काठमाडौँ । राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन् ।
त्यस क्षेत्रमा समान्य वर्षामा पनि सडक जलमग्न हँुदा पैदल यात्री र सवारीसाधन आवतजावत तथा ट्राफिक जामको समस्या, सडक दुर्घटनाको जोखिम हुने गरेको छ । दीर्घकालीन रुपमा समस्या समाधानका लागि ठोस पहल र नीति नबनाइँदा बर्सेनि डुबानको समस्या बल्झिरहेको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छिन् ।
उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन् ।
त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उनले गुरुयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढ्दै जाँदा विद्यमान पूर्वाधारले पानीको चाप धान्न नसक्दा डुबानको समस्या झन् जटिल बन्दै गएको विज्ञरूले बताएका छन् ।
उक्त समस्यालाई लिएर सङ्घीय संसद्मा पनि पटक–पटक आवाज उठ्दै आएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद रञ्जु न्यौपाने (दर्शना) ले माइतीघरको डुबान समस्या तत्कालीन व्यवस्थापनले मात्र नरोकिने भन्दै स्थायी समाधानका लागि प्रभावकारी योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले केही दिनमै माइतीघर डुबानको समस्या समाधान हुने भन्दै जमल लगायतका उपत्यकामा अन्य डुबान हुने क्षेत्रको पनि अध्ययन गरी आवश्यक तयारी थाल्ने बताए । 'हरेक वर्ष मनसुन सुरु हुनासाथ माइतीघर डुबान हुन्छ । त्यसबाट व्यवसायी, सवारी चालक र सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको छ । अब अस्थायी मात्रै होइन, दीर्घकालीन समाधान खोज्नुपर्छ,' उनले भने ।
यसैबीच माइतीघरलगायत काठमाडौँ उपत्यकाको ढल निकास व्यवस्थापन सुधारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा काठमाडौँ महानगरपालिका, सडक डिभिजन काठमाडौँ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच समन्वय सुरु भएको छ ।
सरोकारवाला निकायले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना स्वीकृत गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् । तत्कालीन योजनाअन्तर्गत माइतीघरलगायत डुबान प्रभावित क्षेत्रमा ढल निकासमा भएका अवरोध, अतिक्रमण तथा अन्य समस्या पहिचान गरी प्रतिवेदन पेस भइसकेको छ ।
के छ अध्ययन प्रतिवेदनमा ?
माइतीघर लगायतका क्षेत्रमा देखिएको डुबान समस्या र काठमाडौँ उपत्यकामा ढल निकाससम्बन्धी समस्या पहिचान गर्न गठित प्राविधिक समितिको प्रतिवेदनले माइतीघर चोक आसपासका क्षेत्रमा प्रत्येक वर्ष वर्षायाममा दोहोरिने डुबानको मुख्य कारण प्राकृतिक रूपमा पानी जम्ने क्षेत्रको विनाशलाई औँल्याएको छ । साथै अव्यवस्थित सहरीकरण, ढल प्रणालीको सीमित क्षमता र निकास व्यवस्थापनमा देखिएको कमजोरी रहेको प्राविधिक अध्ययनले देखाएको छ ।
प्रतिवेदनले दीर्घकालदेखि सहरी योजना विपरीत भएका निर्माण, प्राकृतिक जल बहावमा आएको अवरोध तथा निकास प्रणालीको कमजोर व्यवस्थापन रहेको निष्कर्ष निकालेको छ । 'विगत केही वर्षयता सिंहदरबार परिसर तथा आसपास वर्षा हुनेबित्तिकै पानी जम्ने र सरकारी कार्यालयको नियमित कामकाजसमेत प्रभावित हुने अवस्था दोहोरिँदै आएको छ,' प्रतिवेदनमा भनिएको छ, 'सबैभन्दा ठूलो समस्या प्राकृतिक रूपमा पानी जम्ने क्षेत्र हराउँदै जानु रहेकोे छ ।'
प्राधिकरणका उपसचिव रामबहादुर केसीले पहिले वर्षाको पानी केही समय स्वाभाविक रूपमा जमेर बिस्तारै बग्ने भूभाग अहिले भवन, सडक, पार्किङ तथा अन्य भौतिक संरचनाले ढाकिँदा पानी सोस्ने क्षमता घटेको जानकारी दिए । 'वर्षा हुनेबित्तिकै ठूलो मात्रामा पानी एकैपटक सडक तथा ढल प्रणालीमा पुग्ने गरेकोे छ,' उनले भने, 'प्राकृतिक पानी सञ्चय गर्ने क्षेत्रको कमीका कारण सतहबाट बग्ने पानीको मात्रा बढ्न गई डुबानको जोखिम अझ बढाएको छ ।'
पानी जम्न र बिस्तारै निकास हुनुपर्ने प्रणाली कमजोर बन्दा वर्षाको समयमा अत्यधिक पानी एकैचोटि ढल प्रणालीमा प्रवेश गर्ने अवस्था सिर्जना भएको प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदनले अव्यवस्थित भूमिको उपयोग तथा अतिक्रमणलाई पनि डुबानको अर्को प्रमुख कारण मानेको छ । प्राकृतिक जल बहाव हुने क्षेत्र तथा खाली जमिनमा संरचना निर्माण हुँदा पानीको स्वाभाविक मार्ग अवरुद्ध भएको उल्लेख गरिएको छ । त्यसैगरी, कङ्क्रिट, कालोपत्रे सडक तथा अन्य अभेद्य सतहको विस्तारले जमिनमा पानी सोसिने क्षमता घटाएको र सतहबाट बहने पानीको मात्रा बढाएको प्रतिवेदनमा उल्लेख छ । निकास प्रणालीको संरचनागत कमजोरी पनि डुबानको प्रमुख कारणका रूपमा औँल्याइएको छ ।
प्रतिवेदनका अनुसार कतिपय स्थानमा वर्षाको पानी निकास गर्ने प्रणाली र घरेलु फोहोरपानी बग्ने ढल एउटै मुख्य पाइपमार्फत सञ्चालन भइरहेको छ । वर्षाको समयमा दुवै प्रकारको पानी एउटै पाइपमा मिसिँदा पाइपको क्षमताभन्दा धेरै पानी बग्नुपर्ने अवस्था सिर्जना हुन्छ । परिणामस्वरूप पाइपभित्र चाप बढ्ने, पानीको बहाव सुस्त हुने तथा म्यानहोलबाट पानी बाहिर निस्कने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनले ढल प्रणालीमा ‘बोटलनेक’ समस्या पनि पहिचान गरेको छ । केही स्थानमा ठूलो व्यासका पाइप सानो व्यासका पाइपसँग जोडिएका कारण पानीको बहाव अवरुद्ध हुने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तो संरचनागत कमजोरीले वर्षाको समयमा ढल प्रणालीमा अतिरिक्त चाप सिर्जना गरी डुबान बढाउने अध्ययनको निष्कर्ष छ ।
टुकुचा खोलासँग जोडिएको निकास प्रणालीमा देखिने ‘ब्याकवाटर इफेक्ट’ पनि डुबानको अर्को कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । खोला वा मुख्य निकासमा पानीको सतह बढ्दा त्यसको चाप उल्टै ढल प्रणालीमा फर्किने र म्यानहोलबाट पानी बाहिर निस्कने अवस्था सिर्जना हुने अध्ययनले देखाएको छ । त्यसले विशेषगरी भारी वर्षाका बेला सिंहदरबार क्षेत्रको डुबान झन् गम्भीर बनाउने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले संस्थागत समन्वयको अभावलाई पनि समस्याको एउटा महत्त्वपूर्ण पक्ष मानेको छ । ढल, सडक, भवन तथा अन्य पूर्वाधार निर्माण गर्ने विभिन्न निकायबीच पर्याप्त समन्वय नहुँदा एउटै क्षेत्रमा फरक–फरक निकायले छुट्टाछुट्टै काम गर्ने र त्यसले दीर्घकालीन समाधानभन्दा समस्या झन् जटिल बनाउने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ ।
डुबान नियन्त्रणका लागि प्रतिवेदनले अल्पकालीन र दीर्घकालीन दुवै उपाय सिफारिस गरेको छ । वर्षाको पानी केही समय सङ्कलन गरी विस्तारै निकास गर्ने ‘डिलेड डिस्चार्ज’ प्रणाली विकास गर्नुपर्ने, भूमिगत पानी सञ्चय ट्याङ्की निर्माण गर्नुपर्ने तथा पानी जम्ने प्राकृतिक क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ । यसले एकैपटक ढल प्रणालीमा पानीको चाप नपर्ने र डुबानको जोखिम घट्ने प्रतिवेदनको निष्कर्ष छ ।
त्यस्तै, वर्षाको पानी र घरेलु फोहोरपानीका लागि छुट्टाछुट्टै निकास प्रणाली विकास गर्नुपर्ने, आवश्यक स्थानमा नयाँ स्टर्म ड्रेन निर्माण गर्नुपर्ने तथा पुराना ढलको क्षमता पुनः मूल्याङ्कन गरी सुधार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको छ ।
प्रतिवेदनले निकास प्रणालीको नियमित मर्मत, ढल र कल्भर्टको सफाइ, आवश्यक स्थानमा पाइपको आकार वृद्धि तथा आउटफल क्षेत्रमा पानी उल्टो फर्किन नदिन ‘नन–रिटर्न चेक भल्भ’ वा ‘फ्ल्याप गेट’ जडान गर्न पनि सिफारिस गरेको छ । साथै जलाधार क्षेत्रको आकार, वर्षाको पुनरावृत्ति अवधि तथा सम्भावित अधिकतम बहावलाई आधार बनाएर निकास संरचनाको पुनः ‘डिजाइन’ गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनले सिंहदरबार क्षेत्रको डुबान समस्या तत्कालीन मर्मत वा सरसफाइबाट मात्र समाधान नहुने निष्कर्ष निकालेको छ । प्राकृतिक जल प्रणालीको संरक्षण, वैज्ञानिक सहरी योजना, पर्याप्त क्षमताको निकास पूर्वाधार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गरिए मात्र दीर्घकालीन समाधान सम्भव हुने प्रतिवेदनले औँल्याएको छ ।
यस्ता छन् दीर्घकालीन र मध्यकालीन योजना
उपसचिव केसीले मध्यमकालीन योजनाअन्तर्गत पुराना तथा साँघुरा ढलका पाइपको अध्ययन गरी आवश्यक स्थानमा ठूला आकारका पाइप जडान गर्ने वा वैकल्पिक निकास निर्माण गरिने जानकारी दिए । उनका अनुसार दीर्घकालीन योजनाअन्तर्गत वर्षाको पानी (स्टर्म वाटर) र ढलको पानी (स्यानिटरी सिउर) छुट्टाछुट्टै व्यवस्थापन गर्न विस्तृत गुरुयोजना (मास्टर प्लान) तयार गरी कार्यान्वयन गरिने योजना रहेको छ ।
'साथै नयाँ ठूला सरकारी तथा व्यावसायिक भवनमा वर्षाको पानी सङ्कलन (रेन वाटर हार्भेस्टिङ) र ढल प्रशोधन प्रणाली अनिवार्य गर्ने कानुनी व्यवस्था लागू गरिने भएको छ,' उपसचिव केसीले भने, 'काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा वर्षा मापन केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।'
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का सूचना अधिकारी प्रभात श्रेष्ठले माइतीघर, न्यू प्लाजा र सिंहदरबार आसपासको ढल व्यवस्थापनलाई एकीकृत रूपमा सुधार गर्न आवश्यक रहेको बताए ।