नेभिगेशन
समाज

६ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्ष नपुग्दै दुईपटक ठूलो आगलागी भएको छ। पहिलो आगलागीबाट उठ्न थालेका स्थानीय बिहीबारको आगलागीपछि फेरि घर, व्यवसाय र सम्पत्ति गुमाएर बिचल्लीमा परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार दिउँसो भएको आगलागीमा आठ परिवारका १० घर र १७ पसल जलेका छन्। प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १४ करोड ५० लाख रुपैयाँबराबरको क्षति भएको छ। घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त र छरछिमेकीको आश्रयमा छन्।

Ncell
Extreme Energy

केही पीडित भने जलेका सामान र भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने तथा पुनर्निर्माणको तयारीमा जुटेका छन्।

छोराहरूसँग बस्दै आएका ८६ वर्षीय स्यामलाल खरेलका लागि पछिल्लो आगलागीले पुरानो पीडा फेरि दोहोर्‍याएको छ।

‘पटकपटकको आगलागीले ठूलो पीडा दियो। व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो। अब बसौँ कसरी बस्ने, जाउँ कता जाने ?’ उनले भने।

अर्का अग्निपीडित चन्द्र पौडेल पनि दुईपटक आगलागीमा परेपछि पुनःस्थापनाको चिन्तामा छन्। यसपटकको राहतले मात्रै समस्या समाधान नहुने भन्दै उनले सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्।

‘छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो। यसो तङ्ग्रिँदै गर्दा फेरि आगलागीले सखाप पार्‍यो,’ उनले भने, ‘सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदिए हामी पुनःस्थापित भएर साँवा रकम फिर्ता गर्छौँ।’

उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनसमेत कठिन रहेको बताए। नदी तथा खोलाकिनारमा बजार रहेकाले लगानी डुब्ने जोखिम देखाउँदै बैंकहरूले ऋण दिन आनाकानी गर्ने गरेको उनको भनाइ छ।

आगलागीपीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, मेरिङ्देन गाउँपालिकालगायत सरकारी तथा गैरसरकारी निकायले तत्कालका लागि राहत रकम र सामग्री उपलब्ध गराएका छन्। तर पीडितले तत्कालको राहतभन्दा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि विशेष सहयोग आवश्यक रहेको बताएका छन्।

सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

फुङ्लिङपछि जिल्लाकै दोस्रो बढी कारोबार हुने व्यापारिक केन्द्र दोभान बजारमा करिब ८० घर तथा पसल छन्।

६ वर्षअघि ४९ घर जलेका थिए

दोभान बजारमा यसअघि २०७७ फागुनमा ठूलो आगलागी भएको थियो। त्यसबेला ४९ घर जलेका थिए भने ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

त्यस आगलागीमा सर्वस्व गुमाएका कतिपय व्यवसायी र परिवार विस्तारै व्यवसाय र दैनिकीलाई पुरानै लयमा फर्काउँदै थिए। तर छ वर्ष नपुग्दै फेरि आगलागी दोहोरिएपछि उनीहरू आर्थिकसँगै मानसिक र पारिवारिक संकटमा परेका छन्।

स्थानीयले दोभान बजारमा बारम्बार हुने आगलागी नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। पछिल्लो समय विद्युत्का कारण आगलागीका घटना बढेको भन्दै विद्युतीय उपकरणको प्रयोग र जडानबारे नागरिकस्तरमा सचेतना बढाउनुपर्ने उनीहरूको भनाइ छ।

विपद्का बेला तत्काल प्रयोग गर्न मिल्ने प्रतिकार्य सामग्रीको सहज उपलब्धता र आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वतयारीमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ।
बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

कालीगण्डकी नदीमा आएको बाढी र ठाउँठाउँमा गएको पहिरोले धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।