काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै राईले बदलिँदो विश्वमा राजनीतिक तथा सांस्कृतिक भिन्नताभन्दा साझा मानवता र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
नेपालका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका राईले विभिन्न देश, संस्कृति र राजनीतिक पृष्ठभूमिका मानिसहरूको साझा चाहना शान्तिपूर्ण जीवन र उज्ज्वल भविष्य रहेको उल्लेख गरे।
‘हामी विभिन्न देश, संस्कृति र राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। तर हाम्रा जनताका लागि शान्तिपूर्ण जीवन र उज्ज्वल भविष्य साझा आशा हो,’ उनले भने।
नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै राईले सबै राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय समस्या द्वन्द्वबाट नभई संवादका माध्यमबाट समाधान गर्नुपर्ने नेपालको मान्यता रहेको उनको भनाइ थियो।
भारत र चीन दुवैसँग नेपालले मैत्रीपूर्ण सम्बन्धलाई महत्त्व दिँदै आएको उल्लेख गर्दै उनले दुई छिमेकीलाई नेपालको विकासका महत्त्वपूर्ण साझेदारका रूपमा लिएको बताए। नेपालको भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गर्ने नभई जोड्ने माध्यम बन्नुपर्ने उनको धारणा थियो।
राईले अन्तर्राष्ट्रिय सम्बन्धको वास्तविक लाभ आम नागरिकको जीवनमा देखिनुपर्नेमा पनि जोड दिए। युवालाई रोजगारी, व्यवसायीलाई अवसर, विद्यार्थीलाई शिक्षा तथा प्रविधि र श्रमिकलाई सुरक्षा एवं सम्मान आवश्यक रहेको उनले बताए।
नेपालमा जलविद्युत् तथा स्वच्छ ऊर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसलाई जनताको आर्थिक अवसरमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गर्ने बताए। विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै उनीहरूको अधिकार, सुरक्षा र सम्मान संरक्षण हुनुपर्नेमा उनले जोड दिए।
जलवायु विपद्मा नेपाललाई व्यावहारिक सहयोग चाहिन्छ
राईले नेपालको जीवनमा गम्भीर प्रभाव पारिरहेको जलवायु परिवर्तनको विषय पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाए।
भोटेकोशी क्षेत्रसहित नेपालका विभिन्न भागमा हालै भएका विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उल्लेख गर्दै उनले धेरै परिवारले घर, जीविकोपार्जनका साधन र सुरक्षाको अनुभूति गुमाएको बताए।
‘हरेक विपद्को पछाडि वास्तविक मानिस हुन्छन्—आमा, बुबा र बालबालिका, जसको जीवन अचानक परिवर्तन भएको हुन्छ,’ उनले भने।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनका गम्भीर जोखिम सामना गर्नुपरेको उनको भनाइ थियो।
जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने देश र समुदायले नै सबैभन्दा बढी पीडा भोग्नुपर्ने अवस्था अन्यायपूर्ण भएको उल्लेख गर्दै राईले नेपाललाई सहानुभूतिभन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताए।
‘हामीलाई सहानुभूति मात्र होइन, व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। जलवायु परिवर्तन कुनै एक देशको समस्या होइन, यो हामी सबैको साझा जिम्मेवारी हो,’ उनले भने।
राजनीतिक भिन्नताभन्दा साझा मानवता ठूलो
सम्बोधनको अन्त्यमा राईले राजनीतिक विश्वास र राष्ट्रिय पहिचान फरक भए पनि संवादको ढोका बन्द गर्न नहुने बताए।
उनले टकरावको सट्टा संवाद, विभाजनको सट्टा सहकार्य र द्वन्द्वको सट्टा शान्तिको बाटो रोज्न अन्तर्राष्ट्रिय राजनीतिक दलहरूलाई आग्रह गरे।
नेपालकी एउटी आमा, कोरियाका एक पिता र संसारको कुनै कुनामा रहेका युवा विद्यार्थीको जीवनशैली फरक भए पनि उनीहरूका आशा र चाहना समान रहेको उनको भनाइ थियो। हरेक अभिभावकले आफ्ना सन्तान सुरक्षित रहून् भन्ने चाहने र हरेक युवाले अवसर खोज्ने उल्लेख गर्दै उनले शान्ति र राम्रो भविष्य सबैको साझा आकाङ्क्षा भएको बताए।
‘हाम्रा झण्डा फरक हुन सक्छन् र हामीले बोल्ने भाषा पनि फरक हुन सक्छन्, तर हाम्रो मानवता एउटै छ। हामीसँग एउटै विश्व छ र यो हामी सबैको साझा हो। भावी पुस्ताका लागि यस विश्वलाई अझ राम्रो बस्नयोग्य स्थान बनाऔँ,’ उनले भने।
उनले इतिहासले देशहरूबीचका विभाजन र भिन्नताभन्दा निर्माण गरिएको विश्वास, संरक्षण गरिएको शान्ति र सामूहिक रूपमा सिर्जना गरिएको भविष्यका लागि सम्झिनुपर्ने धारणा राख्दै सम्बोधन टुङ्ग्याए।
‘इतिहासले हामीलाई विभाजित गर्ने भिन्नताहरूका लागि होइन, हामीले निर्माण गरेको विश्वास, संरक्षण गरेको शान्ति र मिलेर सिर्जना गरेको भविष्यका लागि सम्झियोस्,’ राईले भने।