काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। झन्डै दुई वर्षअघि रहस्यमय ढङ्गले बेपत्ता भएकी ममताको हत्या गरेको अभियोगमा भट्टलाई अमेरिकी अदालतको जुरीले सन् २०२६ नोभेम्बर १० (मंगलबार) तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।
जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या (First-degree murder), मृत शरीर लुकाएको (Concealing a dead body) र मृत शरीरको अपमान गरेको (Defiling a dead body) अभियोगमा दोषी पाएको हो।
करिब छ सातासम्म चलेको सुनुवाइपछि आएको यो निर्णयले ममताको मृत्यु र त्यसपछि उनको शव व्यवस्थापन गरिएको घटनाबारेको लामो कानुनी प्रक्रियामा महत्त्वपूर्ण मोड ल्याएको छ।
तीन अभियोगमा के छ?
प्रथम श्रेणीको हत्या
अमेरिकी कानुनमा प्रथम श्रेणीको हत्या सामान्यतः जानाजानी, योजनाबद्ध र पूर्वतयारीसहित गरिएको हत्या हो।
भर्जिनिया राज्यको कानुनको धारा १८.२–३२ अनुसार इच्छापूर्वक, सोचविचार गरेर र पूर्वयोजना बनाएर गरिएको हत्या प्रथम श्रेणीको हत्यामा पर्छ।
यस मुद्दामा अभियोजन पक्षले भट्टले ममताको हत्या योजनाबद्ध रूपमा गरेको दाबी गर्दै विभिन्न प्रमाण प्रस्तुत गरेको थियो। जुरीले उनलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ। यो अभियोगमा उनलाई २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ।
मृत शरीर लुकाएको
यो अभियोग मृत व्यक्तिको शव लुकाउने, अन्यत्र सार्ने वा मृत्युको वास्तविक कारण तथा परिस्थितिबारे अनुसन्धान हुन नदिन शवको अवस्था परिवर्तन गर्ने कार्यसँग सम्बन्धित छ।
भर्जिनिया राज्यको कानुनको धारा १८.२–३२३.०२ अनुसार गैरकानुनी कार्य, मृत्यु वा मृत्युको कारण पत्ता लाग्न नदिन दुर्भावनापूर्ण उद्देश्यले शव लुकाउनु वा स्थानान्तरण गर्नु अपराध हो।
ममताको शव अहिलेसम्म फेला परेको छैन। तर भट्टले अदालतमा दिएको बयानमा ममताको मृत्यु भएपछि आफूले शव व्यवस्थापन गरेको स्वीकार गरेका थिए।
उनले ममताको शव घरबाट हटाएको र फोहोर फाल्ने ठाउँमा पुर्याएको बताएका थिए। तर उनले ममताको हत्या भने आफूले नगरेको जिकिर गरेका थिए।
यस अभियोगमा पनि जुरीले उनलाई दोषी ठहर गरेको छ। भर्जिनिया कानुनअनुसार यो कक्षा ६ को अपराध हो र एकदेखि पाँच वर्षसम्म कैद हुन सक्छ।
मृत शरीरको अपमान
यो अभियोग मृत शरीरलाई जानाजानी क्षति पुर्याउने, विकृत बनाउने वा शवको मर्यादाविपरीत व्यवहार गर्ने कार्यसँग सम्बन्धित छ।
मुद्दाको सुनुवाइका क्रममा भट्टले ममताको शवलाई आरा प्रयोग गरेर टुक्राटुक्रा पारेको स्वीकार गरेका थिए।
उनका अनुसार ममताको मृत्यु भएको अवस्थामा आफूले सुरुमा उनलाई बचाउने प्रयास गरेका थिए। तर त्यसपछि डर र तनावका कारण शव व्यवस्थापन गर्ने निर्णय गरेको उनको दाबी थियो।
उनले शवलाई फोहोर फाल्ने भाँडोमा अटाउने बनाउन टुक्राटुक्रा पारेको बताएका थिए।
तर अभियोजन पक्षले यो कार्य सामान्य डर वा त्रासको परिणाम नभई हत्या लुकाउने उद्देश्यले गरिएको दाबी गरेको थियो। जुरीले मृत शरीरको अपमान गरेको अभियोगमा पनि उनलाई दोषी ठहर गरेको छ।
सुनुवाइमा के-के प्रमाण प्रस्तुत भए?
यो मुद्दाको सुनुवाइ करिब छ साता चलेको थियो। अभियोजन पक्षले भट्टविरुद्ध ८० भन्दा बढी साक्षी तथा विभिन्न भौतिक र डिजिटल प्रमाण प्रस्तुत गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
मुख्य प्रमाणहरू यसप्रकार छन् :
१. आरामा भेटिएको डीएनए तथा रगतका अंश
अनुसन्धानका क्रममा भट्टले प्रयोग गरेको आरीमा रगतको आशङ्का गरिएको दाग र कपालजस्ता वस्तु फेला परेका थिए। फरेन्सिक परीक्षणमा आरीभित्रका केही नमुनाको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खाएको अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको थियो।
२. इन्टरनेटमा गरिएका खोजी
भट्टको डिजिटल गतिविधि अनुसन्धान गर्दा ममता बेपत्ता हुनुभन्दा केही महिनाअघि नै उनले इन्टरनेटमा श्रीमती बेपत्ता भए के हुन्छ र श्रीमती हराए सम्बन्धविच्छेद गर्न मिल्छ कि मिल्दैन भन्ने विषय खोजेको प्रमाण अदालतमा प्रस्तुत गरिएको थियो।
३. घरभित्र रगतका दाग
भट्ट दम्पतीको सुत्ने कोठा तथा बाथरुमको कार्पेटमा रगतका दाग भेटिएका थिए। फरेन्सिक परीक्षणले ती नमुनामा ममता र उनकी छोरीको डीएनए प्रोफाइलसँग मेल खाने अंश देखाएको थियो।
४. शव व्यवस्थापन गरेको स्वीकारोक्ति
मुद्दाको सुनुवाइका क्रममा भट्टले पहिलोपटक ममताको मृत्यु भएको र आफूले उनको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका थिए।
तर ममताले आत्महत्या गरेको र आफूले डरका कारण शव लुकाएको उनको जिकिर थियो। अभियोजन पक्षले भने यो भनाइलाई अस्वीकार गर्दै उनले योजनाबद्ध रूपमा हत्या गरेको दाबी गरेको थियो।
ममताको शव अझै भेटिएको छैन
सन् २०२४ जुलाईको अन्तिम साता ममता अन्तिमपटक देखिएकी थिइन्। उनी अमेरिकाको भर्जिनियास्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्।
सन् २०२४ अगस्ट १ मा उनी काममा नआएपछि सहकर्मीहरूले उनको खोजी सुरु गरेका थिए। अगस्ट ५ मा भट्टले प्रहरीसमक्ष श्रीमती हराएको जानकारी गराएका थिए।
भट्टले सुरुमा ममता घर छाडेर न्युयोर्क वा टेक्सास गएको हुन सक्ने बताएका थिए। तर अनुसन्धानका क्रममा प्रहरीले घरभित्रका रगतका दाग, डिजिटल गतिविधि र अन्य प्रमाणका आधारमा उनीमाथि अनुसन्धान अघि बढाएको थियो।
अगस्ट २२, २०२४ मा भट्ट पक्राउ परेका थिए।
यस प्रकरणमा सबैभन्दा महत्त्वपूर्ण कुरा ममताको शव अहिलेसम्म फेला नपर्नु हो। भट्टले शव विभिन्न फोहोर सङ्कलन केन्द्रमा फालेको बयान दिएका छन्। अभियोजन पक्षले पनि शव अन्ततः ल्यान्डफिलमा पुगेको हुन सक्ने तर्क गरेको छ। तर शवको वास्तविक अवस्थिति पुष्टि भएको छैन।
अब के हुन्छ?
अदालतले भट्टको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तोकेको छ।
प्रथम श्रेणीको हत्यामा उनलाई आजीवन कारावाससम्म सजाय हुन सक्छ। मृत शरीर लुकाएको र अपमान गरेको अभियोगमा थप कैद सजाय हुन सक्नेछ।
अदालतले दोषी ठहर गरेसँगै भट्टको धरौटीसमेत खारेज गरेको छ। उनी सन् २०२४ को अगस्टमा पक्राउ परेदेखि हिरासतमै थिए।