियो । यो गाडी कसको हो भन्ने विवरण अहिलेसम्म खुलेको छैन ।
कालो रङको बा प्र ०१ ०३४ च ८४८० नम्बरको ‘जेको जेसिक्स’ गाडी कान्तिपुरको गेट छेकेर पार्किङ गरिएको थियो । हिमालय टेलिभिजनको गेट छेकेर बा १० च १२५५ नम्बरको गाडी पार्किङ गरिएको थियो भने अनलाइनखबरको गेट थुनेर बा १२ च ८५४५ नम्बरको ह्युन्डाई गाडी पार्किङ गरिएको थियो । नेता र मिडिया हाउसको कार्यालयमा जस्तै गरी अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि ०३३ च ४२७५ नम्बरको गाडी बेवारिसे अवस्थामा छाडिएको थियो ।
यी गाडीका कसका हुन् ? अब यो पनि जानौं
सञ्चार माध्यमको गेटमा लगेर तेस्र्याएको गाडी सत्तारुढ दल रास्वपाका कार्यकर्ताको रहेको तथ्यसमेत सार्वजनिक भएको छ । तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसको ढोका नै छेकेर, सावरीसाधन आवागमन बन्द हुनेगरी गेट बाहिर राखिएको ब्राण्ड न्यू जेको जेसिक्स गाडी रास्वपाको केन्द्रीय विभागका पूर्वसदस्यको छ ।
कालो रङको बा प्र ०१ ०३४ च ८४८० नम्बरको ‘जेको जेसिक्स’ गाडी रास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्वसदस्य समेत रहेका रवि जैसवालले प्रयोग गर्ने गरेको पाइएको छ । पायोनियर मोटोकर्प काठमाडौँको नाममा रहेको यो गाडी सानीमा बैंक र एसटी मोटर्स ऋणीको नाममा छ । यो गाडी जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरे पनि नामसारी भने गरिसकेका छैनन् । रवि जैसवालका बुवा कन्थमणि प्रसाद कलवार रौतहटकै गरुडा नगरपालिकाका मेयर हुन् । मेयर कन्थमणिले समेत उक्त गाडी आफ्नो छोराले चढ्ने गरेको बताएका छन् ।
रवि जयसवाल एक महिनाअघि, रास्वपाको महाधिवेशनको मुखमा रास्वपा प्रवेश गरेका थिए । रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले गत जेठ ८ गतेमात्रै उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको देखिन्छ । त्यसभन्दा अघि उनी नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । रौतहटमा नेकपा एमालेका तर्फबाट टिकट नपाएपछि उनी निर्वाचनपछि रास्वपा तिर लागेको उनी निकट एमाले नेताहरु बताउँछन् । यो गाडी कहिले रवि जयसवाल आफै त कहिले उनका छोरा र कहिले चालकले चलाउने गरेका थिए ।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको बा १० च १२५५ नम्बरको गाडी राजीवकाजी श्रेष्ठको नाममा रहेको विवरण प्राप्त भएका छन् ।
यो कोरियाको स्याङयोङ कम्पनीले निर्माण गरेको गाडी रहेको सवारी साधन दर्ता पुस्तिका विवरणमा उल्लेख छ ।
यस्तै अनलाइनखबरको गेट थुन्ने बा १२ च ८५४५ नम्बरको ह्युन्डाई ग्रान्ड आई टेन गाडी अहिले सुनिल पौडेलको नाममा देखिन्छ । यो गाडी केही दिनअघि मात्रै श्रेयण शाहीको नामबाट नामसारी भएको थियो ।
मिडिया, नेताको घर र व्यापारिक प्रतिष्ठानको गेटमा गाडी तेस्र्याएर मच्याइएको आतकंको सर्वत्र आलोचना भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताए पनि तदारुकता देखाएको देखिन्न, अनुसन्धानका लागि कसैलाई पक्राउ गरियो वा गरिएन, केही खुलाएको छैन ।
गेट अगाडि बेवारिसे गाडीले गेट थुनेको सूचना प्रहरीलाई गराउँदा पनि घण्टौसम्म प्रहरीले ती गाडी निकाल्न सहजीकरण नगरेको ती सञ्चारमाध्यमले जनाएका छन् । किन प्रहरीले ढिलाइ गर्यो ? यस विषयमा हामीले ट्राफिक प्रहरीका प्रमुखलाई पनि सोध्यौँ । उनले सबै गाडी अहिले ट्राफिक प्रहरी मुख्यालय बग्गी खाना राखेर थप छानबिन भैरहेको बताए ।
सामाजिक सञ्जालमा अहिले सरकार निकटका केही व्यक्तिहरुका अभिव्यक्तिहरुले समेत थप शंसय बनाएको छ । यसले रास्वपामाथि दबाब बढाउनु स्वाभाविकै थियो ।
यसपछि भने सत्तारुढ रास्वपाले यो घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्यो र भन्यो– यस्तो क्रियाकलाप किमार्थ स्वीकार्य हुँदैन ।
रास्वपाले सञ्चार माध्यलाई लक्षित गर्दै भएको व्यवहारप्रति आपत्ती जनाउँदै कडा कारवाहीको माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञप्ति नै जारी गरेर कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर सवारीसाधनहरू शंकास्पद रूपमा राखिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।
रास्वपाले राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन भएको स्पष्ट पारेको छ ।
रास्वपा महामन्त्रीको यो विज्ञप्तिले देखाउँछ– यो घटनामा रास्वपाको अफिसियल संलग्नता छैन, सहभागिता छैन । त्यसैलाई चिर्न रास्वपाले विज्ञप्ति निकाल्यो । रास्वपाले संलग्नमाथि कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ । सत्तारुढ दलले नै आग्रह गरेपछि सरकारले अब कसरी कारबाही अगाडि बढाउँछ, सबैको प्रतीक्षाको विषय बनेको छ ।
यो त भयो, सरकार र सत्तारुढ दलको कुरा । कुरा यत्ति मात्रै होइन । नागरिकले अहिले सुशासन चाहेका छन्, नागरिकले अहिले विकास चाहेका छन् । नागरिकले अहिले सरकारबाट डेलिभरी चाहेका छन् । यसका लागि सरकारलाई नागरिकको पनि साथ चाहिन्छ । अन्य दलको पनि साथ चाहिन्छ । र, त्यो वातावरण सरकारले नै बनाउनुपर्छ ।