नेभिगेशन
समाज

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्। कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ। तर बर्दियाको राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका घरमा दसैँसँगै पीडा पनि आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुलाई यस वर्षको दसैँले झन् पीडा थपेको छ। घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता भएको पीडाले उनलाई पर्व मनाउने जाँगर छैन।

Ncell
Extreme Energy

“दसैँ आएको छ, तर परिवारमा कुनै खुसी छैन”, उनले भनिन्।

परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दसैँ मनाउन नसकेको उनले बताइन्। विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दसैँ सम्झँदा अहिले मन झन् भारी हुने उनको भनाइ छ।

सोही गाउँका सुरेश थारु पनि भोटेकोशी बाढीमा बेपत्ता छन्। उनकी श्रीमती रमिता थारु श्रीमान् फर्किने आशामा दिनरात बिताइरहेकी छन्।

“रातदिन श्रीमान्कै प्रतीक्षामा छु। उहाँलाई सम्झेर दसैँ कसरी मनाउने ?” उनले भनिन्।

घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दसैँ बिताउने उनले बताइन्।

सिर्जना र रमिताजस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन्। एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए। पाँच जना बेपत्ता भएपछि पीडा उनीहरूका परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा छ।

बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताए। आफन्त, गरगोतियार र छरछिमेकमा समेत यस वर्ष दसैँको रौनक नरहेको उनको भनाइ छ।

राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन्। विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्लाबाहिर गएकाहरू दसैँ मनाउन गाउँ फर्किन्थे। गाउँमा चहलपहल हुन्थ्यो र सबै मिलेर पर्व मनाउँथे। तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ।

गाउँका बरघर बरुण थारु पनि यस वर्ष गाउँमा दसैँको रौनक नरहेको बताउँछन्।

“दसैँ आएको छ, तर गाउँमा मादल बज्दैन। कसैको मनमा पनि खुसी छैन”, उनले भने।

बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताएका छन्।

राहत नपाएको परिवारको गुनासो

भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन्। आफन्तको काजकिरिया गर्नसमेत खर्च अभाव भएको उनीहरूको भनाइ छ।

बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताइन्। स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ।

राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो। बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि ५० हजार रुपैयाँसम्म सहयोग गर्न सक्ने उनले बताए।

बेपत्ता राजु थारुका दाइ तुलारामले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गरे। उनका अनुसार राजु काममा गएको ज्यालासमेत पाएका छैनन्।

“यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन”, उनले भने।

बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको तुलारामको गुनासो छ।

भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट कुल ७६ जना बेपत्ता रहेको विवरण छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।
मासु खाँदा हड्डी अड्किए के गर्ने?

मासु खाँदा हड्डी अड्किए के गर्ने?

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले चिकित्सकले खानपानमा सावधानी अपनाउन सुझाव दिएका छन्।