नेभिगेशन
समाज

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, यी स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । आगामी असोज ९ गतेदेखि ११ गतेसम्म मनसुन थप सक्रिय हुने भएकाले विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाले सोमबार जारी गरेको ‘मनसुन विशेष मौसम बुलेटिन–३’ अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।

Marvel
Extreme Energy

त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य–पूर्वी आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) मा परिणत भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको हो।

यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बाढी, पहिरो र डुबानको जोखिम

महाशाखाले सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने जनाएको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने र ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी आसपासका क्षेत्रमा निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाको चेतावनी छ।

महाशाखाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। केही स्थानबाट धनबाली भित्र्याउन मौसमसम्बन्धी जानकारी माग भइरहेको भन्दै कृषि विकासको काममा समेत सावधानी अपनाउन सुझाव दिइएको छ।

त्यस्तै उक्त मौसम प्रणालीको प्रभावका कारण देशका हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन प्रणालीको निरन्तर अनुगमन गरिरहेको र अवस्था हेरी नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ। महाशाखाले जारी गर्ने मौसम पूर्वानुमान तथा मौसमी सूचना नियमित रूपमा हेर्नसमेत आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation