नेभिगेशन
सबै कुरा
समाचार टिप्पणी :

ऐतिहासिक अवसर गुमाएर कलंकको टिको लगाएकी किरण !

काठमाडौँ । २०७९ चैत १० गते तत्कालिन प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अवकाश पाउँदै थिए । सो समयको बहस देशले नयाँ प्रहरी महानिरिक्षक को पाउँछ भन्नेमा भन्दा पनि पहिलो पटक महिला प्रहरी प्रमुख बन्ने संभावनामा केन्द्रित थियो । देशमा पहिलो पटक महिला प्रहरी महानिरिक्षकको दावेदारीमा थिइन् किरण बज्राचार्य । 

सिंहले अवकास पाउने २ दिनअघि अर्थात चैत ८ गते वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई सरकारले डिआईजीबाट एआईजीमा बढुवा गरेको थियो । बज्राचार्य एआईजी बढुवाको पाँचौ नम्बरमा थिइन् । तर प्रहरी नियमावली, २०७१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व वहन गर्ने क्षमता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उपयुक्त ठानेको जोसुकै एआईजीबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था रहेकाले बज्राचार्य पनि आइजिपीको दावेदार थिइन् । तर, बज्राचार्य प्रहरी प्रमुख बनिनन् । बसन्त बहादुर कुँवर प्रहरी महानिरिक्षक बने । 

Global Ime Bank

त्यसपछि सरकारले एआईजी बज्राचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गर्न पठायो । देशभर हुने ठूला तथा जघन्य अपराध, संगठित अपराधको अनुसन्धान सीआईबीले गर्ने गरेको छ । अपराध अनुसन्धानको सर्वोच्च  निकाय मानिने सीआईबीले पहिलो पटक महिला नेतृत्व पायो । अपराध अनुसन्धानमा आफूलाई धेरै पटक प्रमाणित गरिसकेकी बज्राचार्यको नेतृत्वमा सीआईबीको उचाई थप बढ्ने आँकलन गरिएको थियो । 

सीआईबीको नेतृत्व सम्हालेको चौथो महिनामै उनलाई सम्भवत नेपालको यो दशककै सबैभन्दा ठूलो आर्थिक अपराधको रुपमा रहेको विमानस्थल भन्सार भएर हुने सुन तस्करी अपराध नियन्त्रणको जिम्मेवारी स प्रमाण प्राप्त भयो । बि.स. २०८० साउन २१ गते प्राप्त अनुसन्धान फाइल निश्पक्ष रुपमा केलाएको भए किरण बज्राचार्य नाम मात्रै होइन आम जनता, प्रहरी संगठन र स्वयम् उनकै प्रतिष्ठा र गौरवसँग गाँसिने थियो । किनकी सुन अनुसन्धानका जानकारहरु भन्छन् ‘सुन तस्कारीको अभियोगमा पूर्वसभामुख, पूर्व प्रहरी उच्च अधिकारी, सरकारी निजामतिका प्रथम श्रेणी अधिकृतदेखि परिआए बहालवाला मन्त्री र त्यो भन्दा माथिका सयौं मान्छेलाई एआइजी किरणले हत्ककडी लगाउन सक्ने थिइन् । तर, उनी कुन दबाब र प्रभावमा परिन् आफ्नो अनुसन्धान कलामा त गलिन् नै, प्रहरीको बर्दीमै सुन तस्कर जोगाएको दाग लाग्यो । 

पाल्पाकी बज्राचार्यले २०५२ सालबाट प्रहरी निरिक्षक पदबाट सेवा सुुरु गरेकी थिइन् । उनले एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस्तै डिआईजी हुँदा उनी बागमति प्रदेश प्रमुख तथा प्रबन्ध महाशाखाको जिम्मेवारीमा थिइन् । उनले त्यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी परिसर भक्तपुर लगायत ठाउँमा बसेर काम गरेकी थिइन् । 

२०७५ सालमा अमेरिकी विदेश मन्त्रालयले बज्राचार्यलाई मानव बेचबिखन विरुद्धको वर्ष हिरो घोषणा गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध चलाएको जनचेतनामूलक अभियानको प्रशंसा गर्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले वर्ष हिरो घोषणा गरेको थियो । 

तर, बज्राचार्य सीआईबीमा आफ्नो उपस्थिती प्रमाणित गर्न नराम्रोसँग चुकिन् । ६१ किलो सुन प्रकरणमा उनको भूमिकाका कारण सीआईबीकै छबिमा समेत दाग लागेको छ । ठूला र संगठित अपराधमा सीआईबी पस्नेबित्तिकै कोही अपराधीले सजाय पाउनेमा आम नागरिक निर्धक्क हुन्छन् । त्यसकारण नागरिकहरुले आपराधिक घटनामा सीआईबीले अनुसन्धान गर्नुपर्ने माग राख्ने गर्छन् । तर, सुन प्रकरणमा सीआईबीमा रहेर बज्राचार्यको टीमले गरेको अनुसन्धान इतिहासकै खल्लो भएको छ । 

६१ किलो सुन तस्करी प्रकरणलाई पनि राजश्व अनुुसन्धान विभागबाट गैरकानुनी तरिकाले प्रहरीलाई बुुझाउँदा नागरिकस्तरबाट बिरोध नहुनुको कारण थियो सीआईबी र सीआईबी नेतृत्वप्रतिको विश्वास । तर सीआईबी र सीआईबी नेतृत्वबाट  सो भावना अनुरुप काम भएन । उक्त सुन प्रकरणमा सीआईबीले आधा अधुरो प्रतिवेदन त बुझायो तर राजश्व अनुसन्धान विभागले पक्राउ गर्न सुझाएका व्यक्तिहरुलाई उल्टो जोगाउने काम भयो । पूर्व न्यायाधिश डिल्लीराम आचार्यको नेतृत्वमा सरकारले गठन गरेको सुन तस्करी सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले संदिग्धहरुलाई जोगाउन सीआईबी नेतृत्वकै हात रहेको उल्लेख गरेको छ । सोही कारण उनलाई सीआईबी नेतृत्वबाट हटाइएको छ ।

उनले प्रमाण नष्ट गरेको, आरोपीहरु भगाएको देखिएकोले विभागीय कारबाहीको लागि आयोगले सिफारिस गरेको थियो । सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्वप्रहरी प्रमुखहरुलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

राजश्व अनुसन्धान विभागले नेपाल प्रहरी मूख्यालयमा २३ साउनमा बुझाएको सुन अनुसन्धानको फाइलमा एउटा जिपिएस लोकेसन प्रणालीको लग इन यूजर र पासवर्ड पनि थियो । सुन तस्कर समूहले टोखाको फ्याक्ट्रीमा गालेको सुनको डेलिभरीदेखि कच्चा सुन ओसार पसार गर्ने र त्यसको सबै रकम आदान प्रदान गर्नेहरुँंग भेट गर्ने निश्चित भाडाका कारहरु थिए । ति कार काठमाडौँको एक कार रेन्टलबाट चिनियाँले भाडामा लिएका थिए । चिनियाँहरु विश्वसनीय नहुने भन्दै कार भाडामा लगाउने कम्पनीले जिपिएस ट्र्याकिङ प्रणाली कारमा जडान गरेका थिए । 

राजश्वले बरामद गरेको सो प्रणाली सुन तस्करी अनुसन्धानका लागि यस्तो सेतु थियो कि सुन तस्करीमा संलग्न कोही पनि अनुसन्धानबाट बञ्चित नहुने अवस्था थियो । तर,यही प्रमाणलाई लुकाएर नेपाल प्रहरीको सबै भन्दा ठूलो अनुसन्धानकारी विभागले आम जनतामा भ्रमपूर्ण अनुसन्धान गरेर मुद्दा अभियोजन ग¥यो । सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगका अनुसार ११ सय वटा यस्ता जीपीएस लोकेसन र व्यक्ति ट्रयाक भएका लाईभ विवरण सीआईबीले प्रमाणको रुपमा पाएको थियो । 

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेका अनुसार राज्यका जिम्मेवार भूमिकामा बसेका व्यक्तिले तस्करीलाई संरक्षण गर्न खोजेको समेत भेटिएको छ । 

सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक व्यक्तिहरुसँग सेटिङ मिलाएका देखिएको चलाउनेलाई अनुसन्धान अधिकारीहरुले नै भगाएको प्रमाण प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा सीआईबीका अन्य केही अधिकारीहरुको समेत तस्करहरुसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ  ।

गत साउन २ गते त्रिभुुवन विमास्थल भन्सारबाट पास भईसकेपछि राजश्व अनुसन्धान विभागको टोलीले ब्रेक शू सहितको सुन बरामद गरेका थिए । पछि पगाल्दा ब्रे शूमा ६१ किलो सुन भएको पुष्टि भएको थियो । विभागले १७ दिन अनुसन्धान गरिसकेको विषय तत्कालिन गृहमन्त्री नारायाणकाजी श्रेष्ठले विभागबाट खोसेर गैरकानुनी रुपमा सीआईबीलाई दिएका थिए । 

तत्कालिन गृहमन्त्री श्रेष्ठले अनुसन्धान प्रहरीलाई दिनुको उद्देश्य थियो आफ्नालाई जोगाउने । सुन तस्करी माओवादी नेता र उनीहरुकै आसपासमा चलेको पछिल्ला प्रमाणहरुले पुष्टि गरिसकेका छन् । 

तर, सीआईबी प्रमुखसँग सीआईबीको साख जोगाउने ठूलो अवसर थियो । तर उनले त्यसो गरिनन् वा गर्न सकिनन् । किरण वज्राचार्यले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजनीति र आसेपासे जोगाउन गरेको गैरव्यवसयिक क्रियाकलापले सीआईबीको छबी बिग्रियो । 

भलै यि सबै आरोप पखाल्न सक्ने ठाउँमा एआईजी किरण अझै छिन् । आफैँ कुनै प्रभाव र दबाबमा परिन् वा उनलाई कसैले यो सबै गर्न बाध्य बनायो उनले ढिलो चाँडो मुख खोल्नेछिन् भन्नेमा जनताले अन्तिम अपेक्षा राखेका छन् । आफ्नो बेदाग छबि मेट्न, जनताले प्रहरीको क्षमतामाथि गरेको प्रश्नको जवाफ दिन र उनकै संगठनका भावि पुस्ताको मनोबल उकास्न पनि किरणले नयाँ र बोल्ड गृमहन्त्री भएको बेला मुख खोल्नेछिन् भन्ने अनुमान गर्न अझै ढिलाई भएको छैन ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...