नेभिगेशन
समाज

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलसतह खतराको तह पार गरेपछि चितवन र नवलपरासीलगायतका तटीय क्षेत्रहरूमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको महाशाखाले जनाएको छ । 

Marvel
Extreme Energy

विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न अपिल गरेको छ ।   

महाशाखाकाअनुसार नारायणी नदीमा हालको जलसतह खतराको तह ९ मिटरभन्दा धेरै माथि पुगेर करिब ११ मिटर पुगिसकेको छ र जलसतह अझै बढ्दो क्रममा रहेको छ । 

नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा पानीको बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ । त्यसैगरी सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगेर निरन्तर बढिरहेको छ भने बुढीगण्डकी र त्रिशूली नदीमा पनि जलसतह सतर्कता तह नजिक पुगेको छ । 

आज दिउँसोसम्म जलसतह १३ मिटर पुग्ने अनुमान छ । नदीको बहाव र उपलब्ध पूर्वानुमानका आधारमा देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतह आज दिउँसोसम्म निरन्तर बढ्ने देखिएको छ । 

आज दिनको ११ बजेको आसपासमा जलसतह करिब १३.० मिटर पुग्ने अपेक्षा गरिएको छ । 

आज साँझसम्मै नारायणीको जलसतह खतराको तहभन्दा माथि नै रहने र सहायक नदीहरूमा समेत उच्च बहाव कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च सतर्कता अपनाउन अनुरोध

महाशाखाले नारायणी नदीमा आएको ठूलो बाढीका कारण चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रहरूमा बाढी र डुबानको अति उच्च जोखिम रहेको भन्दै नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध र संरचना भएका स्थानहरूमा विशेष सावधानी अपनाउन भनेको छ । 

महाशाखाले जोखिम क्षेत्रका नागरिक तथा सर्वसाधारणका लागि चारवटा सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरेको छ ।    

चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकहरूलाई ढिलाइ नगरी तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान/स्थानान्तरण हुन अनुरोध गरिएको छ ।

नारायणी नदीका साथै कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी, त्रिशूली र तिनका शाखा खोलानालाहरूमा आज साँझसम्म उच्च सतर्कता अपनाउन र तटीय क्षेत्रमा आवतजावत नगर्न आग्रह गरिएको छ ।

बाढी हेर्न वा फोटो/भिडियो खिच्न नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानमा अनावश्यक भीडभाड नगर्न चेतावनी दिइएको छ ।

आधिकारिक सूचनाको पालना: स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायहरूबाट समय-समयमा जारी हुने सूचना र निर्देशनको पूर्ण रूपमा पालना गर्न अपिल गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज