नेभिगेशन
समाज

एनभिडिया प्रमुख हुआङमाथि भइरहेछ अनुसन्धान, शेयरधनीहरूले पनि दायर गरे मुद्दा

दुई दिनमा शेयर बजारमा ठूलो गिरावट

एजेन्सी । एआई चिप निर्माता एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङविरुद्ध लगानीकर्तालाई गुमराहमा राखेको आरोपमा अमेरिकामा सामूहिक मुद्दा दायर भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको गुप्तचर निकायसँग आबद्ध रहेको आशंका गरिएकी एक महिलासँग हुआङको विवाहेतर सम्बन्ध र त्यसबाट उत्पन्न हुन सक्ने राष्ट्रिय सुरक्षा जोखिमबारे कम्पनीले पर्याप्त जानकारी नदिएको आरोप लगाउँदै शेयरधनीले मुद्दा दायर गरेका हुन्। विवाद चर्किएपछि कम्पनीको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान सुरु गरेको छ भने अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले पनि यस विषयमा अनुसन्धान गरिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

Marvel
Extreme Energy

अमेरिकाको क्यालिफोर्नियास्थित सान होजेमा रहेको संघीय अदालतमा सोमबार (नोभेम्बर ९) रोजेन ल फर्मले शेयरधनी मार्क किस्टेनमाचरका तर्फबाट मुद्दा दायर गरेको हो। यो मुद्दाले सन् २०२५ अक्टोबर ९ देखि २०२६ नोभेम्बर ८ सम्म एनभिडियाको शेयर खरिद गरेका लगानीकर्ताको प्रतिनिधित्व गर्ने दाबी गरेको छ।

मुद्दामा एनभिडिया र हुआङले कम्पनीको व्यावसायिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षासँग जोडिएका सम्भावित जोखिमबारे लगानीकर्तालाई पर्याप्त जानकारी नदिएको आरोप लगाइएको छ। कम्पनीले सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडसँगको कारोबारमा कुनै गैरकानुनी गतिविधि नभएको बताउँदै आएको भए पनि त्यसबेला हुआङको उक्त कम्पनीकी एक पूर्वकार्यकारी एलिस हुआङसँग निकट सम्बन्ध रहेको तथ्य लुकाइएको दाबी मुद्दामा गरिएको छ।

वादीका अनुसार यस्तो सम्बन्ध र त्यससँग जोडिएका सम्भावित राष्ट्रिय सुरक्षा जोखिमबारे जानकारी नदिई कम्पनीले लगानीकर्तालाई भ्रममा राखेको थियो। त्यसबाट एनभिडियाको शेयर मूल्य वास्तविक अवस्थाभन्दा कृत्रिम रूपमा उच्च रहन पुगेको र विवाद सार्वजनिक भएपछि मूल्य घट्दा लगानीकर्ताले आर्थिक क्षति बेहोर्नुपरेको उनीहरूको दाबी छ।

मुद्दामा प्रतिवादीबाट क्षतिपूर्ति माग गरिएको छ।

एलिस हुआङसँगको सम्बन्ध र जासुसीको आशंका

यो विवादको केन्द्रमा एनभिडियाका ६३ वर्षीय सीईओ जेन्सेन हुआङ र सिङ्गापुरमा आधारित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङ छन्। दुवैको थर एउटै भए पनि उनीहरूबीच पारिवारिक नाता छैन।

गत अक्टोबरमा द न्युयोर्क टाइम्सले अमेरिकी गुप्तचर निकायका अधिकारीहरूलाई उद्धृत गर्दै एलिस हुआङ चीनको मुख्य गुप्तचर संस्था मिनिस्ट्री अफ स्टेट सेक्युरिटी (एमएसएस) का लागि सूचना संकलन गर्ने व्यक्ति भएको अमेरिकी अधिकारीहरूको निष्कर्ष रहेको समाचार प्रकाशित गरेको थियो।

समाचारअनुसार अमेरिकी गुप्तचर निकायहरूले इलेक्ट्रोनिक निगरानीमार्फत एलिस हुआङको गतिविधि अध्ययन गरेका थिए। त्यस क्रममा उनी र एनभिडियाका प्रमुख कार्यकारीबीच निकट सम्बन्ध रहेको तथा उनले बेइजिङका लागि सूचना संकलनगरिरहेको आशङ्का गरिएको थियो।

अमेरिकी अधिकारीहरूको चिन्ता एलिसले हुआङसँगको सम्बन्ध प्रयोग गरेर एनभिडियाको व्यावसायिक योजना, प्रविधि विकासको दिशा र चीनमा चिप बिक्रीसम्बन्धी अमेरिकी सरकारको नीतिबारे सूचना प्राप्त गर्न खोजेको हुन सक्ने विषयमा केन्द्रित रहेको समाचारमा उल्लेख छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा तयार पारिएको गोप्य सरकारी ज्ञापनपत्रमा एलिसलाई चीनको गुप्तचर निकायले हुआङमाथि निगरानी तथा सूचना संकलनका लागि परिचालन गरेको दाबी गरिएको समाचार पनि सार्वजनिक भएको छ।

मेगास्पिडसँग ४ अर्ब ८० करोड डलरभन्दा बढीको कारोबार

विवादलाई थप गम्भीर बनाउने पक्ष एनभिडिया र मेगास्पिडबीचको व्यावसायिक सम्बन्ध हो। द न्युयोर्क टाइम्सका अनुसार मेगास्पिडले पछिल्ला दुई वर्षमा एनभिडियाबाट ४ अर्ब ८० करोड डलरभन्दा बढी मूल्यका उन्नत एआई चिप खरिद गरेको थियो।

सिङ्गापुरमा आधारित मेगास्पिडले दक्षिणपूर्वी एसियामा डेटा सेन्टर सञ्चालन तथा निर्माण गर्दै आएको छ। उसले आफ्नो कम्प्युटिङ क्षमता चिनियाँ प्रविधि कम्पनी अलिबाबालगायतका ग्राहकलाई उपलब्ध गराउने गरेको बताइएको छ।

अमेरिकाले चीनलाई अत्याधुनिक सेमिकन्डक्टर तथा एआई प्रविधिमा पहुँच सीमित गर्न विभिन्न निर्यात प्रतिबन्ध लगाएको छ। विशेषगरी कृत्रिम बौद्धिकता विकास र सैन्य प्रयोजनमा प्रयोग हुन सक्ने उच्च क्षमताका चिप चीन पुग्न नदिन अमेरिकी प्रशासनले कडा नियन्त्रण व्यवस्था लागू गरेको छ।

यसै सन्दर्भमा मेगास्पिडले अमेरिकी निर्यात प्रतिबन्ध छल्दै उन्नत एनभिडिया चिप चीन पुर्‍याउन सहयोग गरेको हुन सक्ने आशङ्कामा अमेरिकी वाणिज्य मन्त्रालय र न्याय मन्त्रालयले अनुसन्धान गरिरहेको समाचार सार्वजनिक भएका छन्।

सीबीएस न्युजका अनुसार अमेरिकी न्याय मन्त्रालयको राष्ट्रिय सुरक्षा विभागले मेगास्पिडमाथि अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी सम्भावित उल्लङ्घनबारे अनुसन्धान गरिरहेको छ। सीबीएसले दुई जना कानुन कार्यान्वयन अधिकारीलाई उद्धृत गर्दै यो विवरण सार्वजनिक गरेको हो।

एनभिडियाले भने आफ्नो कम्प्लायन्स अर्थात् कानुनी अनुपालन टोलीले मेगास्पिडको कारोबारबारे जाँच गर्दा गैरकानुनी गतिविधि नभेटिएको बताउँदै आएको थियो। कम्पनीले आफ्ना ग्राहकसँग सीईओको भेटघाट सामान्य व्यावसायिक प्रक्रियाअन्तर्गत हुने र त्यस क्रममा संवेदनशील व्यापारिक सूचना उपलब्ध नगराइने दाबी गरेको थियो।

हुआङले पनि ब्लुमबर्गसँगको अन्तर्वार्तामा मेगास्पिडका अधिकारीसँगको आफ्नो अन्तरक्रिया सामान्य व्यावसायिक सम्बन्धअन्तर्गत रहेको बताएका थिए।

तर, एलिससँगको व्यक्तिगत सम्बन्धबारे नयाँ विवरण सार्वजनिक भएपछि कम्पनीले यसअघि दिएको जवाफ र लगानीकर्तालाई उपलब्ध गराएको जानकारीमाथि प्रश्न उठेको छ। शेयरधनीले यही विषयलाई आधार बनाएर मुद्दा दायर गरेका हुन्।

हुआङद्वारा पत्नी र परिवारसँग सार्वजनिक माफी

विवाद चर्किएपछि जेन्सेन हुआङले नोभेम्बर ८ मा एनभिडियाका कर्मचारीलाई सम्बोधन गर्दै सार्वजनिक माफी मागेका थिए। एनभिडियाको आधिकारिक न्युजरुममा प्रकाशित उनको पत्रमा उनले पत्नीप्रति अविश्वासी भएको स्वीकार गरेका छन्।

उनले आफ्नो व्यवहारबाट पत्नी र छोराछोरीलाई चोट पुगेको भन्दै त्यसको कुनै बहाना नरहेको उल्लेख गरेका छन्। आफूले परिवारको विश्वास तोडेको र त्यसको पूर्ण जिम्मेवारी लिने पनि उनले बताएका छन्।

हुआङले आफ्नी पत्नी, परिवार, कम्पनीका सहकर्मी, सञ्चालक समिति, व्यावसायिक साझेदार र शेयरधनीसँग माफी माग्दै उनीहरूको विश्वास पुनः प्राप्त गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले राष्ट्रिय सुरक्षा सरोकारसँग जोडिएका समाचारबारे कम्पनीको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान सुरु गरेको र आफूले त्यसमा पूर्ण सहयोग गर्ने बताएका छन्। आफू अमेरिका र एनभिडियाप्रति प्रतिबद्ध रहेको तथा अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षा गर्न सहयोग गर्ने उनको भनाइ छ।

तर, हुआङले आफ्नो पत्रमा एलिस हुआङको नाम उल्लेख गरेका छैनन्। न त उनीसँगको सम्बन्धको प्रकृति र त्यसको अवधिबारे विस्तृत विवरण दिएका छन्।

सञ्चालक समितिद्वारा स्वतन्त्र छानबिन

विवाद सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले कम्पनीका सीईओमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गर्न स्वतन्त्र अनुसन्धान सुरु गरेको छ।

समितिले न्युयोर्कस्थित कानुन व्यवसायी फर्म वाचटेल, लिप्टन, रोजेन एन्ड कात्जलाई अनुसन्धानको जिम्मेवारी दिएको छ। अनुसन्धानको नेतृत्व उक्त फर्मका साझेदार जुन एच. किमले गर्नेछन्। उनी न्युयोर्कको साउदर्न डिस्ट्रिक्टका पूर्वकार्यवाहक अमेरिकी सरकारी वकिल हुन्।

कम्पनीको सञ्चालक समितिले अनुसन्धान स्वतन्त्र रूपमा अघि बढ्ने जनाएको छ। हुआङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यस घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका छन्। उनले एफबीआईले यस विषयमा अनुसन्धान गरिरहेको पुष्टि गरेका छन्। हुआङसँग आफूले कुरा गरेको र उनलाई एलिसको सम्भावित जासुसी गतिविधिबारे जानकारी नभएको उनले बताएको ट्रम्पको भनाइ छ।

यस विषयले अमेरिकी संसद्का केही प्रभावशाली डेमोक्र्याट नेताको पनि ध्यान खिचेको छ। सिनेटर मार्क वार्नर र प्रतिनिधिसभाका डेमोक्र्याट नेता हाकिम जेफ्रिजले घटनाबारे थप अनुसन्धान गर्नुपर्ने चासो व्यक्त गरेका छन्।

चीनद्वारा आरोप अस्वीकार

चीनले भने आफ्नो देशको गुप्तचर निकायसँग एलिस हुआङको सम्बन्ध रहेको भन्ने आरोप अस्वीकार गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गो जिआकुनले नोभेम्बर ९ मा आयोजित नियमित पत्रकार सम्मेलनमा तथाकथित चिनियाँ जासुससम्बन्धी आरोप निराधार रहेको र चीनको छवि बिगार्ने प्रयास भएको बताएका थिए।

भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यु जिङले पनि सामाजिक सञ्जालमार्फत चीनले एनभिडिया प्रमुखसँग जोडिएका कथित जासुसी आरोप अस्वीकार गर्ने बताएकी छन्।

यसरी चीनले आरोप अस्वीकार गरिरहेको छ भने अमेरिकी अधिकारीहरूको भनाइ र सञ्चारमाध्यममा प्रकाशित विवरणले घटनालाई राष्ट्रिय सुरक्षा तथा प्रविधि प्रतिस्पर्धासँग जोडेको छ।

दुई दिनमा शेयर बजारमा ठूलो गिरावट

विवाद सार्वजनिक भएपछि एनभिडियाको शेयर मूल्यमा पनि गिरावट आएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार सोमबार कम्पनीको शेयर मूल्य ४.३ प्रतिशत अर्थात् प्रतिकित्ता ७.९७ डलरले घटेको थियो। त्यसबाट कम्पनीको बजार पुँजीकरण करिब १९० अर्ब डलरले घटेको थियो।

मङ्गलबार पनि शेयर मूल्यमा गिरावट जारी रह्यो। एपीका अनुसार बजार बन्द हुँदा त्यस दिन शेयर मूल्यमा करिब ५.५ प्रतिशत गिरावट आएको थियो।

यसरी लगातार दुई दिनको गिरावटले एनभिडियाको बजार मूल्यमा ठूलो दबाब सिर्जना गरेको छ। 

विश्वको सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका लागि यो विवाद केवल सीईओको व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा सीमित छैन। कम्पनीको व्यापारिक पारदर्शिता, उच्च प्रविधिको निर्यात नियन्त्रण, अमेरिकी राष्ट्रिय सुरक्षा र लगानीकर्ताको विश्वाससँग समेत जोडिएको छ।

एनभिडियाले उत्पादन गर्ने ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) तथा अन्य उच्च क्षमताका चिप कृत्रिम बौद्धिकता विकासका लागि विश्वव्यापी रूपमा प्रयोग हुन्छन्। यस्ता चिपको उत्पादन तथा बिक्रीमा एनभिडियाको ठूलो प्रभाव रहेकाले कम्पनीको नेतृत्वसँग जोडिएको कुनै पनि राष्ट्रिय सुरक्षा विवादले विश्व प्रविधि बजारमा प्रभाव पार्न सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् ।
रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली सौन्दर्यको आकर्षक गन्तव्य

रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली सौन्दर्यको आकर्षक गन्तव्य

रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका लगाएका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका...