नेभिगेशन
समाज

जलवायु वित्तको संरचनामाथि अर्थमन्त्री वाग्लेको प्रश्न– तथ्याङ्क छन् तर निर्णयमा किन प्रयोग भएनन् ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसबाट हुने क्षतिको वित्तीय व्यवस्थापनका लागि नेपालमा तथ्याङ्क सङ्कलनभन्दा पनि त्यसलाई निर्णय प्रक्रियासँग जोड्ने प्रणालीको अभाव रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टर्कीको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नोभेम्बर १० (कात्तिक २४) मा युएनएफसीसीसी प्याभिलियनमा आयोजित ‘सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी’ (एसओएफएफ) को उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले तथ्याङ्क र निर्णयबीचको खाडल औँल्याएका हुन् ।

Marvel
Extreme Energy

नेपालमा यस वर्ष अगस्ट २६ (भदौ १०) मा भोटेकोशी–त्रिशूली करिडोरको उच्च हिमाली क्षेत्रमा चट्टानी भित्तो भत्किएर आएको विनाशकारी बाढीको उदाहरण दिँदै अर्थमन्त्री वाग्लेले परम्परागत पूर्वसूचना प्रणाली र वित्तीय सुरक्षणका उपकरणले यस्तो विपद् पहिचान गर्न नसकेको बताए ।

‘त्यसो भए एक जना अर्थमन्त्री यो मञ्चमा किन छ ? यस वर्ष अगस्ट २६ को बिहान नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी–त्रिशूली करिडोरमाथिको चट्टानी भित्तो भत्कियो र लेदोसहितको बाढीमा परिणत भयो । त्यस बिहान नेपालसँग भएका हरेक उपकरण, अर्थात् हाम्रो ऋण सुविधाका ट्रिगर, हामीले किन्न सक्ने कुनै पनि बीमाका ट्रिगर र हाम्रो पूर्वसूचना शृङ्खलाका मापन यन्त्र, सबैले वर्षा र नदीको सतह पढ्थे । पानी परेन’, उनले भने ।

उनले नेपाल तथ्याङ्कको अभाव भएको देश नभई उपलब्ध तथ्याङ्कलाई निर्णयमा रूपान्तरण गर्ने प्रणाली कमजोर भएको देशका रूपमा चित्रण गरे । उनका अनुसार अवलोकन र मापन नै हरेक वित्तीय उपकरणको आधार हो । तथ्याङ्क नहुँदा जोखिम पहिचान गर्ने ट्रिगर बन्दैन, ट्रिगरबिना प्यारामेट्रिक बीमा सम्भव हुँदैन र बीमा नहुँदा विपद्पछिको पूर्वव्यवस्थित वित्तीय स्रोतको व्यवस्था हुन सक्दैन ।

‘तथ्याङ्क छैन भने ट्रिगर छैन । ट्रिगर छैन भने प्यारामेट्रिक बीमा छैन । बीमा छैन भने पूर्वव्यवस्थित वित्त छैन । छ त केवल ऋणका रूपमा आउने वित्त । महँगो ऋण’, उनले भने ।

जलवायुजन्य विपद्को जोखिम सामना गर्न नेपालले भोगिरहेको चुनौतीलाई उनले विश्वकै लागि पाठका रूपमा प्रस्तुत गरे । यस्ता जोखिमका लागि नेपाल पहिले नै प्रयोगशाला बनिसकेको उल्लेख गर्दै उनले अब नेपाल वैज्ञानिक अवलोकन र पूर्वानुमानमा पनि सक्षम बन्नुपर्नेमा जोड दिए ।

‘तातो हुँदै गएको विश्व अन्धकारमा उडिरहेको छ, र त्यसको भार सबैभन्दा कम थेग्न सक्ने देशहरू नै सबैभन्दा बढी अन्धकारमा उडिरहेका छन्’, उनले भने ।

अर्थमन्त्री वाग्लेले जलवायु जोखिमको प्रभावकारी व्यवस्थापनका लागि आधारभूत तहमा वैज्ञानिक अवलोकन, मापन प्रणाली र त्यसका लागि आवश्यक वित्तीय स्रोतमा लगानी गर्नुपर्ने बताए । त्यस्तो आधार निर्माण भएपछि त्यसैमा टेकेर जोखिम पहिचान, पूर्वसूचना, बीमा र पूर्वव्यवस्थित वित्तीय संयन्त्र विकास गर्न सकिने उनको भनाइ थियो ।

उनले नेपालले सन् २०२६ मा भोगेको विपद्बाट सिकेका पाठलाई अन्तर्राष्ट्रिय सहकार्य र लगानीमार्फत व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

‘आधार तहमा लगानी गरौँ । त्यसमाथि हामी मिलेर निर्माण गरौँ, ताकि यो मञ्चमा आउने अर्को अर्थमन्त्रीसँग वर्षा मात्र होइन, पहाडलाई पनि पढ्ने ट्रिगर होस् । नेपालले सन् २०२६ मा सिकेका पाठलाई सार्थक बनाऔँ, ताकि कुनै पनि देशले ती पाठ फेरि सिक्नु नपरोस्’, उनले भने ।

वाग्लेको सम्बोधनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् व्यवस्थापनमा परम्परागत वर्षा र नदीको सतह मापनमा मात्र निर्भर पूर्वसूचना प्रणाली पर्याप्त नहुने र हिमाली क्षेत्रमा हुने चट्टानी पहिरो, हिमताल विस्फोट तथा अन्य भूगर्भीय जोखिमलाई समेत समेट्ने वैज्ञानिक अवलोकन प्रणाली आवश्यक रहेको सन्देश दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दिदीबहिनी नहुनेका पनि साझा थलो बन्यो बालगोपालेश्वर (तस्बिर कथा)

दाजुभाइ र दिदीबहिनीबीच प्रेम, विश्वास र आत्मीयताको प्रतीक भाइटीका । निधारमा सप्तरङ्गी टीका, गलामा फूलका माला र मनभरि शुभकामना बोकेर दाजुभाइ दिदीबहिनीको घर पुगिरहेका बेला काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर...
उत्तम साइतमा लगाइयो भाइटीका

उत्तम साइतमा लगाइयो भाइटीका

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको उत्तम साइत बिहान ११ः०७ बजे...
अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

अधुरो हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढ्यो, पाँच अर्ब ६० करोडको ठेक्का

बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडक निर्माणको प्रक्रिया अघि बढेको छ । हुलाकी सडक निर्देशनालयले सडक र पुल निर्माणका लागि कुल...
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीका तीन निःशुल्क बस सञ्चालन

भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएपछि सशस्त्र प्रहरी बल, नेपालले सर्वसाधारणको आवतजावत सहज बनाउन काठमाडौँ उपत्यकामा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।