नेभिगेशन
समाज

रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली सौन्दर्यको आकर्षक गन्तव्य

रसुवा । रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र हिमाली जनजीवनको अनुभव एकै ठाउँमा लिन सकिने भएकाले नागथली पर्यटकको रोजाइमा पर्न थालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको नागथली गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्छ । स्थानीय भाषामा ‘नगथली’ भनेर चिनिने यो क्षेत्र हाइकिङ, पदयात्रा र हिमाली दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ ।

Marvel
Extreme Energy

गुम्बानजिकै नागको थान रहेकाले यस ठाउँको नाम नागथली रहन गएको स्थानीय बासिन्दाको भनाइ छ । प्राचीन कालमा गुरु रिम्पोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ । गुम्बाभित्र भगवान् बुद्ध, चेरेसी र गुटासिङतोङका मूर्ति छन् ।

चन्द्रपात्रोअनुसार प्रत्येक वर्ष वैशाख र असोज पूर्णिमाका दिन यहाँ विशेष पूजाआजासहित मेला लाग्ने गर्छ । मुख्य गुम्बाको उत्तर–पश्चिम कुनामा अर्को गुम्बा तथा विभिन्न धार्मिक र ऐतिहासिक स्थल छन् ।

यस क्षेत्रमा गुरु रिम्पोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने विश्वास गरिएको सुरुङ, ‘खण्डोमो क्षाम्सा’ अर्थात् देवी नाच्ने थान र प्राचीन ढुङ्गे गुफा अवलोकन गर्न सकिन्छ । गुरु रिम्पोर्छेले मन्त्रद्वारा उत्पत्ति गराएको जनविश्वास रहेको कहिल्यै नसुक्ने सानो पानीको मुहानलाई स्थानीय बासिन्दा तथा भक्तजनले पवित्र जलका रूपमा प्रयोग गर्दै आएका छन् ।

नागथलीबाट गगनचुम्बी हिमशृङ्खला र हिमनदीको मनमोहक दृश्य देख्न सकिन्छ । पदमार्गको छेउछाउमा बग्ने नदी, विभिन्न प्रजातिका लालीगुराँस, माने, छ्योर्तेन तथा फराकिला खर्कमा चरिरहेका याक, चौँरीगाई र भेडाका बथान यहाँका थप आकर्षण हुन् ।

यस क्षेत्रका वनजङ्गलमा हिमचितुवा, घोरल, थारल, भालु, बँदेल र लङ्गुरलगायत वन्यजन्तु पाइन्छन् । नागथलीबाट करिब दुई घण्टाको पैदलयात्रामा तरुचे पुग्न सकिन्छ । तरुचेबाट छिमेकी मुलुक चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ र च्याङगाउँ आसपासका भूभाग स्पष्ट देखिन्छन् । नागथलीबाट करिब एक दिनको पैदलयात्रामा गणेश हिमालको फेँदीसम्म पुग्न सकिन्छ । यस क्षेत्रको ऐतिहासिक माला गढी पनि पर्यटकका लागि अर्को आकर्षण हो ।

सामान्य अवस्थामा नागथली पुग्न पासाङल्हामु राजमार्गको स्याफ्रुबेँसी–टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो र थुमन गाउँ हुँदै जान सकिन्छ । थुमन गाउँबाट करिब चार घण्टाको ठाडो उकालो पैदल हिँडेपछि नागथली पुगिन्छ ।

त्यस्तै, तामाङ सम्पदा मार्गअन्तर्गत स्याफ्रुबेँसीबाट गोल्जुङ, गतलाङ र चिलिमे (तातोपानी) हुँदै नागथली पुग्ने अर्को पदमार्ग पनि छ । तर, गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि करिब साढे दुई महिनासम्म यस क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको थियो ।

हालै स्थानीय बासिन्दाको श्रमदानमा भोटेकोशी नदीमा काठेपुल निर्माण भएपछि आवतजावत पुनः सुरु भएको छ । सडक सञ्जाल अवरुद्ध रहेकाले अहिले पर्यटकले स्याफ्रुबेँसीदेखि नै पैदलयात्रा गर्दै नागथली पुग्नुपर्ने अवस्था छ ।

तिब्बती, शेर्पा र तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र रहनसहन पनि नागथलीको अर्को विशेषता हो । पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा पूर्वाधार र आतिथ्य सेवासमेत विस्तार हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन लामाले बताए ।

उनका अनुसार पर्यटकको सहजताका लागि वडा कार्यालयले बजेट विनियोजन गरी आवश्यक योजना तथा व्यवस्थापनका काम गरिरहेको छ । “पहिले यहाँ एउटा मात्रै होटल थियो । अहिले पर्यटकको चाप बढेसँगै करिब छ वटा होटल तथा लज सञ्चालनमा आइसकेका छन्”, लामाले भने, “बाढीले सडक बगाए पनि स्थानीयको श्रमदानमा काठेपुल बनेपछि अहिले स्याफ्रुबेँसीदेखि नै हाइकिङ गर्दै आउने पर्यटकका लागि बाटो खुलेको छ ।”

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले पनि नागथलीलाई पदयात्रा र सांस्कृतिक पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा चित्रण गरे ।

“काठमाडौँबाट नजिकै रहेर पनि हिमाली जनजीवन, चौँरी खर्क, लालीगुराँस र चीनको सीमावर्ती क्षेत्रको दृश्यावलोकन एकैसाथ गर्न पाइने भएकाले नागथलीको प्रवर्द्धनमा पर्यटन समाजले विशेष जोड दिएको छ”, न्यौपानेले भने, “स्थानीयको श्रमदानमा काठेपुल बनेसँगै अहिले पदयात्रीका लागि यो मार्ग झनै रोमाञ्चक बनेको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् ।
मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका लगाएका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका...