नेभिगेशन
समाज

३७ वर्षदेखि हरियालीमै रमाउँदै हरिशरण

मकवानपुर  । हातमा बिरुवाको टोकरी। सडकपेटीमा ग्राहकको प्रतीक्षा। उमेरले किशोरावस्था। विद्यालयबाट फर्किएपछि उनको दिनचर्या यस्तै हुन्थ्यो। दिउँसो ४ बजे विद्यालय छुट्थ्यो। त्यसपछि सुरु हुन्थ्यो अर्को पाठशाला–माटो, बिरुवा र बजार बुझ्ने पाठशाला।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेटौँडाको राप्ती रोडमा रात्रिकालीन बस चल्ने समय थियो त्यो। सडकमा मानिसको चहलपहल बाक्लिँदै जान्थ्यो। द्वारिका र प्रेम श्रेष्ठको घरअगाडि सडकपेटीमा बसेर हरिशरण गौतम तरकारीका साना बिरुवा बेच्थे। ग्राहकको प्रतीक्षामा राति अबेरसम्म सडकपेटीमै बित्थ्यो। जाडोका रातमा त्यहीँ सुतेर बिहान फेरि बिरुवा बेच्न बसेका दिन पनि छन् उनका सम्झनामा।

Marvel
Extreme Energy

यो विसं २०४५ सालतिरको कुरा हो। त्यतिबेला हरिशरणलाई सायद थाहा थिएन–सडकपेटीमा टोकरी राखेर सुरु गरेको त्यही कर्मले एक दिन उनको परिचय बनाउनेछ। तर, उनलाई बोटबिरुवासँग रमाउन मन पर्थ्यो। त्यही रुचिलाई उनले बिस्तारै पेसामा बदले।

आज उनै हरिशरण हेटौँडाका स्थापित नर्सरी व्यवसायी हुन्। हेटौँडा–१० मेनरोडस्थित ‘गौतम नर्सरी’ उनको ३७ वर्षको पसिना, धैर्य र अनुभवको परिणाम हो। कुनै समय सडकपेटीमा एक रुपैयाँका पाँचवटा तरकारीका बिरुवा बेच्ने उनको व्यवसाय अहिले वार्षिक १५ देखि २० लाख रुपैयाँको कारोबार गर्ने अवस्थामा पुगेको छ।

पाँच रुपैयाँका दुई कागतीबाट सुरु भएको विश्वास

हरिशरणको परिवारको सम्बन्ध माटोसँग पुरानै हो। मकवानपुरको हाडीखोलामा रहेको पुख्र्यौली परिवार कृषि कर्ममै निर्भर थियो। पछि परिवार हेटौँडा बजारतिर सर्‍यो। तर, खेतीपाती र बोटबिरुवासँगको सम्बन्ध टुटेन।

उनका बुबा तरकारी खेती र बिरुवा उत्पादनमा सक्रिय थिए। पाँच रुपैयाँमा दुईवटा कागतीका बिरुवा बेच्थे। हरिशरण भने पाँचवटा तरकारीका बिरुवा एक रुपैयाँमा बिक्री गर्थे। मूल्य सानो थियो, तर त्यसबाट सुरु भएको कर्मको अर्थ ठूलो थियो।

बुबाले बिरुवा सार्दा उनी पानी हाल्थे। बुबाले बिरुवा मिलाउँदा उनी टोकरीमा प्याक गर्थे। बुबा तरकारीका बिरुवामा रमाउँथे, उनी फूल र अन्य बिरुवामा चासो राख्थे। कामका लागि कसैले कसैलाई अह्राइरहनुपर्दैनथ्यो।

‘कसैले कसैलाई अह्राउनु पर्दैनथ्यो। आ–आफ्नो काम स्वतन्त्र भएर गर्थ्यौं,’ उनी ती दिन सम्झन्छन्।

बुबाले ग्राहकलाई ‘तीन वर्षपछि फल्छ’ भन्दै बेच्ने गरेका कागतीका बिरुवा अहिले ३०–३५ वर्ष पुराना भएका छन्। कुनै बोटमा ७०–८० किलोदेखि एक क्विन्टलसम्म कागती फल्ने गरेको उनी सुनाउँछन्।

उनलाई सबैभन्दा खुसी त्यतिबेला लाग्छ, जब दशकौँअघि बिरुवा किन्ने परिवारका छोराछोरी र नातिनातिना पनि बिरुवा लिन गौतम नर्सरी आइपुग्छन्। एउटा बिरुवासँग सुरु भएको विश्वास पुस्तौँसम्म कायम रहनु उनका लागि पैसाभन्दा ठूलो उपलब्धि हो।

विदेशको कमाइभन्दा आफ्नै माटो रोजे

घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडामा विसं २०५०/५१ तिर व्यवसाय दर्ता गराए। २०५२ सालमा स्थायी लेखा नम्बर लिएर नर्सरीलाई औपचारिक व्यावसायिक रूप दिए। तर, व्यवसाय दर्ता गर्नु र त्यसलाई टिकाएर अघि बढाउनु एउटै कुरा थिएन।

देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो। रोजगारीका अवसर सीमित थिए। युवाहरू विदेशिने क्रम बढ्दै थियो। उनलाई पनि विदेश जान धेरैले सुझाउँथे।

‘यहाँ बुबाले धानिहाल्नुहुन्छ। विदेश गए मासिक ५० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ,’ चिनजानका मानिसहरूले उनलाई भन्ने गर्थे।

तर, हरिशरणलाई विदेशको कमाइले मात्रै तान्न सकेन। वृद्ध बाबुआमा, दिदीबहिनी र आफ्ना मान्छेहरूबाट टाढा हुनुपर्ने कुराले उनलाई रोक्थ्यो। दसैँ, तिहार र तीजजस्ता चाडपर्व परिवारसँगै मनाउने अवसर गुमाउन चाहँदैनथे।

उनले विदेशको सम्भावित कमाइभन्दा आफ्नै माटोमा पसिना बगाउने बाटो रोजे। उनको विश्वास थियो–मेहनत गर्न सके आफ्नै ठाउँमा पनि राम्रो आम्दानी गर्न सकिन्छ।

त्यो निर्णय सजिलो थिएन। तर, समयसँगै त्यही निर्णय उनको व्यावसायिक पहिचानको आधार बन्यो। ३७ वर्षको यात्रामा उनले आम्दानीसँगै अनुभव, सम्बन्ध र ग्राहकको विश्वास पनि कमाए।

बिरुवा बेच्ने मात्र होइन, हुर्काउने सल्लाह पनि

आज गौतम नर्सरीमा दैनिक औसत ५० देखि ६० जना ग्राहक पुग्छन्। उनी बिरुवा बेचेर मात्रै बस्दैनन्। ग्राहकलाई बिरुवा रोप्ने, हुर्काउने र उत्पादन लिने तरिका सिकाउँछन्। किसान वा सेवाग्राहीलाई समस्या परे आवश्यक परामर्श दिन खेतबारीमै पुग्छन्।

कुन ठाउँको हावापानीमा कुन बिरुवा उपयुक्त हुन्छ, कसरी रोप्दा राम्रो हुन्छ र कसरी स्याहार गर्दा उत्पादन बढ्छ भन्ने विषयमा उनी आफ्नो अनुभव बाँड्छन्।

सुरुमा चार हजार रुपैयाँको लगानीबाट सुरु भएको व्यवसायमा अहिले १५ लाख रुपैयाँभन्दा बढी लगानी पुगेको छ। विगतमा भाडामा लिएको डेढ कठ्ठा जग्गा अहिले आफ्नै भएको छ। त्यहीँ उनले घर पनि बनाएका छन्। नर्सरीबाट वार्षिक करिब १५ देखि २० लाख रुपैयाँको कारोबार हुन्छ।

उनका लागि नर्सरी केवल आम्दानीको स्रोत होइन, बिहानदेखि बेलुकासम्म बिताउने संसार हो। फूल, फलफूल, जडीबुटी, तरकारी र सजावटका बिरुवाको स्याहार, गोडमेल, काँटछाँट र पानी हाल्नमै उनको अधिकांश समय बित्छ।

नर्सरीमा सयपत्री, गोदावरी, लाहुरे, पिटुनिया र सेतोचाँपजस्ता फूल छन्। फलफूलतर्फ सधैँ फल्ने आँप, काजु, जामुन, सपाट, लिची, मलेसियाबाट आउने रामबुतान, थाइल्यान्डबाट आउने क्यान्सर किलर, ब्ल्याकबेरी र कम चिसोमा पनि फल्ने स्याउका बिरुवा छन्।

रक्तचन्दन, ल्वाङ, जायफल, अश्वगन्धा, सर्पगन्धा र दालचिनीजस्ता जडीबुटीका बिरुवा पनि छन्। काउली, बन्दा, गोलभेँडा, भन्टा, लसुन, प्याज र आलुका बेर्ना पनि पाइन्छन्।

घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने एरिका पाम, चाइना पाम, चाइना डल, लक्ष्मी, बेम्बो, सेफलेरिया, सिमोनी, एग्लोनेमा, फिलोडेन्ड्रोन र क्रिसमस ट्रीजस्ता बिरुवालाई काठ तथा ढुङ्गाका सामग्रीमा सजाएर आकर्षक बनाइएको छ।

हरिशरणका अनुसार हेटौँडाका करिब १० वटा नर्सरीले समग्रमा वार्षिक तीनदेखि चार करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छन्। यसले नर्सरी व्यवसाय केवल सोख वा घरआँगन सजाउने माध्यम मात्र नभई आर्थिक गतिविधिको सम्भावनायुक्त क्षेत्र भएको देखाउँछ।

असफल भएका सपना, बाँकी रहेको हरियालीको मोह

व्यावसायिक जीवनमा हरिशरणले सफलता मात्रै भोगेका छैनन्। केही सपना अधुरा पनि रहे।

विसं २०६२/६३ देखि २०६५/६६ सम्म उनले हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल स्मृति पार्कको पोखरी व्यवस्थापनको जिम्मा लिएका थिए। पोखरीमा वर्षभरि पानी जमाउने, डुङ्गा चलाउने, माछापालन गर्ने र त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उनको योजना थियो।

त्यही योजनाअनुसार उनले पोखरीमा १७ हजार मागुर माछाका भुरा हाले। तर, बर्खामा पोखरी ओभरफ्लो भयो। सबै माछा बगेर गए। माछासँगै उनको लगानी र सपना पनि बग्यो।

त्यसपछि उनले अर्को महत्वाकाङ्क्षी योजना बनाए। पोखरी आसपासको क्षेत्रमा वर्णानुक्रमअनुसार ५२५ प्रजातिका दुर्लभ जडीबुटी रोपे। प्रत्येक बोटमा नेपाली, संस्कृत, अंग्रेजी र वैज्ञानिक नाम लेखिएका एल्युमिनियमका प्लेट राखे।

उनको कल्पना थियो–त्यो ठाउँ नयाँ पुस्ता, वन विज्ञान र कृषि अध्ययन गर्ने विद्यार्थीका लागि खुला हर्बेरियम म्युजियम बनोस्। विद्यार्थीले एउटै ठाउँमा विभिन्न प्रजातिका वनस्पति देख्न, चिन्न र तिनका विशेषता बुझ्न सकून्।

तर, उनले सोचेजस्तो संस्थागत सहयोग पाएनन्। सुरक्षाकर्मीको सरसफाइ अभियानका क्रममा कतिपय जडीबुटीका बिरुवा झाडी ठानेर काटिए। उनको वर्षौँको मेहनत र परिकल्पना अधुरै रह्यो।

त्यहाँ बाँचेको एउटा रक्तचन्दनको रूख भने उनलाई अझै आशा दिलाउँछ। काटिएर ठुटो बनेको त्यो बिरुवा फेरि पलाएर हुर्कियो। आज पनि त्यहाँ उभिएको रक्तचन्दनलाई देख्दा उनी खुसी हुन्छन्। तराई–मधेसको भूगोलमा पनि यस्तो वनस्पति हुर्काउन सकिन्छ भन्ने प्रमाणका रूपमा उनी त्यसलाई लिन्छन्।

अधुरा योजनाले उनलाई बोटबिरुवाबाट टाढा बनाएनन्। बरु सम्भावना खोज्ने उनको रुचि झन् बढ्दै गयो।

मकवानपुरका बाँझा जमिनमा सम्भावना खोज्दै

हरिशरणको सोच आफ्नै नर्सरीमा सीमित छैन। मकवानपुरका विकट गाउँमा रोजगारी र आम्दानीका विकल्प खोज्नुपर्ने उनको धारणा छ।

कैलाश, राक्सिराङ र मनहरीका केही क्षेत्रमा क्षणिक लाभका लागि गाँजा र अफिम खेतीमा मानिस लाग्ने गरेकोप्रति उनलाई चिन्ता छ। त्यस्ता ठाउँका जमिनमा दीर्घकालीन आम्दानी दिने फलफूल र बहुमूल्य वनस्पति लगाउन सके स्थानीयको जीवनस्तर सुधार्न सकिने उनको विश्वास छ।

कैलाशमा बुद्धचित्तको सम्भावना रहेको उनी बताउँछन्। एउटै बोटबाट ११ लाख रुपैयाँसम्मको उत्पादन भएको उदाहरण आफूले देखेको उनको भनाइ छ।

राक्सिराङ र मनहरीमा काजु खेतीको सम्भावना पनि उनी देख्छन्। चार–पाँच वर्षपछि एउटै काजुको बोटबाट करिब २० किलो उत्पादन लिएर वार्षिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको अनुमान छ। ती क्षेत्रमा रातो केराको खेती पनि उपयोगी हुन सक्ने उनी बताउँछन्। करिब १८ महिनामै उत्पादन लिन सकिने भएकाले किसानका लागि यो राम्रो विकल्प बन्न सक्ने उनको बुझाइ छ।

रक्तचन्दन र अगरउडजस्ता बहुमूल्य वनस्पतिलाई भने १५ देखि २० वर्षको दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनको सुझाव छ। सिमभञ्ज्याङ र चुनियाँजस्ता चिसा लेकाली क्षेत्रमा किवी तथा तल्लो भेगमा ड्रागन फ्रुटको व्यावसायिक सम्भावना रहेको उनी बताउँछन्।

‘यदि त्यही जमिनमा दीर्घकालीन आम्दानी दिने वनस्पति र फलफूल लगाउन सकिन्छ भने किन जोखिमपूर्ण बाटो रोज्ने ?’ उनी प्रश्न गर्छन्।

उनका अनुसार नर्सरी व्यवसाय कुनै एक मौसम वा केही महिनाको काम होइन। यो वर्षभरि चल्ने व्यवसाय हो। जन्मदेखि मृत्युसम्म, विवाहदेखि नयाँ घर निर्माणसम्म, उत्सवदेखि सरकारी कार्यालयको सजावटसम्म फूल र हरियालीको आवश्यकता पर्छ।

जिल्ला प्रशासन कार्यालय, मन्त्रालयलगायत विभिन्न सरकारी कार्यालयमा पनि गौतम नर्सरीबाट बिरुवा तथा बगैँचा व्यवस्थापनको काम हुँदै आएको उनी बताउँछन्।

अनुदानभन्दा उद्यम गर्ने वातावरण चाहन्छन्

हरिशरण सरकारको कृषि सहयोग गर्ने शैलीमा पनि परिवर्तन आवश्यक देख्छन्। किसानलाई परम्परागत ढङ्गले सिसौ, खयर वा दुई–चारवटा आँप र लिचीका बिरुवा बाँडेर मात्रै सरकारी जिम्मेवारी पूरा नहुने उनको धारणा छ।

कुन भूगोलमा कुन बाली उपयुक्त हुन्छ भन्ने अध्ययन गरेर किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्नुपर्ने उनी बताउँछन्। अनुदानसँगै निब्र्याजी ऋण, प्राविधिक तालिम र सुरुआती लगानीमा सहयोग गर्न सके गाउँमै उद्यम गर्ने वातावरण बन्ने उनको विश्वास छ।

उनको ३७ वर्षको यात्रा एउटा सामान्य बिरुवा बेच्ने किशोरबाट सुरु भएर नर्सरी व्यवसायीको पहिचानमा पुगेको कथा हो। यसबीच उनले पैसा कमाए, घर बनाए, जग्गा जोडे र ग्राहकको विश्वास जिते। तर, उनको सपना त्यतिमै रोकिएको छैन। उनी आफूले सिकेको अनुभव विकट गाउँका किसानसम्म पुर्‍याउन चाहन्छन्।

कहिल्यै राति अबेरसम्म सडकपेटीमा ग्राहक कुरेर बिताएका हरिशरण अहिले आफ्नै नर्सरीमा दिनभर बिरुवाको स्याहारमा व्यस्त हुन्छन्। उनका हातले हुर्काएका बिरुवा कसैको घरआँगनमा फूल्छन्, कसैको खेतबारीमा फल्छन् र कसैका लागि आम्दानीको आधार बन्छन्।

किशोरावस्थामा टोकरीमा बोकेर सडकपेटीमा बेच्न थालेका बिरुवाले आज उनको जीवनको पहिचान बनाएका छन्। हरिशरणका लागि यो केवल व्यवसायको विस्तार होइन, माटोसँग जोडिएर बाँचेको ३७ वर्षको जीवनयात्रा हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

मकवानपुरको भीमफेदीमा भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएको घटनाप्रति जनमत पार्टीले दुःख व्यक्त गरेको छ।
भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई  राहत दिन गरे माग

भीमफेदी दुर्घटनाप्रति रवि लामिछाने स्तब्ध, घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन गरे माग

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकको मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनामा ज्यान गएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गहिरो दुःख व्यक्त गरेका छन्।
गाउँ रित्तिँदै छ, मातृका भने विदेशबाट फर्केर बाँझो जमिनमा किवी फलाउँदै

गाउँ रित्तिँदै छ, मातृका भने विदेशबाट फर्केर बाँझो जमिनमा किवी फलाउँदै

गाउँका घरहरूमा बिस्तारै ताल्चा लाग्दै छन्। खेतबारी बाँझिँदै छन्। हिजोसम्म भरिभराउ हुने आँगनमा सेतै केश फुलेका वयोवृद्ध मात्रै भेटिन्छन्।
ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

ट्रम्प–सी–पुटिनबीच सम्भावित त्रिपक्षीय भेटबारे यस्तो छलफल

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन सक्ने सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल...