नेभिगेशन
समाज

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौँ । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दशैंघर वा पूजाकोठामा नौ दिनसम्म पूजा आराधना गरिएकी देवीको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको छ।

Ncell
Extreme Energy

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सर्वसाधारणले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।

“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो। साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,” उनले भने।

घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने परम्परा छ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ।

आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जन गर्ने साइत आज बिहान ८ः४९ बजे रहेको छ।

टीका थाप्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

विजयादशमीका दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताउनुभयो। यसो गर्दा टीका लगाइमाग्ने व्यक्तिको सम्मुखमा चन्द्रमा पर्ने उनले जानकारी दिए।

टीका लगाइदिने व्यक्ति भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए।

टीका लगाइमाग्ने र लगाइदिने व्यक्तिले फर्कनुपर्ने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुने बताइन्छ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरा पनि लगाइन्छ। जमरालाई समृद्धिको प्रतीक मान्ने धार्मिक परम्परा छ।

जमरामा औषधीय गुण हुने विषयमा विभिन्न अध्ययन भएका छन्। यद्यपि, यसले विभिन्न रोगको उपचारमा प्रभावकारी काम गर्ने दाबीलाई रोगअनुसारको वैज्ञानिक प्रमाणका आधारमा बुझ्नुपर्छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने धार्मिक विश्वासका कारण आज मान्यजनबाट टीका र प्रसाद ग्रहण गर्नुअघि अभिषेक गर्ने परम्परा छ।

असत्यमाथि सत्यको विजयको प्रतीक

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो।

त्रेतायुगमा आजकै दिन भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेको धार्मिक विश्वास छ। यही विजयको स्मरणमा विजयादशमी मनाउन थालिएको मान्यता छ। त्यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा लिइन्छ।

आज गुरु–पुरोहित, हजुरबा–हजुरआमा, बुबा–आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद ग्रहण गरी यश, ऐश्वर्य, कार्यक्षमतामा वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने परम्परा छ।

विजयादशमीमा टीका लगाइदिँदा पुरुषलाई दीर्घायु, समृद्धि, शत्रुमाथि विजय, ऐश्वर्य, गति, मान, शौर्य, बल, दानशीलता, ज्ञान र कीर्तिको कामना गर्दै निम्न मन्त्रबाट आशीर्वाद दिने गरिन्छः

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।

यस मन्त्रको भावार्थमा द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु, अयोध्याका राजा दशरथको जस्तो श्रीसम्पत्ति, रामको जस्तो शत्रुमाथि विजय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्तिको कामना गरिन्छ।

महिलालाई दुर्गा देवीको स्वरूप मानेर निम्न मन्त्रबाट आशीर्वाद दिने परम्परा छः

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

यसको भावार्थमा जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नाम गरेका देवीलाई नमस्कार गरिएको छ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्न जाने मानिसको बाटोमा घुइँचो लाग्ने गर्छ। नेपालका केही भागमा भने विजयादशमीका दिन मात्रै दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ।

केही जाति तथा समुदायमा कुलपरम्पराअनुसार दही र अक्षता मिसाएर सेतो टीका लगाउने प्रचलनसमेत रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश समाधान गरिएको छ।
गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाइरहेको उल्लेख गर्दै दुःखमा परेका परिवारसँग खुसी बाँड्न र एकअर्काको सहारा बन्न आग्रह गरेका छन्।
यस्तो रहनेछ दसैँको टीकाको दिन मौसम

यस्तो रहनेछ दसैँको टीकाको दिन मौसम

बुधबार बडादसैँको टीकाको दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा अक्टोबर १५ देखि सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको खोजी तथा उद्धार जारी छ।