काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १ गते घण्टीघरमा क्यान्डिडेट क्लबको घोषणा गरे ।
क्यान्डिडेट क्लब रास्वपाले उठाउँदै आएको विषय पनि हो । देशमा अहिले कुनै चुनावी माहोल छैन । तर, यो खासमा खासमा किन घोषणा गरियो त रु यसको अर्थ हो– रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । अब उम्मेदवार हुन इच्छुकले आवेदन दिनुपर्नेछ ।
आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५ हजार २२१ पदका लागि आवेदन आह्वान गरेको हो । जसमा मेयर २९३, उपमेयर २९३, गाउँपालिका अध्यक्ष ४६०, उपाध्यक्ष ४६०, वडा अध्यक्ष ६ हजार ७४३, खुला वडा सदस्य १३ हजार ४८६, महिला वडा सदस्य ६ हजार ७४३, दलित महिला वडा सदस्य ६ हजार ७४३ रहेको छ ।


रास्वपा महामन्त्री विपीन आचार्यका अनुसार अब स्थानीय तह निर्वाचन उम्मेदवार छनोट प्रक्रिया सुरु भयो । यसका लागि रास्वपाले उम्मेदवार छनोट रुपरेखा नै तयार पारेको छ । यसबाट वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक विधिबाट उम्मेदवार छानिने छन् ।
२१ फागुनको निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको रास्वपाले त्यो जनअपेक्षाअनुरुप डेलिभरी दिन स्थानीय तहमा योग्य, सक्षम, इमानदार र जनउत्तरदायी व्यक्तिहरुको नेतृत्व स्थापित गर्न उम्मेदवार छनोट बलियो र पारदर्शी विधि बनाएको हो । राष्ट्रिय स्तरमा प्राप्त म्यान्डेटलाई तल्लो तहसम्म सफल बनाउन स्थानीय तहको नेतृत्व सबल, सक्षम र उत्कृष्ट हुनुपर्ने मान्यता रास्वपाको छ ।
अहिले संघमा दुईतिहाइ भए पनि प्रदेश र स्थानीय तहमा रास्वपाको प्रतिनिधित्व नहुँदा अपेक्षित काम गर्न सकेको छैन । पुराना दलहरुले प्रदेश र स्थानीय तहमार्फत संघ सरकारलाई असहयोग गरिरहेको महसुस रास्वपाले गरेको छ । त्यसैले राष्ट्रियरुपमा प्राप्त दुईतिहाइ मतको भावनाअनुसार काम गर्न सक्ने सक्षम र सचेत उम्मेदवार खोज्न रास्वपाले बलियो र वैज्ञानिक छनोट विधि बनाएको हो ।
स्थानीय सरकार नागरिकको दैनिक जीवनसँग जोडिएको सबैभन्दा नजिकको सरकार हो । त्यहाँको नेतृत्व केवल चुनाव जित्ने पात्रमात्र होइन, सेवा प्रवाह सुधार्ने, सुशासन कायम गर्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने, नागरिक सहभागिता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको घरदैलोमा अनुभूति गराउने नेतृत्व हुनुपर्ने रास्वपाको मान्यता छ ।
रास्वपाको छनोट विधिमा सबैको समान पहुँच, विविधता सुनिश्चित गरिएको छ । नेताको दैलो चहारेर होइन जनताको मन बस्ने र देश, समाज तथा स्थानीय समुदाय रुपान्तरणको स्पष्ट मार्गचित्र कोर्न सक्नेलाई विधिबाट उम्मेदवार चयन गर्ने विधि रास्वपाको छ ।
उम्मेदवार छनोट रुपरेखाले महिला, दलित, सीमान्तकृत समुदाय, युवा, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्र, श्रमिक, किसान, उद्यमी, पेशाकर्मी, प्रवासको अनुभव भएका नागरिक तथा समाजका विविध तहका सम्भावनाशील व्यक्तित्वहरुलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्यसमेत राखेको छ । सबै समावेशी समूहहरुको पूर्ण सम्मान गर्दै समाजको वास्तविक बहुविविधता प्रतिविम्बित हुने, समाजिक रुपमा स्वीकार्य, स्थानीय रुपमा जरा गाडेको, नैतिक रुपमा स्वच्छ, क्षमताका आधारमा प्रतिस्पर्धी र विजयको बलियो सम्भावना भएका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।
आकांक्षीले कसरी दिने आवेदन ?
उम्मेदवार बन्न इच्छुकले सुरुमा क्यान्डिडेट क्लबमा आवेदन दिलनुपर्ने छ, त्यहीँबाट रास्वपाले आवेदन संकलन गर्नेछ । यसमा आकांक्षीहरुको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्यांक संकलन तथा परीक्षण गरिन्छ । रास्वपाले स्थानीय तहलाई लक्षित गरेर दुई किसिमको क्यान्डिडेट क्लब गठन गरेको छ । पहिलो– पालिका तहको र दोस्रो– वडा तहको । पालिका तहमा नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीले आवेदन दिनुपर्नेछ भने वडा तहमा वडाध्यक्ष र सदस्य पदका लागि आकांक्षीहरुले आवेदन दिन पाउनेछन् ।
आवेदनका लागि योग्यता
रास्वपाका तर्फबाट उम्मेदवार बन्न चाहने आकांक्षीले आवेदन दिँदा नेपाली नागरिक हुनुपर्ने, २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने, उम्मेदवार हुन चाहेको पालिका वा वडाको मतदाता हुनुपर्ने न्यूनतम शर्त राखिएको छ ।
यसका अलावा पार्टीको सिद्धान्त र विचारप्रति प्रतिबद्ध रहेको, अन्य दलको सदस्यता त्याग गरेको, उम्मेदवार छनोट प्रक्रियामा पूर्ण रुपमा सहभागी हुन मञ्जुर रहेको, अद्यावधिक सम्पत्ति विवरण, पुलिस रिपोर्टजस्ता दस्तावेजहरु बुझाउनुपर्नेछ ।
आवेदकहरुले शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्नुपर्नेछ । पेस गरेका सम्पूर्ण शैक्षिक विवरण पूर्णतः सक्कली रहेको र पार्टीको संयन्त्र वा सम्बन्धित निकायले जुनसुकै बेला प्रमाणीकरण गर्दा सही ठहरिने हुनुपर्नेछ ।
वैवाहिक अवस्थाको कानुनी स्पष्टता हुनुपर्नेछ । आफ्नो पारिवारिक र वैवाहिक अवस्था कानुनी रूपमा पूर्णतः वैध र स्पष्ट रहेको तथा यससम्बन्धी कुनै पनि प्रकारको लुकाइएको वा विवादित अवस्था नरहेको हुनुपर्नेछ ।
दुर्व्यवहार तथा डिजिटल अपराधमा संलग्न नरहेको हुनुपर्नेछ । कानुनी रूपमा प्रमाणित नभएको अवस्थामा पनि कुनै प्रकारको घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको हुनुपर्नेछ । साथै, सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको हुनुपर्नेछ ।
वित्तीय तथा आर्थिक शुद्धता हुनुपर्नेछ । समाजमा मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी वा सहकारी संस्थाको बचत अपचलनजस्ता कुनै पनि प्रकारका अनौपचारिक तथा अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नरहेको हुनुपर्नेछ । स्वार्थ बाझिने अवस्था हुनुहुँदैन ।
आफूले उम्मेदवारी दिन चाहेको पालिका वा वडाअन्तर्गत सञ्चालित कुनै पनि विकास निर्माण, ठेक्कापट्टा, खरिद प्रक्रिया, उपभोक्ता समिति वा सार्वजनिक आपूर्तिमा आफ्नो वा एकाघरको परिवारको स्वामित्वमा रहेको व्यावसायिक फर्मको प्रत्यक्ष संलग्नता अर्थात् स्वार्थ बाझिने अवस्था विद्यमान भए वा नभएको यथार्थ विवरण खुलाएको हुनुपर्नेछ ।
विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टता हुनुपर्नेछ । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य कुनै पनि न्यायिकरअर्धन्यायिक निकायमा आफ्नो विरुद्ध कुनै पनि प्रकारको फौजदारी, भ्रष्टाचार, ठगी वा गम्भीर प्रकृतिको देवानी मुद्दा विचाराधीन अवस्थामा रहेरनरहेको स्पष्ट विवरण खुलाएको हुनुपर्नेछ ।
यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने रास्वपाको सदस्यता प्राप्त गरेको ४५ दिन पूरा गरेपछि मात्रै उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाइने छ । अन्य दलबाट प्रवेश गरेकाको हकमा पार्टी सदस्य लिएको ९० दिन हुनुपर्नेछ ।
यसैगरी समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रुपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरुलाई भने उम्मेदवारको आवेदन दिनका लागि ल्याटर इन्ट्री दिइनेछ ।
को को उम्मेदवार बन्न पाउँदैनन् ?
उम्मेदवार छनोट रुपरेखाअनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधि सदस्य निर्वाचनमा उम्मेदवार हुन छनोट प्रक्रियामा सहभागी भएकाहरु अहिले स्थानीय तहमा उम्मेदवार बन्न पाउने छैनन् । यसैगरी अहिले स्थानीय तहको छनोट प्रक्रियामा सहभागी भएकाहरु आगामी प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार बन्न पाउनेछैनन् ।
यसैगरी तीनै तहको सरकारी कार्यालय वा संस्थामा कार्यरत कर्मचारी, निर्वाचनसम्बन्धी कसुरमा सजाय पाएर दुई वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार छनोटमै सहभागी हुन पाउने छैन ।
यसैगरी भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढीको कैद सजाय पाई अन्तिम फैसला भएको व्यक्तिले सहभागी हुन पाउनेछैनन् ।
संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्तिले पाउनेछैन ।
जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले पनि उम्मेदवार छनोटमा सहभागी हुन पाउनेछैन । प्रचलित कानुनबमोजिम कालोसूची रहेको व्यक्तिले पनि पाउनेछैन ।
छनोटका चार प्रक्रिया
रास्वपामा उम्मेदवार बन्न चाहने आकांक्षीहरुको परीक्षण तथा छनोटका चारवटा आधार छ । पहिलो– लिडरसिप एकेडेमी, दोस्रो– पलिटिकल प्रोक्सिमिटी, तेस्रो– समावेशिता र चौथो– प्रारम्भिक निर्वाचन । यी चारै चरण पारे गरेमा मात्रै रास्वपाबाट पालिकामा उम्मेदवार बन्न पाइनेछ । रास्वपाले नेतृत्व परीक्षण तथा वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीमार्फत मूल्यांकन गर्नेछ । समग्र मूल्यांकन प्रणालीमा लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत अंक प्रदान गरिनेछ ।
अर्थात १०० सयमा २५ नम्बर ल्याउनुपर्छ । वैचारिक र व्यावहारिक रुपमा सक्षम नेतृत्व निर्माणको लागि सञ्चालित लिडरसिप एकेडेमीमा राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा र स्थानीय सुशासनका विविध आयामहरुमा आकांक्षीहरुलाई पूर्वनिर्धारित मोडलमार्फत अनिवार्य रुपमा प्रशिक्षित गरिन्छ । एकेडेमीको परीक्षणमा तोकिएको न्यूनतम मापदण्ड पार गरी उत्तीर्ण हुने आकांक्षीहरुले मात्र छनोटको अर्को चरणमा प्रवेश पाउनेछन् ।
एकेडेमीमा मुख्यत ७ वटा विषय पढाइन्छ । पहिलो वैचारिक स्पष्टता, संविधान र स्थानीय स्वायत्त शासन, दोस्रो कानुनी साक्षरता, असल व्यवस्थापन तथा सम्पदा संरक्षण, तेस्रो प्रविधिमैत्री प्रशासन र डिजिटल साक्षरता, चौथो शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सामाजिक विकास र विपद् व्यवस्थापन, पाँचौ व्यक्तिगत वित्तीय साक्षरता र जीवनशैली व्यवस्थापन, छैठौं स्थानीय आर्थिक विकास तथा दिगो स्रोत व्यवस्थापन र सातौँ खुला सरकार, प्रभावकारी सञ्चार तथा जनसम्पर्क पढाइन्छ ।
यसका अलावा वडाध्यक्ष आकांक्षीलाई फ्रन्टलाइन प्रशासन, समुदायस्तरको योजना र न्याय पनि पढाइन्छ । उपप्रमुख र उपाध्यक्षलाई न्याय सम्पादन विशेष अधिकार, बजार अनुगमन र उपभोक्ता हित, अनुमगन र एकद्वार प्रणालीबारे प्रशिक्षण दिइन्छ । प्रमुख तथा अध्यक्ष आकांक्षीलाई कार्यकारी नेतृत्व र नीति निर्माण, भू९उपयोग नीति र पूर्वाधार, आन्तरिक आय तथा लगानी प्रवर्द्धन, कार्यालय व्यवस्थापन, टिम व्यवस्थापन र द्वन्द्व व्यवस्थापन, समन्वय एवं साझेदारी पढाइन्छ ।
पलिटिकल प्रोक्सिमिटीमा विगतको राजनीतिक पृष्ठभूमि, समाजमा स्थापित जनसम्बन्ध, चारित्रिक धरातल, लोकप्रियता र विजयको सम्भाव्यताको समग्र तथा वस्तुपरक मूल्याङ्कन गरिनेछ । यहाँबाट अन्तिम नतिजामा २५ प्रतिशत अंक समावेश गरिनेछ । पोलिटिकल प्रोक्सिमिटीमा सांगठनिक आबद्धता, विगतको भूमिका र अनुशासन, विजयको सम्भाव्यताको वैज्ञानिक मापन, जनसम्बन्ध, बहुआयामिक लोकप्रियता र सार्वजनिक आचार, शैक्षिक, पेसागत तथा भुइँतहको प्रमाणित अनुभव, तटस्थ सामाजिक परीक्षण र स्थापित सदाचार हेरिनेछ ।
समावेशितालाई परम्परागत जातीय कलस्टरका साथै जनसांख्यिकीय अनुपात, उमेर समूह, लैंगिक समानता, अपांगता, भौगलिक विकटता र सामाजिकरआर्थिक पृष्ठभूमिसहितको बहुआयामिक समावेशिताका रुपमा हेरिनेछ । परिवारको सदस्यले राज्यको कुनै लाभको पद पाएको भए त्यस्तो परिवारका व्यक्तिलाई समावेशितामा सहभागी गराइनेछैन । पहिला नै आरक्षण कोटा सुविधा पाएकालाई पनि दिइनेछैन ।
लैंगिक समानता र कार्यकारी नेतृत्वमा दाबी, सामाजिक पहिचान र जनसांख्यिकीय प्रतिनिधित्व, युवा पुस्ता र फर्किएका उद्यमी, अपाङ्गता र विपन्न वर्ग, आन्तरिक भौगोलिक वञ्चितीकरणका आधारमा समावेशिता मूल्यांकन हुनेछ । त्यसैअनुसार नम्बर प्राप्त गर्नेछन् ।
प्रारम्भिक निर्वाचनबाट ४० प्रतिशत अंक भार
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न पहिला पार्टीभित्रै प्रारम्भिक अर्थात प्राइमरी इलेक्सन हुनेछ । यसमा पार्टी संरचनाभित्र रहेका सदस्यले आफ्नो मतमार्फत आफ्नै पार्टीका उम्मेदवार छनोट गर्छन् । प्रारम्भिक निर्वाचनले उम्मेदवारको लोकप्रियता, संगठनात्मक स्वीकार्यता र जनाधारलाई परीक्षण गर्ने मात्र होइन, निर्णय प्रक्रियामा पार्टी सदस्यहरुको सार्वभौम अधिकारलाई समेत सुनिश्चित गर्ने रास्वपाको भनाइ छ । यो अभ्यासले नेपाली राजनीतिमा उम्मेदवार छनोटमा देखिने पहुँच, प्रभाव, नातावाद, कृपावाद, गुटगत दबाब, आर्थिक हैसियत वा नेतृत्व निकटतामा आधारित प्रवृत्तिलाई निरुत्साहित गर्ने अपेक्षा छ ।
प्रारम्भिक निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रभित्र मतदाता ठेगाना कायम भएका पार्टीका सम्पूर्ण साधारण सदस्यहरू, वडा तथा पालिका कमिटीका बहालवाला पदाधिकारी तथा सदस्यहरू, जिल्ला तथा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, र पार्टीका केन्द्रीय विभागका सदस्यहरू, पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू र सङ्घीय सांसदहरूले मतदान गर्नेछन् । मतदान अनलाइन र वैकल्पिक विधि दुवैबाट हुनेछ । सम्बन्धित पालिकाको प्रारम्भिक निर्वाचनको मतदान र मतगणना सम्पन्न भइसकेपछि चारवटै चरणको प्राप्तांकको जोडसहितको विस्तृत स्कोरबोर्ड र अन्तिम नतिजा एकमुष्ट सार्वजनिक गरिनेछ ।
स्थानीय तह उम्मेदवार छनोट रुपरेखालाई कार्यान्वयन गर्न रास्वपाले पूर्ण क्षेत्राधिकारसहित एक उम्मेदवार छनोट रुपरेखा कार्यान्वयन तथा समन्वय समिति गठन गर्नेछ र त्यहीँबाट उम्मेदवार छनोट गर्नेछ । समितिमा केन्द्रीय सचिवालयले तोकेको कुनै पार्टी पदाधिकारी संयोजक, सातै प्रदेशका पार्टी सभापति पदेन सदस्य, सातै प्रदेशबाट भौगलिक तथा समावेशी सन्तुलन मिलाई केन्द्रीय सचिवालयले तोकेको पार्टी केन्द्रीय सदस्य तथा सांसद समिति सदस्य हुनेछन् । संयोजकले तोकेको एकजना सदस्य सचिव हुनेछ ।
उम्मेदवार छनोट प्रक्रियामा आर्थिक लेनदेन तथा चलखेल पूर्ण प्रतिबन्ध गरिएको छ, आन्तरिक मतदान तथा मूल्यांङ्कनमा धाँधलीविरुद्ध कडा कारबाही अवलम्बन गरिएको छ, छनोट समितिमा संलग्न पदाधिकारी तथा सदस्यहरुको आचरण कडाइ गरिएको छ । गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मानिएको छ ।