के तपाईंलाई पहिलेभन्दा बढी झर्को लाग्न थालेको छ? के तपाईंको आमालाई परिवारका लागि जीवनभर मेहनत गर्दै सहजै उक्लिने गरेका सिँढीहरू चढ्न अहिले कठिन भइरहेको छ? के तपाईंकी श्रीमतीलाई अचानक शरीर तात्ने, अनुहार पोल्ने र राति राम्ररी निदाउन नसक्ने समस्या भइरहेको छ? यी समस्याहरूका पछाडि विभिन्न कारण हुन सक्छन्, तर तीमध्ये एउटा सम्भावित कारण रजोनिवृत्ति (मेनोपज) पनि हुन सक्छ।
रजोनिवृत्ति महिलाको जीवनमा आउने एक प्राकृतिक अवस्था हो। तर विडम्बना, यसबारे जति खुलेर छलफल हुनुपर्ने हो, त्यति भएको पाइँदैन। महिनावारी, गर्भावस्था र सुत्केरी अवस्थाका विषयमा तुलनात्मक रूपमा बढी चर्चा हुने गरे पनि महिलाले रजोनिवृत्तिको समयमा अनुभव गर्ने शारीरिक तथा मानसिक परिवर्तनबारे पर्याप्त ध्यान दिइएको देखिँदैन। धेरै महिलाका लागि निद्रामा गडबडी, मनस्थितिमा परिवर्तन, शारीरिक शक्तिमा कमी तथा समग्र स्वास्थ्यमा आउने परिवर्तन दैनिक जीवनकै हिस्सा बन्न पुग्छन्। दुःखको कुरा, यस्ता समस्याका बारेमा पर्याप्त जानकारी र सहयोग नपाउने महिलाहरू पनि धेरै छन्।
नेपालजस्तो देशमा, जहाँ कतिपय परिवार र समुदायमा महिलाको प्रजनन स्वास्थ्यबारे सामान्य कुराकानी गर्नसमेत संकोच मानिन्छ, रजोनिवृत्तिका विषयमा जनचेतना बढाउनु अत्यन्त आवश्यक छ। महिलाहरूले निरन्तर अनुभव गरिरहेका शारीरिक असहजतालाई सामान्य ठानेर सहनुपर्ने बाध्यता हुनु हुँदैन। उनीहरूका समस्यालाई केवल मानसिक वा व्यवहारगत समस्या भनेर बेवास्ता गर्नु पनि उचित होइन।
मैले आफ्नै परिवार र छरछिमेकका महिलाहरूसँग कुराकानी गर्दा कतिपय महिलालाई रजोनिवृत्ति के हो र यसले उनीहरूको स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे पर्याप्त जानकारी नभएको महसुस गरेँ। उनीहरूले अनुभव गरिरहेका केही समस्याहरू रजोनिवृत्तिसँग सम्बन्धित हुन सक्छन् भन्ने कुरा स्वयं उनीहरूलाई थाहा नहुन सक्छ। यसले हाम्रो समाजमा रजोनिवृत्तिसम्बन्धी जनचेतना र ज्ञानको आवश्यकता अझै रहेको देखाउँछ।
यस्तो अवस्थामा महिलाको स्वास्थ्यलाई सहयोग पुर्याउने सरल र प्रभावकारी उपायहरूमध्ये शारीरिक सक्रियता पनि एक हो। तर शारीरिक सक्रियता भन्नासाथ कपडा धुने, भाँडा माझ्ने वा घर सफा गर्नेजस्ता दैनिक घरायसी कामलाई मात्र बुझ्ने प्रवृत्ति छ। यस्ता कामले पनि शारीरिक सक्रियतामा योगदान पुर्याउन सक्छन्। तथापि, मांसपेशीको शक्ति, सहनशीलता, सन्तुलन र समग्र स्वास्थ्य सुधार गर्न लक्षित व्यायामको पनि उत्तिकै महत्त्व हुन्छ।
रजोनिवृत्ति के हो र यसले महिलाको स्वास्थ्यमा कस्तो असर पार्छ?
रजोनिवृत्ति महिलाको प्रजनन जीवनको अन्त्यतर्फ हुने प्राकृतिक जैविक प्रक्रिया हो। अन्य कुनै स्वास्थ्यसम्बन्धी वा शारीरिक कारणबिना लगातार १२ महिनासम्म महिनावारी नभएको अवस्थालाई रजोनिवृत्ति भनिन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार प्राकृतिक रजोनिवृत्ति सामान्यतया ४५ देखि ५५ वर्षको उमेरमा हुन्छ।
तर रजोनिवृत्ति भनेको महिनावारी बन्द हुनु मात्र होइन। यस समयमा शरीरमा हुने हर्मोनसम्बन्धी परिवर्तनले महिलाको स्वास्थ्यका विभिन्न पक्षमा प्रभाव पार्न सक्छ। केही महिलालाई अचानक शरीर तात्ने वा गर्मी महसुस हुने, राति अत्यधिक पसिना आउने, निद्रामा समस्या हुने, भोकमा परिवर्तन आउने, मनस्थिति बदलिने, जोर्नी दुख्ने तथा असामान्य थकान महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्।
विशेषगरी एस्ट्रोजेन नामक हर्मोनको मात्रा घट्दै जाँदा हड्डीको स्वास्थ्य तथा शरीरमा बोसो र मांसपेशीको अनुपातमा समेत परिवर्तन आउन सक्छ।
यस्ता लक्षणहरू महिनावारी पूर्ण रूपमा बन्द भएपछि मात्र देखिने होइनन्। रजोनिवृत्ति हुनुभन्दा केही वर्षअघिदेखि नै यस्ता परिवर्तनहरू सुरु हुन सक्छन्। यस संक्रमणकाललाई पेरिमेनोपज भनिन्छ। यद्यपि, सबै महिलाको अनुभव एउटै हुँदैन। कसैलाई सामान्य लक्षण मात्र देखिन्छन् भने कसैको दैनिक जीवन, काम गर्ने क्षमता र समग्र स्वास्थ्यमा उल्लेखनीय असर पर्न सक्छ। रजोनिवृत्ति आफैँमा कुनै रोग होइन। तर यससँग सम्बन्धित स्वास्थ्य समस्याहरूलाई महिलाले चुपचाप सहनुपर्ने सामान्य अवस्था ठानेर बेवास्ता गर्नु हुँदैन।
स्वस्थ वृद्धावस्थाको आधार: नियमित शारीरिक सक्रियता
रजोनिवृत्तिअघि, रजोनिवृत्तिको समयमा र त्यसपछिका वर्षहरूमा महिलाको स्वास्थ्यलाई सुदृढ बनाउन नियमित शारीरिक सक्रियता एक व्यावहारिक र पहुँचयोग्य उपाय हो। सामान्यतया व्यायामलाई तौल घटाउने वा शारीरिक बनावट आकर्षक बनाउने माध्यमका रूपमा मात्र बुझ्ने गरिन्छ। तर यसको महत्त्व त्यतिमै सीमित छैन। उमेर बढ्दै जाँदा शरीरको मांसपेशीको मात्रा र शक्ति क्रमशः घट्न सक्छ। यसले गर्दा सिँढी चढ्ने, भारी सामान उठाउने, हिँडडुल गर्ने तथा अन्य दैनिक कामहरू गर्न कठिनाइ हुन सक्छ। यस्तो अवस्थामा उठबस गर्ने व्यायाम (स्क्वाट), रेजिस्टेन्स ब्यान्ड तथा उपयुक्त तौलको प्रयोग गरी गरिने मांसपेशी बलियो बनाउने व्यायाम उपयोगी हुन सक्छन्। मांसपेशीको स्वास्थ्यजत्तिकै हड्डीको स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक छ। रजोनिवृत्तिको समयमा एस्ट्रोजेन हर्मोनको मात्रा घट्दा हड्डीको घनत्व कम हुने प्रक्रिया तीव्र हुन सक्छ। यसले हड्डी कमजोर हुने रोग अर्थात् अस्टियोपोरोसिसको जोखिम बढाउन सक्छ। शरीरको तौलको भार पर्ने खालका व्यायाम तथा मांसपेशी बलियो बनाउने अभ्यासले हड्डीको स्वास्थ्य कायम राख्न सहयोग पुर्याउन सक्छन्। यद्यपि, व्यायामले मात्र हड्डीसम्बन्धी सबै रोगको जोखिम हटाउन सक्दैन र आवश्यक चिकित्सकीय उपचारको विकल्प पनि होइन ।
ढाड तथा घाँटी दुख्ने, जोर्नीसम्बन्धी समस्या हुने वा शरीर चलाउन कठिनाइ हुने अवस्थामा फिजियोथेरापिस्टसँग परामर्श लिनु लाभदायक हुन सक्छ। व्यक्तिको स्वास्थ्य अवस्था र शारीरिक क्षमताअनुसार उपयुक्त व्यायाम छनोट गर्न फिजियोथेरापीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
त्यसैगरी, छिटोछिटो हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने तथा नृत्य गर्नेजस्ता एरोबिक गतिविधिले मुटु तथा रक्तसञ्चार प्रणालीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन्। यस्ता गतिविधिले शरीरको ऊर्जा उपयोग गर्ने क्षमता सुधार गर्नुका साथै निद्रा, मनस्थिति र समग्र स्वास्थ्यमा समेत सहयोग पुर्याउन सक्छन्। तर अचानक शरीर तात्ने जस्ता रजोनिवृत्तिका विशेष लक्षणमा व्यायामको प्रभाव सबै महिलामा समान नहुन सक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार वयस्क व्यक्तिले हप्तामा कम्तीमा १५० देखि ३०० मिनेट मध्यम तीव्रताको एरोबिक शारीरिक गतिविधि गर्नु उपयुक्त हुन्छ। साथै, हप्तामा कम्तीमा दुई दिन मांसपेशी बलियो बनाउने व्यायाम गर्न सिफारिस गरिएको छ। यसका लागि अनिवार्य रूपमा जिम जानुपर्ने वा महँगा उपकरण खरिद गर्नुपर्ने आवश्यकता छैन। घरवरिपरि केही समय हिँड्ने, घरमै सामान्य व्यायाम गर्ने वा समुदायमा सञ्चालन हुने सामूहिक व्यायाम तथा योग कार्यक्रममा सहभागी हुनेजस्ता साना प्रयासबाट पनि सुरुवात गर्न सकिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो स्वास्थ्य अवस्था र क्षमताअनुसार सुरक्षित, व्यावहारिक तथा निरन्तरता दिन सकिने शारीरिक गतिविधिलाई दैनिक जीवनको हिस्सा बनाउनु हो।
जानकारी मात्र होइन, व्यवहारमा परिवर्तन पनि आवश्यक
अब शारीरिक सक्रियता किन आवश्यक छ र के गर्न सकिन्छ भन्ने कुरा त बुझियो। तर वास्तविक चुनौती भनेको यो ज्ञानलाई दैनिक जीवनमा उतार्नु हो। घरायसी जिम्मेवारी, व्यक्तिगत समयको अभाव, आर्थिक कठिनाइ, व्यायाम गर्ने उपयुक्त स्थानको कमी तथा पर्याप्त स्वास्थ्य जानकारीको अभावले महिलालाई नियमित रूपमा शारीरिक गतिविधिमा सहभागी हुनबाट रोक्न सक्छन्। यसमा सामाजिक अपेक्षा र पारिवारिक जिम्मेवारीले थप चुनौती सिर्जना गर्न सक्छन्। हाम्रो समाजमा महिलाले प्रायः आफ्नो स्वास्थ्य र व्यक्तिगत आवश्यकताभन्दा परिवारको जिम्मेवारीलाई प्राथमिकता दिने गरेका हुन्छन्। यस्तो अवस्थामा परिवारका सदस्य तथा समाजका जिम्मेवार नागरिकका रूपमा हामीले महिलालाई आफ्नो स्वास्थ्यका लागि समय छुट्याउन प्रोत्साहन गर्नुपर्छ।
समुदायमा उपलब्ध सार्वजनिक भवन, सामुदायिक हल तथा खुला स्थानहरूको उपयोग गरी सामूहिक व्यायाम वा योग कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यस्ता कार्यक्रमले महिलालाई शारीरिक रूपमा सक्रिय रहन मात्र नभई एकअर्कासँग अनुभव साटासाट गर्न र सामाजिक रूपमा जोडिन पनि सहयोग पुर्याउन सक्छन्। त्यसैगरी, स्वास्थ्यकर्मीहरूले महिलाहरू स्वयं समस्या लिएर आउँछन् भनेर पर्खनुभन्दा नियमित स्वास्थ्य परीक्षण तथा परामर्शका क्रममा रजोनिवृत्तिबारे पनि कुराकानी सुरु गर्न सक्छन्। नेपालमा सामुदायिक स्वास्थ्य कार्यक्रम, स्थानीय महिला समूह, स्वास्थ्य संस्था तथा जनचेतनामूलक अभियानमार्फत रजोनिवृत्तिसम्बन्धी सही जानकारी प्रदान गर्न सकिन्छ। यस्ता कार्यक्रमहरूमा सामान्य शारीरिक अभ्यासको प्रदर्शन र व्यायामसम्बन्धी परामर्शलाई पनि समावेश गर्न सकिन्छ। तर जनचेतना बढाउनुको अर्थ महिलालाई व्यायाम गर्नुपर्छ भनेर सुझाव दिनु मात्र होइन। उनीहरूका समस्या सुन्नु, अनुभवलाई सम्मान गर्नु र आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
रजोनिवृत्ति जीवनको परिवर्तन हो, सीमा होइन
रजोनिवृत्ति महिलाको जीवनमा आउने परिवर्तन हो, उनीहरूको क्षमताको अन्त्य होइन। यससँग सम्बन्धित शारीरिक तथा मानसिक परिवर्तनहरू चुनौतीपूर्ण हुन सक्छन्, तर उचित जानकारी, सहयोग र स्वास्थ्य सेवाको पहुँच भएमा महिलाले सक्रिय, आत्मनिर्भर तथा स्वस्थ जीवन बिताउन सक्छन्।
रजोनिवृत्तिको समयमा शारीरिक सक्रियतालाई प्रोत्साहन गर्नुको उद्देश्य प्रत्येक महिलालाई उत्कृष्ट खेलाडी बनाउनु होइन। यसको वास्तविक उद्देश्य उनीहरूको शारीरिक शक्ति जोगाउनु, दैनिक कामहरू सहज रूपमा गर्न सक्ने क्षमता कायम राख्नु र आत्मविश्वासका साथ जीवन बिताउन सहयोग पुर्याउनु हो।
महिलाको स्वास्थ्यसम्बन्धी छलफललाई व्यापक बनाउँदै लैजाँदा रजोनिवृत्तिलाई पनि त्यसको महत्त्वपूर्ण हिस्साका रूपमा समेट्न आवश्यक छ। पर्याप्त जनचेतना, सहज स्वास्थ्य सेवा, परिवारको साथ र नियमित शारीरिक गतिविधिका अवसरले स्वस्थ वृद्धावस्थालाई बेवास्ता गरिएको विषय होइन, व्यवहारमा उतार्न सकिने लक्ष्य बनाउन सक्छन्।
रजोनिवृत्तिबारे मौनता तोड्ने सुरुवात महिलाको स्वास्थ्य जीवनका हरेक चरणमा उत्तिकै महत्त्वपूर्ण छ भन्ने स्वीकारोक्तिबाट हुन्छ। उमेर बढ्नु स्वाभाविक हो, तर उमेरसँगै शारीरिक शक्ति, आत्मनिर्भरता र आत्मसम्मान गुमाउनुलाई रोकथाम र सहयोगको प्रयासबिना सामान्य नियति मान्नु हुँदैन।