काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्भावित विपदबाट जोगिन पाँच बुँदे अपिल जारी गरेको छ ।
रास्वपा सचेतक प्रकाशचन्द्र परियारले बिहीबार विहान मनसुनी विपद्बाट जोगिन सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेका हुन् ।
परियारकाअनुसार हाल देशैभर मनसुनी वायुको तीव्र प्रभावका कारण विभिन्न भू-भागमा भारी तथा भारीभन्दा बढी वर्षा भइरहेको र आगामी केही दिनसम्म अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण रहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह बढ्दो क्रममा छ भने पहाडी क्षेत्रहरूमा पहिरो, भू-क्षय र भू-स्खलनको जोखिम उच्च बनेको छ । तराई तथा सहरी क्षेत्रहरूमा डुबान र जलमग्न हुने समस्याले जनजीवन प्रभावित बन्न पुगेको छ ।
'यस्तो अवस्थामा हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न, जनस्वास्थ्यको रक्षा गर्न र आफ्ना आफन्त तथा छिमेकीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको तर्फबाट म सम्पूर्ण नागरिक, स्थानीय समुदाय, युवा स्वयंसेवक तथा सरोकारवाला निकायहरूमा उच्च सतर्कता अपनाउन हार्दिक अपिल गर्दछु,' उनले भनेका छन् ।
सचेतक परियारले विपद्को यस कठिन घडीमा नेपाल सरकार, गृहमन्त्रालय, सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल), स्थानीय तह र स्वयंसेवी संस्थाहरूलाई द्रुत उद्धार, राहत तथा पुनर्स्थापनाका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहन जोडदार माग गरेका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा युवाहरूलाई पनि आ-आफ्नो क्षेत्रमा उद्धार र राहत कार्यमा अग्रसर भई विपद् व्यवस्थापनमा खटिन अपिल गरेका छन् ।
'हाम्रो अलिकति सजगता र पूर्वतयारीले ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ। त्यसैले संयमित बनौँ, सतर्क रहौँ र एक-अर्कालाई सहयोग गरौँ,' उनले भनेका छन् ।
परियारले जारी गरेको पाँच बुँदे अपिल:
१. जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरौँ:
नदी, खोला, किनारका बस्ती, पहिरोको उच्च जोखिममा रहेका भिरालो जमिन तथा होचा डुबान क्षेत्रमा बसोबास गर्नुहुने नागरिकहरूले पूर्वतयारीका साथ बेलैमा सुरक्षित स्थानमा स्थानान्तरण हुनुहोस् ।
२. अत्यावश्यक बाहेक यात्रा नगराऔँ:
बाढी, पहिरो र सडक हिलो तथा अवरुद्ध हुने सम्भावना अत्यधिक रहेकाले मनसुन सक्रिय रहेको यो अवधिभर अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा वा जोखिमयुक्त सडकमा यात्रा नगर्नुहोला।
३. मौसम तथा विपद् सम्बन्धी सूचनाको नियमित पालना गरौँ:
सरकारी निकाय, मौसम पूर्वानुमान महाशाखा र स्थानीय प्रशासनले जारी गर्ने आधिकारिक सूचना, जलसतहको अपडेट र चेतावनीहरूलाई नियमित रूपमा पछ्याऔँ।
४. आपत्कालीन सामाग्री तथा सम्पर्क नम्बरहरू तयार राखौँ:
सुक्खा खाना, पिउने पानी, प्राथमिक उपचारका औषधि, टर्चलाइट र महत्त्वपूर्ण कागजातहरू सजिलै भेटिने गरी आपत्कालीन झोलामा राखौँ। स्थानीय सुरक्षा निकाय, उद्धार टोली, एम्बुलेन्स र पालिकाका आपत्कालीन नम्बरहरू सुरक्षित राखौँ।
५. समुदायस्तरमा पूर्वसूचना र सहयोग आदानप्रदान गरौँ:
आफ्नो टोल-छिमेकमा वृद्धवृद्धा, बालबालिका, गर्भवती र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ध्यान दिऊँ। कुनै पनि स्थानमा जोखिम वा दुर्घटनाको सङ्केत देखिएमा तुरुन्तै स्थानीय प्रशासन र सुरक्षा निकायलाई खबर गरौँ।