काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो विपद्का घटनामा देशभर २१ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताएका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले दिएको अपडेटअनुसार, असोज ८ गतेदेखि चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ।
प्रधानमन्त्री शाहले भनेका छन्, ‘असोज ८ गतेदेखि केहीबेर अघिसम्मको विवरणअनुसार चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लामा गरी २१ नागरिकले ज्यान गुमाउनुभएको छ।’
मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते पाँच जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताए।
प्रधानमन्त्री शाहका अनुसार बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन्। ‘गाउँ मात्र नभई सहरहरू समेत डुबानमा परेका छन्। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणाली लगायतका पूर्वाधारहरूमा क्षति पुगेको छ,’ उनले भने।
उनले विपद्को अवस्थामा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए।
‘यस्तो संकटको घडीमा प्रत्येक नागरिकको जीवन रक्षा गर्दै उहाँहरूलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो,’ प्रधानमन्त्री शाहले भने, ‘त्यसैले बेपत्ता नागरिकको खोजीका साथै बाढीमा फसेका मानिसहरू र पशुचौपायाको उद्धारमा हाम्रा सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।’
उनका अनुसार प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। सुरक्षाकर्मीले स्थलगत रूपमा माइकिङ गर्दै नागरिकलाई आवश्यक सूचना तथा सन्देश दिइरहेका छन्।
प्रधानमन्त्री शाहले सरकारको पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रुहरू सुरक्षित फर्कनुका साथै विद्यार्थीहरू पनि जोगिएको बताए।
‘कुनै पनि नागरिक संकटमा पर्नेबित्तिकै उद्धारका लागि हाम्रा सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा छन्,’ उनले भने।
उनका अनुसार बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित काठमाडौँ उपत्यका जोड्ने तथा विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन्।
‘सडकहरूमा पहिरो जाने र भासिने समस्या देखिएको छ। अहोरात्र खटिएर मर्मत गरिएका भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकहरूमा पुनः क्षति पुगेको छ भने कालीगण्डकीको पक्की पुल समेत बगेको छ,’ प्रधानमन्त्री शाहले भने।
क्षतिग्रस्त सडकहरू द्रुत गतिमा मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
बाढीका कारण राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३।२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको पनि प्रधानमन्त्री शाहले जानकारी दिए। उनका अनुसार कालीगण्डकी, मस्र्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा प्रसारण प्रभावित भएको छ।
‘३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनको टावर ढलेका कारण पूर्ण रूपमा ठप्प भएका छन्,‘ उनले भने, ‘बाढी–पहिरो तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप ६९५।२ मेगावाट उत्पादन क्षमताका आयोजनाहरूको उत्पादन बन्द गरिएको छ।’
विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले बताए।
ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
‘नागरिकको सुरक्षालाई ध्यानमा राखी समन्वय गरेर पुलको दुवैतर्फ सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ,’ उनले भने।
सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह निकै बढेकाले विशेष सजगता अपनाइएको तथा कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको उनले बताए।
यसैगरी, हुरीसहितको वर्षाले किसानको धानबाली, तरकारीलगायत अन्य बालीमा समेत ठूलो क्षति पुर्याएको प्रधानमन्त्री शाहले बताए।
उनले जोखिम अझै कायम रहेको भन्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
‘अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोला र कुनै पनि संकट पर्दा शुल्क नलाग्ने नम्बर १२३४ मा फोन गरेर हामीलाई सम्झिनुहोला,’ उनले भने।
प्रधानमन्त्री शाहले विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी राखिरहेको बताए।
‘पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनु हुँदैन। संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य छ,’उनले भने।