नेभिगेशन
समाज

भोटेकोशी बाढीको महाविपद्को एक महिना : खोज, उद्धार र राहत जारी, पुनर्निर्माणमा ठूलो चुनौती

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। भदौ १० गते बिहान आएको उक्त बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्। १३ हजार ७९५ जनाको उद्धार गरिएको छ।

Ncell
Extreme Energy

उद्धार गरिएका कतिपय प्रभावित अझै आश्रयस्थलमा छन्। प्रभावितको खोज, उद्धार, राहत तथा अन्य सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्।

बाढीबाट भएको कुल क्षति तथा नोक्सानी ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको आकलन गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

हजारौँ घर प्रभावित, सडक र पुलमा ठूलो क्षति

विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। त्यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।

बाढीबाट ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य विद्युत् आयोजना प्रभावित भएका छन्।

६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ। ३७ मोटरेबल पुलमा क्षति पुगेकामा ३३ वटा बगेका छन्। यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।

बाढीबाट करिब ७ हजार ५७० घर प्रभावित हुँदा ८ हजार ३०० परिवार र करिब ४० हजार मानिस प्रभावित भएका छन्।

उत्पादन क्षेत्रतर्फ पनि ठूलो क्षति भएको छ। बाढीले १ हजार ८०६ हेक्टर कृषि बाली प्रभावित बनाएको छ। पशुपालन, पक्षीपालन तथा माछापालनमा समेत क्षति पुगेको छ। १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।

क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालमार्फत प्रभावित बस्तीलाई पुनःजोड्ने तथा अन्य अत्यावश्यक संरचना पुनःस्थापना गर्ने काम अघि बढिरहेको छ। तर क्षतिको व्यापकता र आवश्यक स्रोतका कारण पुनर्निर्माण सहज देखिएको छैन।

संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति

बाढी आएको केही समयमै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको थियो। सम्बन्धित जिल्ला शाखा र स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंको पहलमा आपत्कालीन सहयोग कोष (डीआरआईएफ) मार्फत १२ लाख अमेरिकी डलर परिचालन गर्ने स्वीकृति सुनिश्चित गरिएको थियो।

त्यसपछि नेपाल रेडक्रसका स्वयंसेवक तथा आईएफआरसीका टोली खोज, उद्धार तथा राहतमा परिचालित भए।

रेडक्रसका अनुसार डीआरआईएफबाट प्राप्त सहयोगका कारण खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका लागि डेथ बडी–ब्याग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ किट प्रभावित क्षेत्रमा छिटो पठाउन सम्भव भयो।

चापागाईंले आपत्कालीन कोष समयमै निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पुगेको बताए।

उनका अनुसार स्वयंसेवकसहितको उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सके। प्रभावितले राहत सामग्री समयमै पाउन सके। यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको जोखिम घटाउन सहयोग गरेको उनको भनाइ छ।

“संकटका अवस्थामा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति समुदायमा दिलायो,” उनले भने, “यसले सामाजिक तनाव र अविश्वास घटाउन सहयोग पुर्‍यायो।”

चापागाईंका अनुसार ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालन पनि अत्यन्तै छिटो भएको थियो। डीआरआईएफ र आपत्कालीन अपिलसमेत छिटो सक्रिय भएको उनले बताए।

उनले भोटेकोशी बाढी प्रतिकार्यलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को महत्वपूर्ण मोडेल बन्न सक्ने बताए।

एक महिनामा हजारौँ प्रभावितले पाए सहायता

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढी आएको सुरुआती दिनदेखि नै प्रतिकार्य निरन्तर जारी छ।

सुरुआती चरणमा खोज तथा उद्धारमा सहयोग गरेको रेडक्रसले अहिले आवास तथा गैरखाद्य सामग्री, खाद्य सामग्री, खानेपानी, सरसफाइ, स्वास्थ्य, मनोसामाजिक सहयोग, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना र नगद तथा भौचर सहायताका कार्यक्रम सञ्चालन गरिरहेको छ।

नेपाल रेडक्रसका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीअन्तर्गत १ हजार २१८ सेट, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र १ हजार ३२४ कम्बल वितरण गरिएको छ। करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ।

एक महिनाको अवधिमा २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ। १८ वटा पानी ट्याङ्की व्यवस्थापन गरिएको छ भने आवश्यक स्थानमा ट्याङ्करबाट पानी वितरण गरिएको छ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबाट १ हजार ७१० प्रभावित लाभान्वित भएका छन्। रेडक्रसका आपत्कालीन स्वास्थ्य क्लिनिकबाट १ हजार २३९ जनाले स्वास्थ्य परीक्षण, औषधि तथा अन्य सेवा पाएका छन्।

परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाअन्तर्गत २ हजार २९१ खोजतलाससम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको छ। नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको छ।

नगददेखि बालमैत्री सेवासम्म

तत्काल आवश्यकता पूरा गर्न धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहायता उपलब्ध गराइएको रेडक्रसले जनाएको छ।

समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ।

संरक्षण, लैङ्गिक तथा समावेशीकरणअन्तर्गत ५८७ मर्यादा किट र १ हजार ८७ स्वच्छता किट वितरण गरिएको छ। बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा दिइएको छ।

प्रभावित समुदायलाई सूचना, सहयोग तथा सहजीकरणका लागि विभिन्न १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरिएको छ।

रेडक्रसले बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य, परिवार पुनर्मिलन, राहत तथा सेवामा पहुँच र नगद सहायता सम्बन्धी जानकारीमूलक सामग्री तयार गरी सामाजिक सञ्जाल तथा रेडियोमार्फत प्रचार गरिरहेको जनाएको छ।

अबको चुनौती पुनःस्थापना र पुनर्निर्माण

बाढीको एक महिना बितिसक्दा खोज, उद्धार र राहतको काम अझै पूर्ण रूपमा सकिएको छैन। हजारौँ मानिस अझै प्रभावित छन्। हजारौँ परिवारले घर, रोजगारी र आधारभूत संरचना गुमाएका छन्।

त्यससँगै अबको ठूलो चुनौती पुनःस्थापना र पुनर्निर्माण हो।

आरडीएनएले नै पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्बभन्दा बढी रुपैयाँ आवश्यक पर्ने देखाएको छ। सडक, पुल, जलविद्युत् आयोजना, घर, विद्यालय, स्वास्थ्य संस्था, कृषि र व्यापारिक संरचना पुनःनिर्माण गर्नुपर्ने अवस्था छ।

नेपाल रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने जनाएको छ।

प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना पनि रेडक्रसले अघि सारेको छ।

एक महिनापछि पनि भोटेकोशी बाढीको पीडा सकिएको छैन। खोजी भइरहेका बेपत्ताको प्रतीक्षा, विस्थापित परिवारको पुनर्वास र ध्वस्त संरचनाको पुनर्निर्माण अबको लामो यात्राका विषय बनेका छन्। राहतको चरणसँगै राज्य र सहयोगी संस्थासामु ठूलो चुनौती प्रभावित क्षेत्रलाई फेरि सुरक्षित र चलायमान बनाउने रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...