नेभिगेशन
समाज

जीवाश्म इन्धनको विवादले कोप–३१ मा साझा निर्णय हुन सकेन

करिब १३० देशले जीवाश्म इन्धनबाट संक्रमणको प्रतिबद्धता मागे; इयू, बेलायत र प्रशान्त टापु राष्ट्रको विरोध, अन्य केही कार्ययोजना भने स्वीकृत

अन्ताल्या (टर्की) । कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनबाट संक्रमण गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा साझा राजनीतिक निर्णय पारित हुन सकेन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नोभेम्बर ९ देखि २० सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको सम्मेलनमा वार्ता लम्बिएपछि नोभेम्बर २२ सम्म छलफल भएको थियो। अन्तिम दस्तावेजमा जीवाश्म इन्धनको उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति नजुटेपछि सम्मेलन साझा ‘कभर डिसिजन’ जारी नगरी टुङ्गिएको हो।

Marvel
Extreme Energy

जलवायु परिवर्तनविरुद्ध विश्वका मुलुकले चाल्नुपर्ने सामूहिक कदम समेटिने उक्त दस्तावेजको मस्यौदामा जीवाश्म इन्धनबाट संक्रमण गर्ने विषय स्पष्ट रूपमा समेटिएको थिएन। त्यसप्रति युरोपेली सङ्घ (इयू), बेलायत, प्रशान्त क्षेत्रका टापु राष्ट्र र अन्य विकासशील देशले असन्तुष्टि जनाएका थिए।

द गार्जियनका अनुसार इयू, बेलायत, केही धनी राष्ट्र तथा विकासशील देशसहित करिब १३० पक्षले अन्तिम दस्तावेजमा जीवाश्म इन्धनबाट संक्रमणको प्रतिबद्धता समेट्न माग गरेका थिए। तर, केही देशले त्यसलाई अस्वीकार गरेपछि वार्ता सहमतिमा पुग्न सकेन।

आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ब्रायनले इयूका २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तन सामना गर्न आवश्यक कार्य र महत्वाकाङ्क्षा समेट्न नसकेको बताए। जीवाश्म इन्धनको उल्लेख नै नभएको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उनको भनाइ थियो।

पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहोर्‍याउने काम भएको टिप्पणी गरिन्। कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भरता बढाइएको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको उनको भनाइ थियो। उनले यसलाई जलवायु न्यायको विषय बताइन्।

मार्सल टापुकी जलवायु दूत तथा प्रमुख वार्ताकार क्याथी जेतनिल–किजिनरले विश्वले उत्सर्जन घटाउन, जनताको सुरक्षा गर्न र जलवायु वित्त उपलब्ध गराउन तत्काल कदम चाल्ने अपेक्षा गरेको बताइन्। जीवाश्म इन्धनको विस्तारलाई प्रोत्साहन गर्ने र गलत समाधान प्रस्तुत गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने उनको भनाइ थियो।

बेलायतकी प्रमुख जलवायु वार्ताकार केट ह्युजेसले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र कार्यान्वयनको गतिलाई पछाडि धकेल्ने बताइन्। जलवायु कार्यमा सामूहिक महत्वाकाङ्क्षा बढाउनुपर्ने बेला प्रस्तावले त्यसलाई कमजोर बनाएको उनको टिप्पणी थियो।

तर, पलाउका वातावरणमन्त्री स्टिभन भिक्टरले प्रस्तावित दस्तावेजमा केही कमजोरी भए पनि स्वच्छ विद्युतीकरण, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएकाले त्यसलाई समर्थन गरेको बताए। कार्बन कब्जासम्बन्धी प्रावधानमा असहमति भए पनि अन्य विषयलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।

साझा कभर डिसिजन पारित नभए पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने उनले बताए।

कोप–३१ का वार्ता अध्यक्ष तथा अस्ट्रेलियाका जलवायु तथा ऊर्जा मन्त्री क्रिस बोवेनले साझा दस्तावेजमा सहमति हुन नसकेकोप्रति निराशा व्यक्त गरे। केही मुलुकका जीवाश्म इन्धनसम्बन्धी अडान निकै कडा रहेकाले सहमति जुटाउन कठिन भएको उनले बताए।

यद्यपि, वास्तविक विश्वमा जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको परिवर्तन अपरिहार्य रहेको र त्यो प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ थियो।

सम्मेलनका अध्यक्ष तथा टर्कीका वातावरणमन्त्री मुरात कुरुमले सहमति जुटाउन अन्तिम समयसम्म प्रयास गरिएको भए पनि सबै पक्षलाई स्वीकार्य हुने दस्तावेज तयार गर्न नसकिएको बताएका थिए।

जीवाश्म इन्धनको प्रयोग नै जलवायु परिवर्तन गराउने हरितगृह ग्यास उत्सर्जनको प्रमुख स्रोत हो। सन् २०२३ मा सम्पन्न कोप–२८ ले ऊर्जा प्रणालीमा जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा संक्रमण गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्र र समयसीमा तय गर्ने अपेक्षा यसपटकको सम्मेलनमा गरिएको थियो।

तर, जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा विकसित र विकासशील राष्ट्रबीच देखिएको मतभेदले जलवायु न्याय, ऐतिहासिक उत्सर्जनको जिम्मेवारी र जलवायु वित्तको बहसलाई थप पेचिलो बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
बालेनले मोदीलाई के उपहार दिए ?

बालेनले मोदीलाई के उपहार दिए ?

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्ताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच उपहार आदानप्रदान भएको छ।
हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भइरहेको छ।
बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अहिले हैदराबाद हाउसमा अहिले भेटवार्ता भइरहेको छ। दुई पक्षीय छलफलमा हवाई रूटका विषयमा ब्रेक थ्रु हुने नेपाली...