नेभिगेशन
समाज

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

धनकुटा । नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ। बजारमा किनमेल गर्ने, नयाँ लुगा लगाउने, मीठोमसिनो खाने, घरआँगन सफा गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने क्रम चलिरहेको छ। कुनै समय दसैँको आगमनसँगै गाउँघरमा रातो माटो, कमेरो र खोटो खोज्ने चटारो पनि उत्तिकै हुन्थ्यो। घरका भित्ता रातो माटो र कमेरोले पोत्ने तथा काठका झ्यालढोकामा खोटो लगाउने परम्परा भने अहिले क्रमशः ओझेलमा पर्दै गएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुनै समय दसैँ आउनुअघि धनकुटाका गाउँबस्तीमा घर पोत्न मिल्ने चिम्टिया माटो र रातो माटो खोज्नेहरूको चहलपहल बढ्थ्यो। घरका भित्ता सफा गरेर माटोले पोत्ने, आवश्यक ठाउँमा कमेरो लगाउने र झ्यालढोका खोटोले रङ्गाउने काममा परिवारका सदस्य जुट्थे। घरलाई नयाँ रूप दिने यो परम्पराले घरको सरसफाइ र सौन्दर्य बढाउनुका साथै दसैँको उल्लाससमेत थप्थ्यो।

Ncell
Extreme Energy

धनकुटा नगरपालिका–२ का हरिबहादुर बस्नेतलाई केही वर्षअघिसम्म दसैँ नजिकिँदा घर पोत्ने माटो लिन जानेहरूको चहलपहल भएको सम्झना ताजै छ। चिम्टिया र रातो माटो पाइने ठाउँमा सर्वसाधारणको भीड लाग्ने गरेको उनी बताउँछन्। माटोले लिपपोत गरेपछि घर सफा, सुन्दर र चिटिक्क देखिने भए पनि अहिले त्यस्ता दृश्य विरलै देख्न पाइने उनको भनाइ छ।

गाउँघरमा समेत सिमेन्टको प्रयोग बढेको छ। परम्परागत रूपमा ढुङ्गा, माटो र काठ प्रयोग गरेर बनाइने घरको ठाउँमा पक्की घर बन्न थालेका छन्। घरका भित्री तथा बाहिरी भित्तामा सिमेन्टको प्लास्टर गर्ने र आधुनिक रङ लगाउने चलन बढेसँगै रातो माटो, कमेरो र खोटोको प्रयोग घट्दै गएको बस्नेत बताउँछन्।

घरको बनावटमा आएको परिवर्तनसँगै मानिसको जीवनशैलीमा आएको बदलावले पनि परम्परागत लिपपोतको चलनलाई प्रभावित पारेको छ। पहिले दसैँको तयारीकै एउटा महत्त्वपूर्ण कामका रूपमा घर पोत्ने, आँगन सफा गर्ने र झ्यालढोका चिटिक्क पार्ने गरिन्थ्यो। परिवारका सदस्य मिलेर गरिने यस्ता कामले चाडपर्वको तयारीलाई सामूहिक गतिविधिका रूपमा अघि बढाउँथे। अहिले बजारमा पाइने रङ तथा अन्य निर्माण सामग्री प्रयोग गरेर छोटो समयमै घर सजाउने प्रवृत्ति बढेको छ।

स्थानीय सामग्रीमा आधारित परम्परागत सीप

परम्परागत नेपाली घरको सौन्दर्यमा रातो माटो र कमेरोको विशेष स्थान थियो। रातो माटोले भित्तालाई राताम्मे बनाउँथ्यो भने कमेरोले सेतो रङ दिन्थ्यो। घरको बनावट र परिवारको रुचिअनुसार यी सामग्री प्रयोग गरिन्थे। घर सजाउनुका साथै भित्तालाई सफा र व्यवस्थित राख्न पनि लिपपोत गरिन्थ्यो।

परम्परागत घर निर्माणमा स्थानीय स्तरमै उपलब्ध माटो, ढुङ्गा, काठलगायत सामग्री प्रयोग हुन्थे। घरको बनावटअनुसार लिपपोतका सामग्री छनोट गरिन्थे। स्थानीय स्रोतसाधनको उपयोग गरेर घरलाई सुन्दर बनाउने यो अभ्यास पुस्तौँदेखि चल्दै आएको थियो। तर आधुनिक निर्माण सामग्रीको सहज उपलब्धता र पक्की घरप्रतिको आकर्षण बढेसँगै परम्परागत अभ्यासको निरन्तरता कमजोर बन्दै गएको छ।

घर पोत्ने काममा परिवारका सदस्यसँगै छिमेकी र आफन्तको सहयोग लिने चलन पनि कतिपय ठाउँमा थियो। आवश्यक माटो खोज्न जानेदेखि घर पोत्ने कामसम्म सामूहिक सहभागिता हुन्थ्यो। यसले घरको सरसफाइ र सजावटसँगै आपसी सहयोग तथा सामाजिक सम्बन्धलाई पनि बलियो बनाउँथ्यो।

रातो माटो र कमेरोले भित्ता पोत्ने चलनसँगै काठका झ्यालढोकामा खोटो लगाउने परम्परा पनि महत्त्वपूर्ण थियो। विशेषगरी सालको रुखको छिप्पिएको लोप्रा ताछेर पानीमा पकाई कालो रङको खोटो तयार पार्ने गरिन्थ्यो। उक्त खोटो काठका झ्यालढोका तथा आवश्यक भागमा लगाइन्थ्यो।

धनकुटा नगरपालिका–२ का मोहन थापाका अनुसार सालको लोप्राबाट तयार पारिएको खोटो वर्षमा एकपटक झ्यालढोकामा लगाएपछि धमिराले काठ खानबाट जोगिने र धुल्याहा नलाग्ने विश्वास गरिन्थ्यो। यसले काठलाई कालो रङ दिनुका साथै संरक्षणमा पनि सहयोग गर्ने उनको भनाइ छ।

अहिले भने काठमा लगाउने आधुनिक रङ, वार्निस तथा अन्य रासायनिक पदार्थको प्रयोग बढेको छ। घरको बनावट र निर्माण सामग्रीमा आएको परिवर्तनसँगै परम्परागत रूपमा खोटो तयार पार्ने र लगाउने सीप पनि हराउँदै गएको छ। सालको लोप्रा ताछ्ने, पकाउने र प्रयोगयोग्य बनाउने ज्ञान पुस्तान्तरण हुँदै आएको भए पनि यसको प्रयोग घटेसँगै नयाँ पुस्ताका लागि यो प्रक्रिया अपरिचित बन्दै गएको छ।

दसैँसँग जोडिएको संस्कार र सामूहिक अभ्यास

दसैँ नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व हो। यस अवसरमा घर सफा गर्ने, लिपपोत गर्ने, घरआँगन सजाउने र आफन्तसँग भेटघाट गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा घर पोत्ने काम दसैँको आगमनसँग जोडिएको सांस्कृतिक अभ्यासका रूपमा स्थापित थियो।

घरको लिपपोत गर्दा भित्तामा नयाँ रङ थपिने मात्र होइन, चाडपर्व आएको अनुभूतिसमेत हुन्थ्यो। घरका सदस्य मिलेर माटो खोज्ने, सामग्री तयार पार्ने र लिपपोत गर्ने प्रक्रियाले दसैँको तयारीलाई सामूहिक गतिविधिका रूपमा अघि बढाउँथ्यो। घर पोतिसकेपछि सफा र चिटिक्क देखिएको घरमा दसैँ मनाउँदाको उत्साह पनि बेग्लै हुने गरेको पुरानो पुस्ताको अनुभव छ।

धनकुटाका ७१ वर्षीय मोहन थापाका अनुसार विगतमा रातो माटो, कमेरो र खोटोको प्रयोग दसैँतिहारसँग जोडिएको संस्कृतिको अभिन्न पाटो थियो। आधुनिकतासँगै पुराना प्रचलन हराउँदै जाँदा अहिलेको पुस्तालाई यस्ता परम्परा र सामग्रीबारे जानकारीसमेत कम हुँदै गएको उनी बताउँछन्।

आधुनिकतासँगै बदलियो घरको स्वरूप

समयसँगै मानिसको बसोबास शैली र घर निर्माणमा प्रयोग हुने सामग्री पनि फेरिएका छन्। पहिले ढुङ्गा, माटो र काठबाट घर बनाउने चलन बढी थियो। यस्ता घरका भित्तामा रातो माटो र कमेरो लगाइन्थ्यो भने काठका झ्यालढोकामा खोटो प्रयोग गरिन्थ्यो। स्थानीय सामग्रीको प्रयोगले घर निर्माण तथा मर्मतसम्भारमा परम्परागत ज्ञान र सीपको उपयोग हुन्थ्यो।

अहिले सिमेन्ट, इँटा, रडलगायत आधुनिक निर्माण सामग्रीको प्रयोग बढेको छ। पक्की घर निर्माणसँगै भित्री तथा बाहिरी भित्तामा आधुनिक रङ लगाउने चलन व्यापक बनेको छ। बजारमा विभिन्न रङ तथा सजावटका सामग्री सहजै उपलब्ध हुन थालेपछि माटो र कमेरो खोज्नुपर्ने आवश्यकता पनि धेरै परिवारमा घटेको छ।

आधुनिक निर्माण सामग्रीले घरको निर्माण र सजावटमा नयाँ विकल्प उपलब्ध गराए पनि पुराना सीप तथा स्थानीय सामग्रीको उपयोगसम्बन्धी ज्ञान संरक्षण गर्नु चुनौतीपूर्ण बनेको छ। नयाँ पुस्ता आधुनिक घर निर्माण शैलीसँग परिचित हुँदै जाँदा पुर्खाले प्रयोग गर्दै आएका रातो माटो, कमेरो र खोटोको विशेषता तथा तिनलाई तयार पार्ने परम्परागत विधिबारे जान्ने अवसर कम हुँदै गएको छ।

यसरी दसैँको तयारीसँग जोडिएको रातो माटो, कमेरो र खोटोको संस्कृति केवल घर सजाउने परम्परा मात्र नभई स्थानीय स्रोतसाधनको उपयोग, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र सामूहिक जीवनशैलीको प्रतीक पनि हो। यसको प्रयोग घट्दै जानु ग्रामीण जीवनका पुराना अभ्यास र सांस्कृतिक पहिचान ओझेलमा पर्दै जानुको एउटा उदाहरण बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।
मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बेपत्ता भएकी छन्।