नेभिगेशन
समाज

कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

काठमाडौँ । चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको अवस्था सिर्जना भएको छ।  अविरल वर्षातले पश्चिम नेपाल सबैभन्दा बढी प्रभावित बनेको छ। कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च भएको स्थानीयले बताएका छन्। कालीगण्डकीको तीव्र बहावका कारण जलजला, कुश्मा, बिहादी, फलेवास, अन्नपूर्ण, बेनी–जोमसोम सडकखण्ड लगायत आसपासका क्षेत्रमा विशेष सतर्कता आवश्यक छ। सेतीबेनी बजारमा डुबान तथा विभिन्न स्थानका तटीय बस्ती र पूर्वाधारमा क्षति पुगेको जानकारी आएको छ। गुल्मी–स्याङ्जा जोड्ने पुलमा समेत क्षति पुगेको छ। कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ। आयोजनाका सबै ढोका खोलिएको छ।
अझै वर्षा भइरहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालसम्मको विवरणअनुसार म्याग्दीको मंगलघाटमा कालीगण्डकीले खतराको तह पार गरेको छ। त्यहाँ कालीगण्डकीको जलसतह ५.१९७ पुगेको छ। मोदीबेनीमा १०.४१ मिटर जलसतह पुगेको छ।

Ncell
Extreme Energy

कालीखोलामा त्रिशूली नदीले पनि जलसतह खतराको तह पार गरेको छ।  कालीखोलामा त्रिशूली नदीको जलसतह १२.६७४ मिटर पुगिसकेको छ।

देवघाटमा नारायणी नदीले जलसतह पार गरेको छ। त्यहाँ नारायणी नदीको जलसतह ११.४०२ मिटर पुगेको छ।

तिनाउले पनि सतर्कता तह पार गरिसकेको छ। केही स्थानमा भँगालो बस्तीतिर सोझिइसकेको छ। बाढीले रुपन्देहीमा ६ घर बगाएको छ। करिब २०० घर बाढीको जोखिममा छन्।

अन्य नदी तथा खोलामा पानीको बहाव निरन्तर बढ्दा तटीय बस्ती जोखिममा परेका छन् भने पहिरोका कारण प्रमुख राजमार्गसहित ग्रामीण सडकमा यातायात प्रभावित भएको छ।

अहिलेसम्म प्राप्त विवरणअनुसार वर्षाका कारण विभिन्न जिल्लामा घरमा क्षति पुगेको, केही घर बगेको र पहिरोमा परी मानवीय क्षतिसमेत भएको छ। प्रमुख सडक तथा राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लाको यातायात सम्पर्क प्रभावित भएको छ।

लगातारको वर्षा र प्रतिकूल मौसमका कारण विराटनगर, पोखरा र भरतपुर विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्।

बागलुङमा पहिरोले चार जनाको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–३ जुग्जाखोलामाथि हदधारा भन्ने स्थानमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा ओमलाल विकको घर पुरिँदा उनकी श्रीमती र तीन छोराको मृत्यु भएको हो। एक छोरी घाइते भएकी छन्।

अविरल वर्षापछि राति पहिरो खसेर घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार तथा खोजीको काम गरेका थिए।

पाल्पामा एक जनाको मृत्यु, तीन बेपत्ता

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदीको मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका चिदीलाई उपचारका लागि स्वास्थ्यचौकी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

माथागढी–३ भैसकट्टामा पहिरोले दुई घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता छन्। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि परिचालित भएका छन्।

पर्वतमा कालीगण्डकीले २५ घर बगायो

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा २५ घर बगेका छन्।

आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने बाँकी घरसमेत जोखिममा छन्।

घटनामा मानवीय क्षति नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न नसकेको जनाइएको छ। फर्से प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाको थप विवरण आउनै बाँकी छ।

स्याङ्जामा पुल बग्यो, सेतीवेणी बजार डुबानमा

कालीगण्डकीको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको छ।

भारी वर्षाका कारण मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएका छन् र विद्युत् उत्पादन बन्द गरिएको छ। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीवेणी बजारसमेत डुबानमा परेको छ।

मनाङको ताल गाउँमा बाढी पस्यो

मस्र्याङ्दी नदीमा पानीको बहाव बढेपछि मनाङको प्रवेशद्वार नासों गाउँपालिका–१ स्थित ताल गाउँ डुबानमा परेको छ। नदीको पानी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका छन्।

गाउँमा होटल तथा घर गरी करिब ५० वटा संरचना छन्। स्थानीयवासी गाउँभन्दा माथि रहेको गुम्बामा गएर बसेका छन्।

लगातारको वर्षाका कारण लमजुङ–मनाङ सडकका विभिन्न स्थानमा पहिरो गएको छ। सडक अवरुद्ध हुँदा मनाङसँगको आवतजावत प्रभावित भएको छ। वर्षाले विद्युत् संरचनामा समेत क्षति पु¥याएपछि सञ्चार सेवासमेत प्रभावित भएको स्थानीयले बताएका छन्।

लमजुङमा बेँसीसहर–चामे सडक पूर्ण अवरुद्ध

बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडकसमेत भासिएको छ।

वर्षा भइरहेकाले पहिरो पन्छाउन र सडक मर्मत गर्न कठिन भएको छ।

स्याङ्जामा सिद्धार्थ राजमार्ग बन्द

पहिरो खसेपछि सिद्धार्थ राजमार्गको वालिङ–स्याङ्जा खण्ड अवरुद्ध भएको छ। पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि सडक बन्द भएको हो। सडक खुलाउने प्रयास भइरहेको छ।

कर्णालीका प्रमुख राजमार्ग प्रभावित

अविरल वर्षाका कारण कर्णाली करिडोर र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

हुम्लाको सर्केगाड–१ खच्चा, कालीकोटको शुभकालिका–१ गगने खोला र एस मोड तथा सुर्खेतको बराहताल–७ औलिसेमा पहिरो गएको छ।

रुकुमपश्चिमको सानीभेरी–२ सम्लेखोलामा पहिरो खसेपछि मध्यपहाडी राजमार्ग तथा सल्यानको कपुरकोट–५ खारखोलामा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ।

सल्यानकै बनगाड कुपिण्डे–८ र्याले, त्रिवेणी–३ ढुङ्गेबगर, जाजरकोटको छेडागाड–४ लेवाभिर, कालीकोटको तिलागुफा–१ भिग्म, जुम्लाको तातोपानी क्षेत्र तथा मुगुको गमगढी–नाग्म सडकखण्डसमेत प्रभावित भएका छन्।

सडक सञ्चालनका लागि विभिन्न सडक डिभिजनबाट जेसिबी तथा स्काभेटर परिचालन गरिएको छ।

बागलुङमा दर्जनौँ सडक अवरुद्ध

लगातारको वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित बागलुङका दर्जनौँ सडक अवरुद्ध भएका छन्।

गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले सडक कटान गरेको छ। बागलुङ बजारदेखि तित्याङ–रायडाँडा–भकुण्डे, रामरेखादेखि निरयघाट, सिगाना–सायकोट, दब्ल्याङ–बलेवा–कुश्मिसेरा तथा मुलपानी–तितौरे सडकमा पहिरो गएको छ।

बरेङ, निसीखोला र ढोरपाटनका ग्रामीण सडकसमेत ठाउँठाउँमा अवरुद्ध भएका छन्।

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग प्रभावित

चितवनमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग प्रभावित भएका छन्। नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ भने पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो गएको छ।

पछिल्लो विवरणअनुसार मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा त्रिशूली नदीले सडक कटान गर्दा सडकको करिब आधा भाग भासिएको छ। त्यसपछि उक्त स्थानमा सडक एकतर्फी सञ्चालन भइरहेको छ।

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत चुन पहरा, बिरौटा र घाँसीकुवामा समेत पहिरो खसेको छ। पहिरो पन्छाउन दिनभर लाग्ने बताइएको छ।

नारायणी नदीमा खतरा तह पार

नारायणी नदीको देवघाटमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। समाचार तयार पार्दासम्म जलसतह १०.८ मिटर पुगेको छ। देवघाटमा खतराको तह ९ मिटर र चेतावनीको तह ७.४ मिटर हो।

बहाव बढिरहेका कारण नारायणी तटीय क्षेत्रमा डुबानको जोखिम उच्च भएको छ।

पर्वतको कालीगण्डकी, लमजुङको चेपेखोला, म्याग्दीको मंगलघाट र चितवनको रिउखोलामा समेत पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ।

नवलपुरका बस्ती डुबानमा

नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन्।

गैँडाकोट नगरपालिका–२ बोटेटोल र कावासोतीको अमलटारी क्षेत्र डुबानमा परेका छन्। बोटेटोलका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

सप्तरीमा ५०० घर डुबानमा

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन्। बाढीका कारण दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

हनुमाननगर कङ्कालिनीका विभिन्न वडामा ४८३ र तिलाठी कोइलाडीका दुई वडामा १७ घर डुबानमा परेका छन्। प्रभावितलाई तत्काल दुई छाक खानाको व्यवस्था गरिएको छ।

बर्दियामा घरमा क्षति, परिवार सुरक्षित स्थानमा

अविरल वर्षाका कारण बर्दियामा तीन कच्ची घरमा क्षति पुगेको छ। बाँसगढी नगरपालिका–८ मा घरको भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर पुरिएर एउटा बङ्गुर मरेको छ।

मधुवन नगरपालिका–५ र बारबर्दिया नगरपालिका–९ मा समेत कच्ची घरका भित्ता भत्किएका छन्। मानवीय क्षति भने भएको छैन।

गुलरिया नगरपालिका–१ छेदापुरमा पाँच कच्ची घरमा पानी पसेपछि प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बढैयाताल गाउँपालिका–१ मा पनि एक कच्ची घरमा पानी पसेको छ।

महाकालीमा खतरा तह पार, शारदा ब्यारेजमा सवारी रोकियो

महाकाली नदीमा पानीको बहाव खतरा तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ।

पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि नेपाल–भारततर्फ आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको हो। सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढेको छ।

म्याग्दीको पर्यटनमा ठूलो असर

लगातारको झरी र सडक तथा पदमार्ग अवरुद्ध हुँदा म्याग्दीका प्रमुख पर्यटकीय क्षेत्रमा चहलपहल घटेको छ।

घोडेपानी–पुनहिल, धवलागिरि चक्रीय पदमार्ग, ढोरपाटन, गुर्जा, गुरिल्ला, अन्नपूर्ण–धवलागिरि, खोपारा, तातोपानी कुण्ड र टोड्केलगायत क्षेत्र सुनसान बनेका छन्।

घोडेपानीको पुनहिलमा विगतमा असोजमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेकामा अहिले करिब १०० जनामा सीमित भएको व्यवसायीले बताएका छन्।

भोटेकोशी बाढीपछि विदेशी पर्यटकले बुकिङ रद्द गर्नु र त्यसपछि परेको झरीले पर्यटकीय गतिविधि थप प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।

धवलागिरि आरोहण रोकियो

प्रतिकूल मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणका लागि पुगेको ३० सदस्यीय विदेशी टोली आधार शिविरबाट तल्लो क्षेत्रमा फर्किएको छ।

मौसम सफा भएपछि चार दिनपछि आरोहणलाई निरन्तरता दिने गरी टोली इटली आधार शिविरतर्फ झरेको छ।

अन्नपूर्ण आधार शिविरतर्फको पदयात्रासमेत मौसम प्रतिकूल भएपछि बन्द गरिएको छ।

वर्षाको उच्च मात्रा चितवनमा

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार माडी कल्याणपुर केन्द्रमा २२२.४ मिलिमिटर वर्षा भएको छ।

परासीको बर्दघाटमा २०७ मिलिमिटर, चितवनको मेघौलीमा २०२.८ मिलिमिटर र तनहुँको अत्रौलीटारमा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।

अब मौसममा सुधारको संकेत

चार दिनसम्मको लगातार वर्षापछि आजदेखि मौसममा केही सुधार आउने पूर्वानुमान छ। कोशी र मधेश प्रदेशमा आकाश खुल्दै जाने तथा काठमाडौं उपत्यकामा उल्लेख्य सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर नदी तथा खोलामा पानीको बहाव तत्काल घटिनसक्ने भएकाले बाढीको जोखिम रहेका तटीय क्षेत्रमा भने सतर्कता आवश्यक रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।