काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना स्वीकार गर्ने तर चरित्रहत्या अस्वीकार गर्ने बताएका छन्।
सोमबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आफूमाथिको आक्रमण नयाँ नभएको बताएका हुन्।
‘राजनीतिमा आलोचना अस्वाभाविक पनि होइन। जो सार्वजनिक जीवनमा बस्छ, उसले प्रश्न सुन्नुपर्छ। जो राज्यको नेतृत्वमा पुग्छ, उसले जवाफ दिनुपर्छ। जो पार्टीको अध्यक्ष हुन्छ, उसले साथीहरूको कठोर समीक्षा पनि सहनुपर्छ। म यसबाट कहिल्यै भागेको छैन। तर आलोचना र चरित्रहत्या एउटै कुरा होइनन्,’ उनले भने।
प्रश्न र पूर्वनिर्धारित फैसला एउटै कुरा नभएको उनको भनाइ छ। त्यस्तै लछानबिनको माग र सामाजिक हत्या एउटै कुरा नभएको पनि उनले बताएका छन्।
‘मलाई दुःख लागेको आलोचनाबाट होइन। मलाई दुःख लागेको त्यतिबेला हो, जब तथ्यको खोजी नगरी आरोपलाई नारा बनाइयो। जब अपुष्ट कुरालाई प्रमाणजस्तै गरी बोलियो। जब बाहिरका विरोधीले चलाएको भाषा पार्टीभित्रका केही साथीहरूको मुखबाट पनि उही ताल, उही शब्द र उही लक्ष्यसहित सुनिन थाल्यो। राजनीतिमा जब गलत बाटो समातिन्छ कसैलाई कमजोर बनाउन सबैभन्दा पहिला उसको विचारमाथि होइन, उसको नैतिक आधारमाथि प्रहार गरिन्छ। किनभने विचारसँग तर्क गर्नुपर्छ, तर चरित्रमाथि हिलो छ्याप्न सजिलो हुन्छ। एउटा पुरानो शास्त्रीय कथन छ— जब कसैलाई युद्धमा हराउन सकिँदैन, उसलाई अपमानित गर्ने प्रयत्न गरिन्छ। महाभारतमा पनि अस्त्र मात्र चल्दैन, अपमान पनि चल्छ। राजनीतिमा पनि त्यही हुन्छ। पहिले मानिसको छवि भत्काऊ, त्यसपछि उसको कुरा सुन्ने समाजको धैर्य घटाऊ, अनि उसको तर्क आउनुअघि नै उसलाई दोषी बनाऊ,’ उनले भने।
अहिले आफूमाथि भएका धेरै आक्रमणको मूल विधि यही भएको उनको ठहर छ।
‘यहाँसम्म कि, मेरो स्वास्थ्यको समेत मजाक बनाइयो। उमेरलाई अपमानको विषय बनाइयो। बोलीलाई व्यङ्ग्य बनाइयो। राष्ट्रियताको अडानलाई अहङ्कार भनियो। संविधानको रक्षा गर्ने आग्रहलाई पदलोलुपता भनियो। स्पष्ट भाषालाई तानाशाही भनियो। धैर्यलाई जिद्दी भनियो। आत्मविश्वासलाई घमण्ड भनियो। के यो आलोचना हो?,’ उनले भने।
आलोचना नीतिमा, शैलीमा र निर्णयमा हुने उनको भनाइ छ।
‘तर कसैको रोग, उमेर, शरीर, यदि सामाजिक सञ्जाल नै अदालत हो भने संविधान किन चाहियो? यदि चरित्रहत्या नै राजनीति हो भने विचार किन चाहियो? लोकतन्त्रको मर्यादा यसैमा छ — कठोर आलोचना पनि प्रमाण, विधि र मर्यादामा बाँधिन्छ। जब मर्यादा हट्छ, राजनीति भीडको मनोरञ्जन बन्छ,’ उनले प्रतिवेदनमार्फत भनेका छन्।
पूर्वीय शास्त्रले वाणीलाई तपस्या मानेको ओलीले बताएका छन्।
‘सत्य बोल, प्रिय बोल, हितकारी बोल, तर सत्य पनि अप्रिय नबोल। आजको राजनीतिमा उल्टो चलन बढेको छ— असत्य पनि बोल, अपमान पनि बोल, उपयोगी भए दोहोर्याइरहु। यो राजनीति होइन, वाणीको हिंसा हा । ममाथि भएको आक्रमण धेरै ठाउँमा यही वाणी–हिंसा थियो। शरीरमा लागेको घाउ देखिन्छ, शब्दले लगाएको घाउ समाजको स्मृतिमा बस्छ,’ उनको भनाइ छ।
यही कारण चरित्रहत्या, हत्याजत्तिकै गम्भीर राजनीतिक अपराध भएको उनको ठहर छ। किनभने यसले जीवित मानिसलाई समाजको मनमा मृत बनाउने प्रयास गर्ने ओलीले बताएका छन्।
‘म आलोचनाबाट भाग्दिनँ। तर झुट स्वीकार गर्दिनँ। म छानबिनबाट डराउँदिनँ। तर अपुष्ट आरोपलाई फैसला मान्दिनँ। म आत्मसमीक्षाको पक्षमा छु। तर आत्मसमीक्षाको नाममा प्रतिशोधको मञ्च स्वीकार गर्दिनँ। मेरो जीवन खुला छ। मेरा निर्णयहरू सार्वजनिक छन्। जहाँ प्रश्न छ, म जवाफ दिन तयार छु। जहाँ छानबिन चाहिन्छ, म सहयोग गर्न तयार छु। तर जसले पहिले नै मलाई दोषी मानेर त्यसपछि प्रमाण खोज्न निस्कन्छ, उसले सत्य होइन, आफ्नो पूर्वाग्रह पुष्टि गर्न खोजिरहेको हुन्छ । म त्यसको सहयोगी बन्न सक्दिन। यत्ति कुरा त साथीहरूले बुझ्नैपर्छ,’ उनको आग्रह छ।
उनले अगाडि भनेका छन्, ‘आज म पार्टीलाई भन्न चाहन्छु, हामीले दुई काम सँगै गर्नुपर्छ। पहिलो, सबै सार्वजनिक आरोपहरूको तथ्यगत प्रतिवाद गर्ने प्रणाली बनाउनुपर्छ। कुन आरोपमा के तथ्य छ, कुन निर्णय कहिले भयो, कुन निकाय जिम्मेवार थियो, अदालतले के भन्यो, छानबिन कहाँ छ, प्रमाण के छ, भ्रम के हो— सबै कुरा सजिलो भाषामा जनतासम्म पुर्याउनुपर्छ। दोस्रो, जहाँ वास्तविक कमजोरी छ, त्यसलाई नलुकाई सुधार गर्नुपर्छ,’ उनले भनेका छन्।
सत्य लुकाएर पार्टी बलियो नहुने उनको भनाइ छ। तर झुट सहेर पनि पार्टी बलियो नहुने उनले बताएका छन्।
‘ममाथि अन्याय भएको छ, तथ्य राखेर भन्दै छु। वर्षौंको सङ्घर्षलाई केही हल्लाले मेट्न खोजियो। जेल, आन्दोलन, संविधान, राष्ट्रियता, नाकाबन्दीको सामना, सङ्गठन निर्माण, विकासको सपना— यी सबैलाई केही झुटा आरोपको धुवाँमा हराउन खोजियो। म मानिस हुँ, गल्ती हुन सक्छ। निर्णय त्रुटिपूर्ण हुन सक्छ। शैलीमा कमी हुन सक्छ। तर गल्ती गर्ने मानिस र अपराधी बनाइने मानिसबिच फरक हुन्छ। मलाई यही फरक मेटेर प्रस्तुत गरियो। यही अन्याय हो। हाम्रो राजनीतिक निष्कर्ष स्पष्ट छः आलोचना स्वीकार, छानबिन स्वीकार, पारदर्शिता स्वीकार, तर चरित्रहत्या अस्वीकार गर। झुट अस्वीकार, रचिएका झुटा आरोपको सार्वजनिक न्यायालय अस्वीकार गर। पार्टीभित्र असहमति स्वीकार, तर पार्टीको मनोबल तोड्ने सार्वजनिक गोलाबारी अस्वीकार गर। यही सन्तुलनले मात्र एमालेलाई नैतिक रूपमा बलियो बनाउँछ। सत्यसँग नलड्ने, तर झुटसँग नझुक्ने पार्टी नै फेरि उठ्न सक्छ,’ उनको भनाइ छ।