नेभिगेशन
नेताका कुरा

पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार केन्द्रीय सदस्यहरुका लागि आयोजित प्रशिक्षणलाई सम्बोधन गरे । सम्बोधन गर्दा लामिछानेले पार्टीपंक्तिलाई सातवटा सन्देश उनले दिए । उनले पद र पावरको उन्माद नदेखाउन र नागरिकको साथ नछोड्न सुझाउँदै आफ्नो प्रतिबद्धता नबिर्सिन आग्रह गरे । आफ्नो पार्टी नीति र नेतृत्वका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिए । ‘नीति विचारमा सिद्धान्त निष्ठ भएर काम गरौ भन्ने सिंगो समाजले अभाव महसुस गरेको छ । नेता चुनाव र पद केन्द्रीत हुँदै जाँदा त्यसको प्रभाव समाजमा परेको छ । प्रतिबद्धताको अभाव छ,’ उनले भने । क्षमता, विज्ञता र योग्यतामा धेरै अब्बल भए पनि राजनीतिक प्रतिबद्धता चाहिने उनको भनाइ थियो । 

राजनीतिक प्रतिबद्धताका लागि प्रधामन्त्री पद त्यागे
सभापति लामिछानेले परिवर्तनको राजनीतिक प्रतिबद्धताकै कारण आफूले ०७९ को संसदमा प्रधानमन्त्रीको अफर अस्वीकार गरेको पनि स्मरण गराए । ‘एउटा यस्तो समय थियो, मलाई २१ सीटको दलको नेताको रुपमा प्रधानमन्त्री बन्नको निम्ति मेरोमात्र हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो,’ उनले सुनाए, ‘भइदिउन त भन्दा त्यति गाह्रो थिएन । तर त्यतिखेर एउटै चिज दिमागमा आयो, कि यत्रो आन्दोलन, आशा, भरोसा कहाँ जाने ? म भइ नै हालेछु भने पनि दुई महिना चार महिना छ महिनाको प्रधानमन्त्री बन्थे होला । धेरै नै धेरै भए सिंहदरबारमा एउटा तस्बिर टाँसिन्थ्यो होला । तर देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, परिवर्तन कुरेर बसेको थियो । यस्ता होनहार मान्छे कुरेर बसेको थियो । मसँग त्यो अधिकार थिएन । त्यतिखेर साँच्चै नै मलाई त्यो महसुस भएको हो । म यहाँ गर्वका साथ भन्न सक्छु, त्यसलाई हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो । किनकि यो आन्दोलन र यो मोमेन्टले कुरिरहेको थियो । मैले यति कुरा त्यागी भनेर भन्न खोजेको होइन, यति प्रतिबद्धता चाहिन्छ भन्न खोजेको हो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले इमान्दारिता, योग्यता र क्षमताका साथै राजनीतिक प्रतिबद्धता चाहिने दोहोर्याए । ‘तपाईको इमान्दारिता, योग्यता र क्षमतालाई चुनौती दिन म सँग केही धेरै योग्यता छैन । तर, राजनीतिमा कतै न कतै त्यो प्रतिबद्धता, आँट, साहस, हिम्मत हामीसँग हुनुपर्छ,’ उनले भने, ‘भोलि आउने चुनावमा यहाँ भएका कैयौ साथीहरुले कुनै कारणले टिकट पाउनुभएन भने सबैभन्दा पहिला मलाई फेसबुकमा गाली गरेर निस्किने पनि हुनुहुन्छ होला कोही । त्यस्तो पनि हुनसक्छ । तर त्यो धेरै हुन्छ कि भन्ने कुराले सताउँछ । जसोतसो राजनीति त हाम्रो पोल्टामा आइपुग्यो । तर यो हाम्रो लाभमा प्रयोग नहोस् ।’

Ncell
Extreme Energy

बाटो विराउने छुट छैन
सभापति लामिछानेले यति धेरै युवाहरु केन्द्रीय सदस्य, सांसद, मन्त्रीहरु भएको पहिलोपटक भन्दै बाटो विराउने छुट नभएको बताए । ‘तपाई हामीले बाटो विरायौ भने संसारभर युवाको नेतृत्वले काम गर्दैन, युवा भनेर हुँदो रहेनछ भनेर सन्देश जान्छ । देख्नु भयो नि नेपाल भनेर संसारका अन्य देशले भन्नेछ । हाम्रो शिर झुक्छ । शिर झुकाउने काम गर्नुहुन्न । केही गर्न सकिन्न भने पनि गलत गर्नुहुन्न । राम्रो केही गर्न सकिन्न भने नराम्रो केही पनि नगर्ने कमिटमेन्ट कम्तीमा हामीले गर्न सकिन्छ नि,’ उनले भने । 

पुरानालाई अब दोष नलगाउ
सभापति लामिछानेले ३५ वर्ष केही नभएको भनेर दोष नलगाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । ‘हिजो हामीले दोष लगाउने कैयौ मान्छेहरु थिए । कैयौ नेताहरु थिए । जसलाई दोष लगाउँदा नि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्छौं । आज कसलाई दोष देखाउने ? हामीले दोष देखाउनुपर्ने कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरु, अबको ३५ वर्षको योजना ल्याउनुस् । अब बितेको ३५ वर्षको लागि उहाँहरुलाई कसरत गर्ने ठाउँमा हामी छैनौं । जति सके गरे । धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने, हाम्रै हातमा छ नि,’ उनले भने ।

सभापति लामिछानेले देशमा संस्थाहरु रहेको र आफ्नो काम गरिरहेको भन्दै अबको ३५ वर्षमा देशलाई कहाँ लैजाने, शिक्षा नीति के हुने, आम नागरिकले हाम्रो नेतृत्वमा के पाउँदैछन्, हाम्रो विकास नीति, वैदेशिक नीति के हो, अर्थतन्त्रले कुन आकार ग्रहण गर्दैछ, हाम्रो सामाजिक लोकतन्त्रको अभ्यासबाट कुन उपलब्धी हासिल गर्न खोज्दैछौं भन्नेमा हाम्रो ध्यान र समय जानुपर्ने बताए । जिम्मेवारी बाँडफाँडबाट बलियो पार्टी बन्ने लामिछानेले बताए ।

कुनै पनि सदस्यको शिर झुकाउन दिँदैन
सभापति लामिछानेले आफ्नो कारणले पार्टीका कुनै पनि सदस्यको शिर झुकाउन नदिने प्रतिबद्धता जनाउँदै केन्द्रीय सदस्यबाट पनि त्यही प्रतिबद्धता खोजे । सिंगो देशको ध्यान अहिले राजनीतिमा रहेको र विभिन्न पेशा व्यवसाय गरेका मान्छे राजनीति संग्ल्याउन आएको बेला इतिहासमा यो भन्दा बढी जिम्मेवार हुने समय कहिल्यै नहुने बताए । ‘इतिहासले दिएको यो जिम्मेवारीबाट हामी कतै विचलित त हुँदैनौं ? जानेर वा नजानेर, झुक्किएर पनि हामीबाट भएका क्रियाकलापले मुलुकको लोकतन्त्र कमजोर नबनोस् । यो हाम्रो पहिलो जिम्मेवारी थियो,’ उनले भने । यो मौकालाई इतिहासले दिएको मौका सम्झेर काम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

सभापति लामिछानेले स्थानीय तहको निर्वाचन आउनै लागेको भन्दै केन्द्रमा अलमलिने भन्दा गाउँटोलमा गएर के काम गरिरहेको छ, के गर्नेछौं भनेर जानकारी गराउन निर्देशन दिए । यो नगरेपछि धेरै कुरामा पछि पर्ने उनको भनाइ थियो । ‘अहिले सरकारमात्र होइन प्रतिपक्षी झन् बलियो छ । बलियो प्रतिपक्षीसँग राजनीतिक तवरले काम गर्न सकेनौ भने त्यसले अर्कै ठाउँमा लिएर जान्छ । यसपटक पनि वर्षौदेखि देखिएको सपना पूरा गर्न सकेनौ भने मुलुक एउटा हिरासतमा पर्न सक्छ,’ उनले चेतावनी दिए । 

सुशासनमा सरकार सही ठाउँमा
सरकारको नियत र नीतिमा समस्या नरहेको भन्दै सभापति लामिछाने भने, ‘सुशासनको मुद्दा उठाएको रास्वपा सरकारले आज कुनै एक ठाउँमा अनियमितता गरेको प्रश्न उठेको छैन । यो सबैभन्दा ठूलो कुरा हो । आज तिमीहरुले भ्रष्टाचार गर्यौं, तिमीहरुको यो काण्ड भयो, तिमीहरुले यहाँ अनियमितता गर्यौं भनेर एकजनाले पनि भन्न सकेका छैनन् । यो दिन हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भने । 

जनताको गुनासो सुन्न देशैभरी जाने 
हप्ता दश दिनमा आफू मधेश जान लागेको र अन्य नेताहरुले जनताको गुनासो सुन्न देशैभरी जाने सभापति लामिछानेले बताए । ‘हामी देशैभरी जानेछौं । पार्टी पूर्ण चलायमान हुनेछ । यस बीचमा सरकारका काम कारवाहीमा आम नागरिकले सोधेका हरेक प्रश्नको जवाफ र समाधान हामीसँग हुनुपर्छ । त्यसका लागि तयार रहनुहोला,’ उनले निर्देशन दिए । 

सरकारले गरेका काम छायामा पार्नेगरी राजनीति भइरहेको भन्दै सभापति लामिछानेले नागरिकले जे भनेर भोट दिएको त्यो पूरा गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए । सरकार र पार्टीलाई जिम्मेवार बनाउन केन्द्रीय सदस्य, सांसद र मन्त्रीलाई पार्टी कार्यालयमा बोलाएर नागरिकसँग संवाद गरिरहेको उनले जानकारी गराए । पहिलो वर्षमा गर्दैछन् भनेर आम नागरिकबाट धेरै गुनासो नआएको उनले दाबी गरे । ‘ती नागरिक जसले घरमा परिवारसँग झगडा गरेर घण्टीमा भोट हालेका छन्, उनीहरु अहिले बोलेका छैनन् । उनीहरुले भनेका छन्, यो सरकारले भ्रष्टाचार गरेको छैन, नबोल भनिरहेका छन् । उनीहरु बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ । उनीहरुलाई बोल्न दिन आउन नदिने जिम्मा तपाईहरुको । त्यसका लागि पार्टी निरन्तर काम गरिरहेको छ,’ उनले भने । 

पालिका चुनावमा नेताको निगाहबाट होइन विधिबाट उम्मेदवार छनोट
सभापति लामिछानेले स्थानीय तह निर्वाचनमा क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी अक्षरश पालना गरेर उम्मेदवार छनोट गरिने पनि स्पष्ट पारे । ‘पार्टीले अनुमोदन गरेका दस्तावेजहरुको अक्षरश पालना हुन्छ । पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरश पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौं,’ उनले भने । सभापति लामिछानेले समायोजन महाधिवेशनमा टुंग्याइसकेको भन्दै अब कुनै प्रिभिलेज नहुने बताए । हल्ला र गसिपको पछाडितर्फ नलागीकन पार्टीलाई बलियो बनाउनेगरी अगाडि बढ्न निर्देशन दिए । 

उनले आउने चुनावमा कसैको निगाहमा कोही उम्मेदवार नबन्ने स्पष्ट पारे । ‘आउने चुनावमा तपाई उम्मेदवार हो भनेर कसैले तपाईलाई भनेको छ भने तपाईलाई त्यसले नराम्रोसँग ठग्दैछ । असाध्यै नराम्रोसँग । अझ त्यसको लागि कसैले झुक्याएर तपाईसँग यसो केही लेनदेन गरेको छ भने तपाईको लगानी नराम्रोसँग डुब्छ । त्यो हुनेवाला छैन । क्यान्डिडेट क्लबबाटमात्रै उम्मेदवार छान्छौं,’ उनले सचेत गराए, ‘जसले तपाईलाई झुक्याएछ, त्यसको प्रमाण ल्याउनुभएछ भने, त्यो झुक्याउने मान्छेले कुनै अनुचित लेनदेन समेत गरेको रहेछ भने तपाईमात्र होइन, हम तो डुबे सनम, तुमको भी लेके डुबेंगे, एक्लै त डुब्नेवाला छैन, दुबै डुब्नुहुन्छ । त्यसको जानकारी दिएर पार्टीलाई गुन लगाइदिनुहोला ।’  

सभापति लामिछानेले पदको आडमा वा नेताहरुको नाम बेचेर कुनै जागिर, ठेक्का, काम गराएमा व्यक्ति जिम्मेवार हुने चेतावनी दिए । स्वच्छ प्रतिस्पर्धामा आफूहरुले विश्वास गर्ने भन्दै नाम बेच्नेहरुको विश्वास नगर्न आह्वान गरे । सभापति लामिछानेले देशको भविष्य बदल्ने नेता बन्न सुझाव दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।