नेभिगेशन
समाज

ओलीलाई सम्मानजनक बिदाइको बाटो रोज्न ईश्वर पोखरेलको पत्र

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा विदाइ गर्दै विधिसम्मत ढंगले नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अनुपस्थित पोखरेलले अध्यक्ष ओलीलाई पत्र पठाउँदै पार्टीभित्र विधि र पद्धति कमजोर हुँदै गएको, सामूहिक नेतृत्व र निर्णय प्रक्रियामा संस्थागत अभ्यास कमजोर बनेको तथा आलोचनात्मक चेतलाई निरुत्साहित गरिएको बताएका छन्।

Ncell
Extreme Energy

पोखरेलले पार्टीको पुनर्गठन–हस्तान्तरण–रूपान्तरण व्यक्तिकेन्द्रित नभई विचार, विधि, संगठन, नेतृत्व, कार्यशैली र निर्णय प्रक्रियासहित समग्र पार्टी जीवनमा हुनुपर्ने उल्लेख गरेका छन्।

उनले पुनर्गठनका क्रममा पार्टीको वैधानिक व्यवस्था अद्यावधिक गर्ने, संगठनात्मक संरचनालाई पुनर्व्यवस्थित गर्ने, नेतृत्वमा आवश्यक परिवर्तन गर्ने र कार्यसम्पादन शैलीमा सुधार ल्याउनुपर्ने बताएका छन्।

पोखरेलले ओलीलाई विगतमा आफूले दिएको सुझाव स्मरण गराउँदै भनेका छन्, ‘तपाईं एघार वर्ष हाम्रो पार्टीको अध्यक्ष भइसक्नुभयो, संविधान जारी भएको दस वर्षमा ६ वर्ष प्रधानमन्त्री बनिसक्नुभयो। तपाईंको यो कार्यकालमा राम्रा कामहरू पनि भएका छन् साथै कमजोरीहरू पनि देखापर्दै गएका छन्। कमजोरीहरूको सिलसिला बढ्दो छ।’

उनले ओलीलाई पार्टी अध्यक्षबाट सम्मानजनक विदाइ र ओलीकै योजना तथा प्रस्तावमा संस्थागत रूपमा नयाँ नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

‘विगतमा जे भो, भो ! यतिबेला तपाईंको सम्मानसाथ विदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जानुभन्दा अर्को आशा जगाउने विकल्प छैन र हुनै सक्तैन,’ पोखरेलले पत्रमा भनेका छन्, ‘यो कामका लागि तपाईं स्वयम्को सकारात्मक भूमिका अहिलेको आवश्यकता हो।’

पोखरेलले पार्टीभित्र ‘म रहिनँ भने पार्टी चल्नै सक्तैन’ र ‘म नै हुँ सर्वेसर्वा’ भन्ने भावनाको अन्त्य हुनुपर्ने बताएका छन्। विधि र प्रक्रियाअनुसार हुने निर्णय सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले पार्टीभित्र आलोचना र आत्मालोचनालाई निरपेक्ष रूपमा अस्वीकार गर्न नहुने पनि बताएका छन्। आलोचनात्मक चेत समाप्त हुँदा विचारको खडेरी पर्ने भन्दै पोखरेलले पार्टीमा विचारको बहस या त निस्तेज पारिएको वा अराजक ढंगले प्रस्तुत हुने अवस्था बनेको बताएका छन्।

‘आन्दोलनको यत्रो इतिहास बोकेका, पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका यति धेरै साथीहरू किन निस्तेज हुँदै गए ? कि समर्थनमा बोल्नुपर्यो, होइन भने बक्रदृष्टिमा पर्नुपर्यो वा कोपभाजन हुनुपर्यो ! यसबीचमा यस्तै भएन र ? फर्केर हेरौं त कमरेड !’ उनले ओलीलाई सम्बोधन गर्दै भनेका छन्।

पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण एमालेप्रति आकर्षणको महत्वपूर्ण विषय भए पनि त्यसलाई तत्कालीन सत्ता स्वार्थअनुसार प्रयोग गर्दा त्यसको मूल शक्ति कमजोर बनेको बताएका छन्। त्यसकै परिणाम पार्टी र मुलुकले अहिले भोगिरहेको उनको दाबी छ।

उनले फागुन २१ को आम निर्वाचनको परिणामलाई समेत पार्टीका लागि गम्भीर धक्कासँगै नयाँ सुरुवात गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

‘यी सबै हाम्रा लागि धक्का मात्र थिएनन्, नयाँ प्रारम्भ गर्ने चुनौतीपूर्ण अवसर पनि थिए ! तर दुर्भाग्य ! हामीले स्वीकार गर्न सकेनौं,’ उनले भनेका छन्, ‘खासमा तपाईंले स्वीकार्नु भएन।’

पोखरेलले पत्नी मिरा पोखरेल (ध्वोंजु) लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेको र पछिल्लो समय क्यान्सरबाट समेत पीडित भएकाले उनको उपचारलाई प्राथमिकता दिनुपर्ने भएको भन्दै केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन नसकेको पत्रको सुरुमै उल्लेख गरेका छन्।

उनले पारिवारिक परिस्थितिका कारण बैठकमा उपस्थित हुन नसके पनि राष्ट्रिय राजनीति र पार्टी जीवनसँग सम्बन्धित विषयमा आफ्नो धारणा सार्वजनिक गरेको बताएका छन्।

पत्रको अन्त्यमा पोखरेलले पार्टीको पुनर्गठनमार्फत आम कार्यकर्ता र जनतामा आशा जगाउन सकिने उल्लेख गर्दै त्यसका लागि देशभरका कार्यकर्ताको चाहनाअनुसार ओलीको सम्मानजनक मार्गप्रशस्त महत्वपूर्ण हुने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
ड्राइभरले बसमा आगो लगाउँदा पासपोर्ट बन्द

ड्राइभरले बसमा आगो लगाउँदा पासपोर्ट बन्द

राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर परेको छ।
५० बुँदामा पढ्नुहोस् ओलीको राजनीतिक प्रतिवेदन

५० बुँदामा पढ्नुहोस् ओलीको राजनीतिक प्रतिवेदन

नेकपा (एमाले) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई ‘सत्ता परिवर्तनको खेल’का रूपमा व्याख्या गरेको छ।
हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक अब अवसर चाहेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले नागरिकहरू राज्य र पार्टी...