वाशिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टनपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाइजहाजको भर्याङमै पुगेर दुर्लभ भव्य स्वागत गरेका छन् ।
सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने अभ्यास रहेकामा ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्गमै सीलाई स्वागत गरेका हुन् । दुवै देशका उच्च अधिकारीहरूबीच व्यापार युद्धको विरामलाई आगामी जनवरीसम्म लम्ब्याउने सहमति भएपछि यो स्वागत दृश्य देखिएको हो ।
सीको विमानको ढोकामा राखिएको भर्याङको फेदमा १०० फिट (३० मिटर) लामो रातो कार्पेट बिछ्याइएको थियो । कार्पेटको दुवैतिर २१ जनाको गार्ड अफ अनर (सम्मान गार्ड) तैनाथ गरिएको थियो । ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प विमानको छेउमा उभिएर सी र उनकी पत्नी पेङ लियुआनलाई हात मिलाएर स्वागत गरेका थिए ।
ट्रम्पको यो निर्णयले एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिकाको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई दिइएको उच्च प्राथमिकता देखाउँछ ।
स्वागत समारोहमा दुईवटा बी-१ बमवर्षक विमानको 'फ्लाईओभर' (हवाई प्रदर्शन), सेनाका प्रत्येक निकायको टोली, तथा दुवै देशको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रस्तुति समावेश थियो । ट्रम्प र उनकी पत्नीले आफ्ना समकक्षीहरूसँग कुराकानी गरे पनि उनीहरूको आवाज सुनिएको थिएन । बाहिर ६३ डिग्री फरेनहाइट (१७ डिग्री सेल्सियस) को तुलनात्मक रूपमा न्यानो मौसम भए तापनि ट्रम्पले पन्जा र ओभरकोट लगाएका थिए । सीसँग हात मिलाउन उनले एउटा पन्जा खोलेका थिए । यस अवसरमा, ट्रम्पले सीको ढाडमा सुम्सुम्याउँदै केही भनेका थिए, जुन स्पष्ट सुनिएन ।
बुधबार साँझ ह्वाइट हाउस फर्केपछि ट्रम्पले पत्रकारहरूसँग भने, 'मलाई लाग्छ उनीहरूले यसको कदर गर्छन्, उनीहरू महान् मानिसहरू हुन् ।'
अमेरिका आगमनको अवसरमा जारी गरिएको वक्तव्यमा चिनियाँ राष्ट्रपतिले आफ्नो देश र अमेरिका 'प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ' भनी लेखेका छन् । उनले लेखका छन्, 'चिनियाँ राष्ट्रको महान् पुनरुत्थान हासिल गर्नु र अमेरिकालाई पुनः महान् बनाउनु सँगै अघि बढ्न सक्छ र दुवै देशले एकअर्काको सफलतामा योगदान पुर्याउँदै व्यापक विश्वलाई फाइदा पुर्याउन सक्छन् ।'
सीको तीनदिने भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा औपचारिक आगमन समारोह तथा राजकीय भोज आयोजना हुनेछ । यस भ्रमणलाई ट्रम्पको यसै वर्षको मे महिनामा भएको चीन भ्रमणका क्रममा आफूले पाएको औपचारिक स्वागतको प्रत्युत्तरका रूपमा पनि हेरिएको छ ।
यद्यपि, उच्चस्तरीय स्वागत समारोह भइरहेका बेला अमेरिका–चीन सम्बन्ध व्यापार, कृत्रिम बुद्धिमत्ता, इरान र ताइवानलगायत विषयमा तनावपूर्ण छ । दुवै देशले सम्बन्धमा ‘रणनीतिक स्थिरता’ कायम राख्ने प्रयास गरिरहेका छन् । ट्रम्पले पछिल्ला महिनामा सीलाई ‘महान् नेता’ भन्दै उनीसँगको सम्बन्धबारे सकारात्मक धारणा व्यक्त गर्दै आएका छन् ।
शुक्रबार सी र पेङले ट्रम्प दम्पतीसँग अनौपचारिक चियापान गर्ने तथा वासिङ्टनस्थित राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम छ । त्यहाँ उनीहरूले अमेरिका–चीन सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज अवलोकन गर्नेछन् । एपी