काठमाडौं । शनिबार इलाम पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली ‘केही नेता पार्टी कार्यालयको क्यान्टिनमा बसेर आफूलाई हटाउन लागेको’ भन्दै दुर्वाच्य बोलिरहेका थिए ।
उनले पार्टी पुनर्गठन अभियानलाई लक्ष्य गरेर अभियान चलाउनेहरूलाई ‘आवारा’ र ‘उरन्ठेउला’हरूको संज्ञा दिइरहेका थिए ।
संयोग कस्तो थियो भने, ओलीले जसजसलाई आवाराको संज्ञा दिएका थिए, ती हिजो पार्टी कार्यालयमा भने थिएनन् । छलफलमै थिए । तर महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा ।
एमालेभित्र अहिले तीन ध्रुव देखिएको छ । एउटा ध्रुव ओलीको निरन्तरता चाहन्छ । पार्टीलाई पुनर्जागरण अभियान चलाउनुपर्छ भन्नेहरूलाई ओली मुखमा आएजति शब्दले लाञ्छित गर्दैछन् । त्यो समूहले अध्यक्ष ओलीको अघिपछि रहेर थपडी बजाइरहेछ ।
बीचको समूह छ, जो विगत र अहिले पनि ओली कित्तामै रहे पनि अब चाहिँ ओलीबाट पार लाग्दैन भन्ने बुझाइमा पुगेको देखिन्छ । विगतमा राष्ट्रिय राजनीति र पार्टी आन्दोलनमा ओलीको जादुको छडी नै चल्छ, हाम्रो उत्थान त्यसैबाट भइहाल्छ भनेर सोच्नेहरू जेनजी विद्रोह र फागुन २१ को चुनावी परिणामपछि फरक मनोदशामा पुगेका छन् ।
अब पनि ओलीलाई काँध हालियो भने सर्वनाशबाहेक केही हात लाग्दैन भन्ने उनीहरूको साझा बुझाइ देखिन्छ ।
उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल लगायत नेता यो समूहमा छन् ।
आफ्नै समूहमा रहेर आफैलाई चुनौती दिइरहेकाहरूलाई ओलीले फकाउने, तर्साउने र गलाउने उपक्रम जारी छ ।
यसबाहेक एमालेमा अर्को समूह पनि छ, जो विगतदेखि नै ओलीको विरूद्धमा थियो ।
११ औं महाधिवेशनताका यो समूहको मूल नेता विद्या भण्डारी बनेकी थिइन् । उनकै समूहको तर्फबाट ईश्वर पोखरेलले अध्यक्षमा ओलीलाई चुनौती दिएका थिए ।
अहिले पोखरेल गतिविधिमा त्यति छैन । पत्नी मीरा ध्वजुको उपचारको लागि भारतमा छन् । ह्येजीलाई क्यान्सर देखिएको छ ।
महासचिवको प्रत्यासी रहेका सुरेन्द्र पाण्डेलगायतले अहिले गतिविधि तीव्र पारेका छन् ।
यही समूहका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई पार्टी कमिटीमै रहेर ओलीविरूद्ध अभियान चलाइरहेका छन् ।
शनिबार सुरेन्द्र पाण्डेसहितका संस्थापनइतर समूहका नेताहरू महाराजगञ्ज चोकबाट पश्चिमतिरको ओरालोनजिकको पार्टी प्यालेसमा बसेर छलफल गरेका थिए ।
शनिबारको भेलामा करिब ५० जना नेता सहभागी थिए ।
उक्त भेलामा महासचिवका प्रत्यासी पाण्डे, पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष गोकर्ण विष्ट, कर्ण थापा, पुरूषोत्तम पौडेल, कृष्णप्रसाद दाहाल, झपट रावल, नवराज सिलवाल, माधव अर्याल, अरबिन्द सिंह, गजेन्द्र थपलिया लगायत नेताहरू थिए । सबै प्रदेशको प्रतिनिधिमूलक उपस्थिति थियो ।
भेला एमालेमा देखिएको दिशाहीनतामै केन्द्रित थियो । जेनजी विद्रोह र फागुन २१ को चुनावी परिणामले ओलीको औचित्य सकिएको सन्देश दिँदा पनि पार्टी कमिटीले उपयुक्त निर्णय दिन नसक्दाको छटपटीले भेला आह्वान गरेको एक नेताले बताए ।
ती नेताका अनुसार उपाध्यक्ष गोकर्ण विष्टले पार्टीभित्रको अन्योलबारे बताएका थिए ।
भेलामा सहभागी एक नेताले बताएअनुसार विष्टले कार्यदलमा देखिएको मतभिन्नताबारे बताएका थिए ।
छलफलमा विष्टले आठ प्रदेश, केन्द्रीय निकायहरू, विभाग, सम्पर्क–समन्वय आदि १३ वटा समूहबाट आएका सुझाजलाई एकतृत गरेर, त्यसको संश्लेषणका आधारमा प्रतिवेदन तयार पारी महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ लाई बुझाएका छन् ।
तर बादलले बैठक राखेर कार्यदलमा छलफल नगराइ उक्त डकुमेन्ट जस्ताको तस्तै अध्यक्ष ओलीकहाँ पुर्याएका छन् ।
‘अहिले महासचिवले दिनको दुई–तीनपटक फोन गर्नुहुँदोरहेछ, तर बादलले फोन उठाए पो!,’ विष्टले सुनाएका थिए ।
बादलको चालबाजी अध्ययन गर्दा उनले छुट्टै प्रतिवेदन तयार पार्न लागेको आशंका भएको पनि विष्टले बताएका थिए ।
‘नेताहरूको फोनसमेत नउठाइ बादल गुप्तबासमा बस्नुको अर्थ उनी अर्को प्रतिवेदन तयार पार्न लागेका हुन् भन्ने छ । महासचिवले बुझाएको प्रतिवेदन ओलीले निबन्ध हो कि महाभारत लेखियो भनेर टिप्पणी गरेको सुनिएको छ,’ विष्टले आशंका व्यक्त गर्दै भनेका थिए ।
पार्टी आन्दोलन गतिहीन हुँदा पनि एमाले निर्माणमा लागेकाहरूले तदारूकता नदेखएको भन्दै नवराज सिलवाल, पुरूषोत्तम पौडेल लगायतले रोष प्रकट गरेका थिए ।
‘हामी सधैँ के गर्ने भनेर बृहत् छलफलमा जुट्छौं । ठुल्ठूला दृष्टिकोण पनि राख्छौं तर गरिहाल्छौं चाहिँ के भनेर कहिल्यै निष्कर्ष निस्किँदैन, के गर्छौं भन्ने टुंगोमा नपुगी कसरी परिणाम प्राप्त हुनु,’ उनले भनेका थिए ।
पुरूषोत्तम पौडेलले पनि अध्यक्ष ओलीले यसबीचमा अनेकौं चालबाजी गरेको तर फरक विचार राख्दै आएकाहरू चनाखो हुन नसकेको बताएका थिए ।
‘अध्यक्ष ओलीले त्यसै प्रदेस सरकार निर्माणको चलखेलमा लागेका छैनन् । नेकपासँग सहमति गरेका छैनन् । उनले तल कति मानिसलाई मन्त्री दिउँला भनेर फकाएका होलान् । मुख्यमन्त्री बनाउँछु भनेर आफ्नो समूहमा ल्याएका होलान्, हामीले विचार गरेका छौं ?,’ उनले भनेका थिए ।
दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चलेको छलफलमा कार्यदलको निष्कर्षदेखि विशेष महाधिवेशनको तयारीसम्म छलफल भएको थियो ।
एमालेको मौजुद रहेको विधानको धारा ७२ मा विशेष महाधिवेशनको व्यवस्था छ ।
विशेष महाधिवेशन दुइटा निकायले बोलाउन सक्छ । ठोस कार्यसूची र कारण दर्शाए। दुईतिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखित रूपमा विशेष महाधिवेशन माग गर्न सक्छन् ।
यसरी माग गरेर हस्ताक्षर दर्ता गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने विधानमा व्यवस्था छ ।
यसअनुसार विशेष महाधिवेशन आयोजना नगरिएमा महाधिवेशनको माग गर्ने कमिटी वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले आफै महाधिवेशन आयोजक कमिटी बनाई विशेष महाधिवेशन आयोजना गर्न सक्ने वैधानिक व्यस्था छ ।
हिजो यहीबारे छलफल भएको थियो ।
त्यसपूर्व कार्यदलको बैठक पर्खने निचोड हिजोको भेलाले निकालेको थियो ।
‘यतिञ्जेल पर्खियौं । अब थप एक साता पर्खिऔं । त्यतिञ्जेल कार्यदलको बैठक आह्वान होला,’ विष्टले भनेका थिए ।
कार्यदलमा ८ प्रदेश इन्चार्जसहित १५ जना छन् । त्यसमा ५ जना ओलीको पक्षमा खुलेका छन् । ८ जना पुनर्गठनको पक्षमा छन् । २ जना ढुलमुल अवस्थामा रहेको विश्लेषण पनि हिजोको बैठकमा भएको थियो ।
‘कार्यदलमा हामी सुविधाजनक बहुमतमा छौं । कथम् त्यहाँबाट निकास ननिस्किए वैधानिकै व्यवस्थाअनुसार विशेष महाधिवेशन नै माग गर्नुपर्ने हुन्छ, हस्ताक्षर अन्तिम विकल्प हो,’ छलफलको निचोड थियो ।
तर ओलीले कार्यदलले पुनर्गठनको निचोड निकाले पनि ओली मान्न तयार हुनेमा केही सहभागीले संशय प्रकट गरेका थिए ।
‘कार्यदलले पुनर्गठनका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधि बोलाउने निचोड निकाले पनि ओली मान्दैनन् । उनी त सचिवालय होइन, एकैपटक केन्द्रीय कमिटी फेस गर्छु भनेर बसेका हुनसक्छन्, उनको गतिविधि त्यस्तै देखिन्छ,’ सहभागीले संशय प्रकट गर्दै भनेका थिए ।