काठमाडौँ । नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
महानगरपालिकाका अनुसार, सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुवानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको हो । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । अहिले सामान्य पानी परिरहेको भए पनि यो भारी वर्षाका रुपमा विकसित हुन सक्ने देखिएकोले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाइएको हो ।
जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्था समेत मूल्याङ्कन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको छ ।
मौसमजन्य विपदको पूर्वतयारी र प्रतिकार्य योजनाका लागि बुधबार महानगर विपद व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रस लगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ ।
बैठकले, भारी वर्षाबाट महानगर क्षेत्रभित्र हुन सक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई पूवतयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसम सम्बन्धी सूचनाका आधारमा यस्तो निर्णय गरिएको हो ।
सम्भावित जोखिमलाई ध्यानमा राखी महानगरवासीलाई सुरक्षित र सचेत रहन आग्रह गर्दै महानगरका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नियमित सूचना र सचेतनामूलक सन्देश प्रवाह गरिने भएको छ । साथै वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई जोखिमयुक्त स्थान पहिचान, प्रतिकार्य तथा सूचना र समन्वयको व्यवस्था मिलाइनेछ ।
नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मंगाल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णयमा उल्लेख छ । यसका लागि नगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ । यो प्रणालीले, वर्षाका समयमा पानीको निकास अवरुद्ध भई सडक तथा बस्तीमा डुबान हुन सक्ने जोखिम घटाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, सम्भावित विपदका समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन एम्बुलेन्स तयारी अवस्थामा राख्ने, स्वास्थ्यकर्मीलाई बिदा वा काजमा नखटाउने तथा स्वास्थ्य स्वयंसेविकामार्फत समुदाय स्तरमा नागरिक सचेतना बढाउने व्यवस्था गरिएको छ ।
यसैबीच, काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई समेत ध्यानमा राखी सम्बन्धित क्षेत्रमा सरसफाइ र पानी निकासको व्यवस्थाको विशेष निगरानी गरिने भएको छ । वर्षाका कारण जात्राका कार्यक्रम तथा सहभागीलाई असहज अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले वातावरण व्यवस्थापन र विपद् व्यवस्थापनसम्बन्धी संयन्त्रलाई सक्रिय बनाइएको छ ।
भारी वर्षा, डुबान र नदी तथा खोलामा पानीको सतह बढ्ने सम्भावनाका बिच महानगरपालिकाले जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्व सूचना, उद्धार सामग्रीको तयारी, जनशक्ति परिचालन, सुरक्षित स्थानको व्यवस्थापन र राहत सिफारिससम्मका कामलाई एकीकृत रूपमा अघि बढाएको हो । मौसममा हुने परिवर्तनसँगै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र जल तथा मौसम विज्ञान विभाग, जिल्ला प्रशासन कार्यालय र महानगरबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनामा ध्यान दिन आग्रह गरिएको छ ।