काठमाडौं । बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश आसपासबाट जमिनमा प्रवेश गरेको छ। प्रणाली आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तर प्रणाली कमजोर हुँदै गए पनि त्यसको प्रभावका कारण नेपालमा तत्कालै वर्षाको जोखिम भने नहट्ने मौसमविद्हरूले बताएका छन्। आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम कायमै रहने महाशाखाले जनाएको छ।
मौसमविद् डेभिड ढकालका अनुसार पछिल्लो १२ घण्टामा विशेषगरी लुम्बिनी प्रदेश आसपासमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको उनले बताए।
‘अहिले यो प्रणाली भारतीय भूभागमा जमिनको सतहमा प्रवेश गरेकोजस्तो देखिएको छ। त्यसको प्रभाव नेपालमा पनि देखिइरहेको छ,’ ढकालले बताए।
उत्तरी अन्दमान क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणाली बंगालको खाडीमा प्रवेश गरेपछि गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) मा परिणत भएको थियो। अहिले उक्त प्रणाली भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेर जमिनमा प्रवेश गरेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रणाली सुरुमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्नेछ। त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना छ।
आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराई भूभागका केही स्थानमा समेत वर्षा हुन सक्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीसमेत चल्न सक्ने पूर्वानुमान छ।
राति पनि वर्षाको जोखिम
आज राति देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्नेछ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। ती प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
असोज ९ गते जोखिम अझै बढी
महाशाखाले सार्वजनिक गरेको जोखिम नक्साअनुसार असोज ९ गते वर्षाको जोखिम आजको तुलनामा अझ बढ्ने देखिएको छ।
सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका केही जिल्लालाई रातो रंगले संकेत गरिएको छ। ती जिल्लामा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङ छन्।
यी क्षेत्रमा प्रतिकार्यका लागि तयारी गर्नुपर्ने अवस्थालाई रातो रंगले संकेत गर्छ।
कोशीका झापा, मोरङ र सुनसरी तथा मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालाई पहेँलो रंगले संकेत गर्दै मौसमी अवस्थाबारे अद्यावधिक रहन भनिएको छ।
यसैगरी सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीलाई यसअघि सुन्तला रंगले संकेत गरिएकोमा बिहीबार बिहानको अद्यावधिकमा पहेँलो रंगमा राखिएको छ।
असोज १० गते पश्चिमतिर जोखिम
असोज १० गते कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको जोखिम बढी रहने देखिएको छ।
डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो रंगले संकेत गरिएको छ।
लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडीलाई सुन्तला रंगले संकेत गरिएको छ।
असोज ८, ९ र १० को तुलनामा असोज ११ गते वर्षाको मात्रा केही कम हुने अनुमान छ। त्यस दिन बागमतीभन्दा पश्चिमतर्फका जिल्लालाई पहेँलो रंगले संकेत गरिएको छ भने कोशी, मधेश र बागमतीका जिल्लामा अवस्था सामान्य रहने अनुमान गरिएको छ।
बाढी–पहिरोको जोखिममा उच्च सतर्कता
महाशाखाले सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम तथा ठूला–साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात र नदी आसपासका निर्माण कार्यसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी बाढी तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन र सकेसम्म रातिको समयमा यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनासमेत रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका व्यक्तिलाई सतर्क रहन भनिएको छ।
महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै अवस्थाअनुसार थप सूचना तथा चेतावनी जारी गरिने जनाएको छ।