नेभिगेशन
पूर्वाधार

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

बागलुङ ।  कालीगण्डकी आफ्नै लयमा निर्निमेष बगिरहेको छ।  मालढुङ्गाको पुल पनि आफ्नै ठाउँमा ठिंग उभिएको छ। बिलखबन्दमा छन् मानिसहरू !

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसकारण कि, मानिसहरूको पुलसम्म पहुँच छैन। पुल पुग्ने बाटो छैन।

Ncell
Extreme Energy

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।

पुलको मुख्य संरचना ठूलो क्षतिबाट जोगिएको छ। तर पुलको मुखमै सडक छैन। नदीले पुलसँग जोडिएको सडकको बाहिरी भाग खोतलेर खोलामा मिसाइदिएको छ। त्यसैले अहिले मालढुङ्गाको दृश्य अनौठो छ—पुल खोलाको बीचमा मूर्तिवत उभिएजस्तो।

कालीगण्डकीको भेलले ढुङ्गा, माटो र सडकसँगै मानिसहरूको दैनिकीको एउटा भरपर्दो बाटो पनि बगाएको छ। मालढुङ्गा बागलुङका लागि केवल कालीगण्डकीमाथिको पुल होइन।

यही पुल हुँदै बिरामी अस्पताल पुग्छन्। किसानका उत्पादन बजार पुग्छन्। गाउँमा चामल, नुन, तेल र औषधि पुग्छ। विद्यार्थी, कर्मचारी, व्यापारी र यात्रु यही सडकमा निर्भर छन्। आआफ्नो गन्तव्यमा पुग्ने बाटो पाएका छन्।
पोखरा जान होस् वा काठमाडौं, धवलागिरिका अरू जिल्ला पुग्न होस्—मालढुङ्गा हुँदै जाने सडक बागलुङलाई बाहिरी संसारसँग जोड्ने मुख्य धागो हो। त्यही धागो अहिले च्वाट्ट चुँडिएसरह भएको छ।

सडक बन्द भएपछि गाडीको आवतजावत मात्र रोकिएको छैन, नागरिकको दैनिकीको एउटा लय पनि ठप्प भएको छ। बिरामी बोकेको गाडीलाई बाटो लामो भएको छ। व्यापारीका लागि सामान ढुवानी महँगिएको छ। यात्रुका लागि घर पुग्ने दूरी बढेको छ। शारदीय पर्व दसैँ नजिकिँदै छ। 

सहरबाट गाउँ फर्किनेहरूको चहलपहल बढ्ने समय हो यो। घरमा टीका लगाउन आउने छोरा–छोरी, परदेशबाट फर्किने आफन्त र बजारबाट घरका लागि किनमेल गर्नेहरूको भीड बढ्ने बेला हो। तर मालढुङ्गामा बाटो अवरोधक बनेको छ। 

यतिबेला स्थानीयका आँखामा पुलभन्दा बढी त्यसमा पुग्ने बाटोको प्रतीक्षा छ। ‘दसैँअघि बाटो खुलोस्’—स्थानीयको अपेक्षा यही छ। किनकि उनीहरूका लागि सडक खुल्नु भनेको गाडी चल्नु मात्र होइन। यो बिरामीले समयमै अस्पताल पुग्नु हो। गाउँमा खाद्यान्न पुग्नु हो। व्यापारीको पसल खुल्नु हो। परदेशबाट फर्किएको छोरो सहजै घर पुग्नु हो। र, सबैभन्दा बढी, आफ्नो ठाउँ देशको बाँकी भूगोलसँग जोडिएको महसुस गर्नु हो।

११४ मिटर लामो मालढुङ्गा पुलको मुख्य संरचनामा बाढीले ठूलो क्षति नपुर्‍याएको प्राविधिक निरीक्षणले देखाएको छ। तर पुलसँग जोडिएको वाल फिलिङ र पहुँचमार्ग कालीगण्डकीले कटान गरेको छ। सडक डिभिजन कार्यालय पोखराले तत्कालका लागि ग्याबिन लगाएर कटान भएको भाग भर्ने तयारी गरेको छ। मंगलबार पुलको जगसम्म पुग्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार तत्काल पुल सञ्चालनमा ल्याउने उद्देश्यले अस्थायी संरचना निर्माण गर्न लागिएको हो। तर तल कालीगण्डकी रुप अझै उस्तै छ। उसको बहाव रोकिएको छैन। कटान रोकिएको छैन। यही निरन्तर बहावबीच पुललाई फेरि सडकसँग जोड्नु प्राविधिक चुनौती बनेको छ। 

मालढुङ्गा पुलले पर्वत र बागलुङलाई मात्र जोड्दैन। यसले धवलागिरि क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण मार्गको काम गर्छ। बागलुङ हुँदै म्याग्दी, मुस्ताङतर्फ जाने यात्रादेखि मध्यपहाडी लोकमार्गमार्फत पश्चिम नेपालका विभिन्न जिल्लासम्म पुग्ने यात्रामा यसको महत्त्व छ। 

त्यसैले मालढुङ्गामा सडक रोकिँदा त्यसको असर पुलका दुवै किनारमा मात्र सीमित छैन। यसको असर बजारमा सुनिन्छ। अस्पतालमा सुनिन्छ। गाउँका पसलमा सुनिन्छ। यात्रुका गुनासामा सुनिन्छ। र घर फर्किन आतुर मानिसहरूको मनमा सुनिन्छ। 

अहिले खनियाघाट–निरयघाटको झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार भइरहेका छन्। साना सवारीका लागि मालढुङ्गाबाट बेनी हुँदै बागलुङ आउने तथा फलेवास–जैमिनीघाट हुँदै बागलुङ पुग्ने वैकल्पिक बाटो प्रयोग भइरहेको छ। 

तर वैकल्पिक बाटोले नागरिकको समय र खर्च दुवै बढाएको छ। पर्वतको नयाँ पुल नजिकै कालीगण्डकीले कटान गरेको करिब ५० मिटर सडकको मर्मत भने अन्तिम चरणमा पुगेको छ। त्यो सडक बनेपछि म्याग्दीसम्म सिधा यातायात सञ्चालन हुने अवस्था छ।  तर बागलुङका लागि भने मालढुङ्गा अझै उही प्रश्न बनेर उभिएको छ—कहिले खुल्छ बाटो ?

हो, कालीगण्डकीलाई रोक्न सकिँदैन। उसले हिमालबाट बोकेर ल्याएको ढुङ्गा, बालुवा र पानीसँगै आफ्नै बाटो बनाउँदै तलतिर बगिरहन्छ। तर मानिसलाई बाटो चाहिन्छ। त्यही नदीमाथि बनेको पुलबाट मानिसहरूले दशकौँदेखि आफ्नो यात्रा अघि बढाउँदै आएका छन्। अहिले नदीले पुलको बाटो काटिदिएको छ। 

पुल उभिएको छ। नदी वेगवान छ। तर मानिसको यात्रा रोकिएको छ। दसैँअघि अस्थायी रूपमा भए पनि पुल सञ्चालन गर्ने तयारीमा प्राविधिकहरू जुटेका छन्। अब उनीहरूले कालीगण्डकीसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन। उनीहरूले नदीले खोतलेको बाटोलाई फेरि मानिस हिँड्ने बाटोमा फर्काउनुपर्नेछ।

मालढुङ्गाका लागि अहिले यही सबैभन्दा ठूलो काम हो—पुललाई फेरि बाटोसँग जोड्नु र बाटोलाई फेरि मानिसको जीवनसँग जोड्नु। किनभने मालढुङ्गा पुल त्यस भेगको जीवन सेतु हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...